भागरथी भट्ट हत्या प्रकरण : मोबाइल भेटिएपछि प्राविधिक विश्लेषणमा प्रहरी

२५ माघ, बैतडी । भागरथी भट्टको हत्या परिचित व्यक्तिबाटै भएको आशंका अनुसन्धानमा संलग्न अधिकारीहरुले गरेका छन् । घटनास्थलबाट मोबाइलसहित अनुसन्धानका थुप्रै ‘क्लु’ फेला परेकाले भट्टको हत्या भएको विषयमा प्रहरी अनुसन्धान मोबाइलमा केन्द्रित भएको हाे ।

शव भेटिएको स्थानबाट २० मिटर अगाडि मोबाइल भेटिएसँगै त्यसको प्राविधिक विश्लेषणमा प्रहरी जुटेको छ । र, मोबाइलबाट महत्वपूर्ण सुराक हात पर्ने प्रहरीले अपेक्षा गरेको छ ।

बैतडीको दोगडाकेदार–७ मा १७ वर्षीया भट्टकाे हत्या  बुधबार अपरान्ह ३ बजेतिर भएको प्रहरीको अनुमान छ ।  भागरथीको शवसँगै भेटिएको मोबाइल र त्यसको कल डिटेलबारे अनुसन्धान गर्न टोली खटिएको छ । प्रहरीले केही युवामाथि शंका गरेको छ ।

प्रहरीले भागरथी अध्ययनरत विद्यालयका शिक्षक, नजिकका साथी, गाउँका मानिससँग उनको आनीबानीबारे सोधपुछ गरिरहेको छ । खोधपुछको दायरामा नआएका तर शंकामा परेकामािथ सूक्ष्म निगरानी गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार बुधबार भागरथीलाई केही कल आएको थियो तर उनले रिसिभ वा कलब्याक गरेकी थिइनन् । विद्यालयबाट निस्कँदा चार जना सँगै थिए तर घरमा आमा एक्लै रहेको भन्दै भागरथी छिट्टै घर पुग्ने गरी साथीहरुबाट छुटेर हिँडेकी थिइन् ।

भट्टकाे शव रगताम्ये यौनांग र शरीरको विभिन्न ठाउँमा चोटपटक भएको अवस्थामा बिहीबार भट्टको सडक नजिकैको जंगलमा भेटिएको थियो । लगत्तै प्रहरी प्रधान कार्यालय, नक्सालले सीआईबीलाई टोली खटाउन निर्देशन दिएको थियो ।

अनुसन्धानमा खटिएका अधिकृतहरुका अनुसार मोबाइलबाट केही विषयहरु डिलिट भएको हुनसक्ने भएकाले प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक ल्याबमा पठाउने तयारी गरिएको छ । यो घटनालाई प्रहरीले एकदमै प्राथमिकता दिएको छ, प्रदेश प्रहरी प्रमुख आफैं पनि घटनास्थलमा पुगेका छन् ।

यता शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिए पनि जिल्ला अस्पताल, बैतडीले पोष्टमार्टम रिपोर्ट दिइनसकेकाले यकिन भइसकेको छैन । भागरथी हत्या प्रकरणलाई कञ्चनपुरको निर्मला हत्या प्रकरणसँग दाँजेर हेरिएको छ र निर्मला प्रकरणमा जस्तै प्रहरीले कमजोरी नगरोस् भनेर नागरिक समाजले घच्घच्याइरहेका छन् ।