भागरथी भट्टको हत्या निरीक्षणका लागि सुदूरपश्चिम प्रहरी प्रमुख घटनास्थलमा

२५ माघ, बैतडी । बैतडीको दोगडाकेदार-७ मा भएको हत्याको निरीक्षणका लागि सुदूरपश्चिम प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदी आफैं घटनास्थलमा पुगेका छन् । चुडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या अनुसन्धान सुपरीवेक्षणका लागि सुवेदी आइतबार त्यहाँ पुगेका हुन् ।

प्रदेश प्रहरीका वरिष्ठ उपरीक्षक ‘एसएसपी’ मुकेश सिंहका अनुसार सुवेदी आइतबार बिहानै त्यसतर्फ गएका हुन् । घटनाको छानविनका लागि प्रहरी नायब महानिरीक्षक ‘डीआईजी’ सुवेदीले शुक्रबारै प्रदेशका अर्का एसएसपी जनकराज पाण्डेलाई पनि खटाइसकेका छन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोली पनि खटाइसकेको छ । कञ्चनपुरको निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि खटिएको प्रहरी नायब उपरीक्षक ‘डीएसपी’ पञ्चकुमार बाखु नेतृत्वको टोलीलाई बैतडी पठाइएको हो ।

सनातन धर्म उच्चमावीमा कक्षा १२ मा अध्ययनरत भागरथी स्कुलबाट फर्कने क्रममा बुधवार हराएकी थिइन् । बिहिबार उनी पढ्ने सनातन धर्म उच्च माविबाट करिब ३ किलोमिटरको दूरीमा उनको शव भेटिएको थियो । भागरथीको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

प्रहरीका अनुसार शरिरमा घाउचोट देखिएको छ । घाँटी र टाउकोमा चोट देखिन्छ । यौनीबाट रक्तश्राव भएको अवस्थामा शव फेला परेको हुनाले बलात्कारपछि हत्या भएको प्रहरीको निष्कर्ष छ । पातलो बस्तीबीचको सामुदायिक बनमा शव भेटिएको थियो ।