दशैँको रौनक ब्यूँताउने मालश्री धुन : धुनलाई सुगन्ध छर्ने नेपालकै पहिलो र एक मात्र महिला सरोद बादक रुपा न्यौपाने

  • 71
  •  
  •  
  •  
  •  
  •  
  •  
    71
    Shares

समिता श्रेष्ठ

दशैँ हिन्दु नेपालीको महान पर्व मानिन्छ । दशैँमा बज्ने धुन जसलाई हामी मालश्री भन्ने गर्छौ । मालश्रीको धुन बज्न थालेपछि दशैँको रौनक अझ बढ्न थाल्छ । दशैँले मालश्री धुन र मालश्री धुनले दशैँ ब्यूँताउने गर्छ भन्दा पक्कै फरक पर्दैन । अर्थात् दशैँ र मालश्री धुन एकअर्काका पर्याय बनिसकेका छन् । त्यहिँ मालश्री धुनलाई सुगन्ध छर्ने नेपालकै पहिलो र एक मात्र महिला सरोद बादक हुनुहुन्छ, रुपा न्यौपाने ।

कठिन बाजा : महिला बादक

सरोद अन्य लोक शास्त्रीय बाजामध्ये तुलनात्मक हिसाबले अलि कठिन बाजाको रुपमा लिइन्छ । कठिन भएकै कारण यो बाजा बादक नेपालमा कमै छन् । त्यसमाथि पनि महिला बादक त एक मात्र हुनुहुन्छ । त्यहि कठिन बाजाको बादकका रुपमा परिचित हुनुहुन्छ रुपा न्यौपाने । न्यौपानेको जन्म काठमाण्डौको मुलपानीमा २०२६ साल असारमा भएको हो । उहाँले यो बाजा बजाउन थालेको २७ वर्ष भैसकेको छ ।

काठमाण्डौमा जन्मेकी न्यौपाने ६/७ वर्षकै उमेरमा तराई पुग्नुभयो । उहाँले बारामा बसेर बाल्यकाल र पढाई थालनी गर्नुभएको हो । आफ्ना बाल्यकालबारेको सम्झना गर्दै न्यौपाने भन्नुहुन्छ,‘मैले बाल्यकाल तराईमा बिताए । महेन्द्रनगरमा परिवार सहित बसे । उ बेला धेरै जंगल थियो । हात्तीसार थियो । स्कुलबाट फर्कदा घाम र बालुवामा हिड्नुपथ्र्यो । तर स्कुल पढ्दै गर्दा कहिलेकाँही हात्तीमा चढ्न पाउँथे । ती दिन निक्कै रमाइला थिए ।’

‘मेरो बाल्यकालदेखिकै रुचि साहित्य संगित नै थियो । त्यसमा पनि विशेष रुचि शास्त्रीय संगितमा थियो । बाल्यकालदेखि नै म शास्त्रीय संगीत सुन्ने धेरै गर्थे र साहित्य रचना पनि गर्थे । उहाँ भन्नुहुन्छ,‘ यो क्षेत्रमा मेरो परिवारबाट अरु कोही हुनुहुन्न । यो बाजा सिक्न मेरो रुचि र धैर्यताकै ठुलो योगदान छ ।’

सरोद बाजा सिक्न गरेका प्रयासहरु

रुपा न्यौपानेको १२ वर्षकै उमेरमा २०३८ सालमा मिननाथ न्यौपानेसंग बिहे भयो । हाल उहाँको परिवारमा श्रीमान् सहित छोराछोरी र दुई जना धर्मपुत्री हुनुहुन्छ । सरोद बाजा बजाउन उहाँले बिहे भएको १२ वर्षपछि अर्थात् बिक्रम संम्वत् २०५० सालदेखि सुरु गर्नु भएको हो । उहाँले यो बाजा बजाउन सुरुमा काठमाडौंमा वरिष्ठ सरोद बादक गुरु मोहन सुन्दर श्रेष्ठसँग सिक्नुभएको हो ।

त्यसपछी सरोद बादक सुरेशराज बज्राचार्य र पछिल्लो समय भारतका डाक्टर अनुपमा कुमारीसंग सिक्दै हुनुहुन्छ । न्यौपाने भन्नुहुन्छ,‘सरोद बजाउन सिक्ने क्रम निरन्तर छ, यो सिकेर कहिले पनि सकिदैन ।’ उहाँको रुचि नै साहित्य र शास्त्रीय संगितमा भएको हुनाले उहाँले सबैभन्दा सुरुमा गायन सिक्नु भएको थियो ।

त्यसपछि पण्डित साम्रदेव सापकोटासंग हार्मोनियम सिक्नुभयो । यसैगरि संगितमा भौंतारिदा भौंतारिदै उहाँ नारायण संगित प्रतिष्ठानमा पुग्नुभयो । त्यहाँ उहाँको तबला बादक गुरु अतुलप्रसाद गौतमसंग भेट भयो ।

सरोद बाजा बजाउन प्रेरणा र हौसला गुरु अतुल गौतमले नै दिनुभएको न्यौपाने बताउनुहुन्छ । ‘अतुल गुरुले नै नेपालमा सरोद बजाउने महिला कोहि छैन, तिमी धेरै मेहनती छौ तिमीले सक्छौ भनेर सरोद बादक गुरु मोहनसुन्दर श्रेष्ठसंग भेट गराउनु भएको थियो ।’

अरु बाजाभन्दा कठिन

सरोद अरु बाजाको तुलनामा सिक्न र सिकाउन समेत कठिन छ । न्यौपानेलाई पनि सुरुमा सक्दिन जस्तो अनुभव भयो तर गुरु मोहनसुन्दरको सिकाउने शैली र छोरीको जस्तै व्यवहार र मायाले परिवारकै सदस्यका रुपमा राखेर सिकाउनुभयो । सिक्दै जादाँ सहज र राम्रो हुँदै गयो र आफुलाई पनि सिक्ने रुचि बढ्दै गएको न्यौपाने बताउनुहुन्छ ।

‘यो बाजा बजाउँदा सुरु सुरुमा के गरिरहेको होला ? किन गरिराखेको जस्तो परिवारले सोध्ने गर्नुहुन्थ्यो । सुरुमा राम्रोसंग नआउँदा आफैलाई पनि दिक्क लाग्थ्यो अरुलाई त लाग्ने नै भयो । उहाँ भन्नुहुन्छ,‘पछि अलि राम्रो भए पछि सबैलाई मन पर्न थाल्यो । घरमा श्रीमान्, छोराछोरी सबैले साथ दिएपछि हौसला बढ्यो, अरुले पनि बिस्तारै बुझ्नुभयो ।’

यो बाजा बजाउने कुनै पर्व र अवसर छैन । जहाँ जहिले पनि बजाउन सकिन्छ । तर पनि परम्परादेखि चलिआएको मालश्री धुन विशेषगरी दशैंपर्वमा लोकप्रिय छ । तर यो कुनै कुनै कार्यक्रममा बजाउन सकिन्छ । यो बाजाले मनलाई शान्त बनाउन आनन्द प्रदान गर्छ ।

सरोद बादन गर्ने शैलीमा पहिले र अहिलेमा खासै भिन्नता छैन । यो जति बजाउँदै गयो त्यती नै निखारीदै र धुनमा जाने गर्छ । पहिले धेरै जसो राजपरिवार भित्र मात्रै बजाउँने र प्रतिष्ठित ब्यक्तिहरुले मात्रै धेरै सुन्ने गर्थे । तर अहिले संगीतलाई माया गर्ने संगितप्रेमी सबैले रुचाउन थालेका, बजाउन थालेका र सुन्न थालेका छन् ।

रुचीका साथ अरु धेरैले सिक्नुपर्छ

यो बाजा अन्य बाजाको तुलनामा लोपोन्मुख बाजा हो । यो सरोद बाजाले मन शान्त तुल्याउने गर्दछ । त्यस कारण यो बाजा बजाउन सबैले सिक्नु आवश्यक छ । मैले यो सिक्नु चाहनेलाई सिकाउन तयार छु । युवा पुस्तालाई यो बाजा सिकेमा मन शान्त बनाएर धैर्यपूर्वक आफ्नो काम गर्न सहयोग गर्छ ।

नेपालमा सरोद बाजा बजाउने केही होइन जस्तो मानिन्छ तर भारतमा डाक्टर तथा कुनै पनि ब्यवसाय वा काम गर्ने ब्यक्तिहरु पनि विभिन्न बाजा बजाउने र संगितमा पनि रुचि राखेको देखिन्छ । सरोद बाजालाई बजाउन युवा पुस्तामा उत्प्रेरित गर्नु र यो बाजालाई हरेक कार्यक्रममा समावेश गर्नुपर्नेमा उहाँको जोड छ । सरोद बाजा बजाउँदाको रमाइलो र नरमाइलो पलबारे बताउदै न्यौपाने भन्नुहुन्छ,‘मैले कार्यक्रम गर्दा डाक्टर स्वामी प्रपन्न आचार्यको हातबाट २ रुपैयाँ पुरस्कार प्रदान गर्दा सबैभन्दा खुसी लागेको थियो ।

त्यही दिन कार्यक्रममा जान तयार हुँदैगर्दा सरोद छोपेर राखेको बेन्चमा एक जना आफन्त बस्दै गर्दा भाँचियो । आफुले बजाउने बाजा भाचिँदा एकदमै नराम्रो लागेको थियो । संयोग जुन दिन आफूले बजाउने बाजा भाचिँदा दुखी भए, त्यहि दिन पुरस्कृत हुँदा खुसी भए ।


  • 71
  •  
  •  
  •  
  •  
  •  
  •  
    71
    Shares