एजेन्सी । गेडागुडीलाई टुसा उमारेर खाँदा मानव स्वास्थ्यलाई चाहिने आवश्यक पोषक तत्व पर्याप्त मात्रामा पाउन सकिन्छ ।टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छ ।
हामी प्रायः टुसा नउमारी गेडागुडी खाने गर्छौं । गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ । स्वस्थ रहन र सन्तुलित खानाका लागि ‘टुसा उमारेको’ गेडागुडी उपयुक्त मानिन्छ। यसमा पर्याप्त पोसिलो तथा सस्तो र केही मिसिवट नहुने हुँदा स्वास्थ्यलाई फाइदा पुग्छ ।
टुसा उमार्नु भनेको भिटामिन उद्योग नै घरमा खोल्नु जत्तिकै हुने चिकित्सक बताउँछन् । इन्धन वा पैसा खर्च नगरेरै खानेकुराको उपादेयतामा वृद्धि गर्न तथा अन्न तथा गेडागुडीमा रहेको खाद्य तत्वको पोषणमा वृद्धि गर्नका लागि टुसा उमोरर खान सकिन्छ ।
यसलाई पौष्टिक तत्वको भण्डार पनि भनिन्छ। टुसा अंकुरित क्वाँटी सबै उमेर समूहका मानिसलाई फाइदाजनक हुने चिकित्सक बताउँछन्। यसमा विभिन्न किसिमका पौष्टिकतत्वहरु पाइन्छन्। भिटामिन, क्याल्सियम र मिनरल्स प्रशस्त मात्रामा पाइने भएकाले बढ्दो उमेरका केटाकेटीलाई क्वाँटी राम्रो मानिन्छ।
यस्ता छन् टुसा उम्रेका फाइदाहरु:
-
पोषणयुक्त भोजन दिन्छ ।
-
यसले बूढो हुने गति मन्द पार्नुका साथै मानिसलाई सुन्दर, स्वस्थ र रोगमुक्त बनाउँछ ।
-
तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई आवश्यक शक्ति दिन्छ ।
-
अंकुरित खानाले पेटमा वायु बनाउँदैन र कब्जियत हुनबाट रोक्छ ।
-
हरियो तरकारीजत्तिकै फाइदाजनक हुन्छ ।
-
रोगप्रतिरोधात्मक शक्ति बढाउँछ ।
-
रोगी, बालबालिका तथा वृद्धमा हुने कुपोषण हटाउन मद्दत गर्छ ।
-
टुसा उम्रिएको गेडागुडीमा एन्टी–अक्सिडेन्ट, भिटामिन ए, बी, सी र ई प्रचुर मात्रामा पाइन्छन् । एन्टी–अक्सिडेन्टले शरीरको रोगप्रतिरोधी क्षमता बढाउने गर्छ ।
-
टुसा उम्रिएको गेडागुडीमा आइरनको मात्रा बढी हुने भएकाले यसले रक्तअल्पतालगायत रोगबाट बचाउँछ । यस्ता गेडागुडीमा फस्फोरस, आइरन, क्याल्सियम, जिंक, म्याग्नेसियम आदिका मात्रा उच्च हुन्छन् ।











