जब हाम्रो कुनै व्यक्ति वा कसैसँग भेट हुन्छ सबै भन्दा पहिले हामी दुई हात जोडेर नमस्कार गर्ने गर्छौं । आफन्त, चिनेजानेका, इष्टमित्र, गुरु, अतिथि जो कोहिलाई पहिलो भेटमा नमस्ते गर्छौं।
नमस्ते गर्नु केवल परम्पराको निरन्तरता मात्र हो कि, अरुपनि ? नमस्ते किन गरिएको हो ? यसको अर्थ के छ ? नमस्ते गर्नु हाम्रो संस्कार हो । साथै यो संस्कारको विकास स्वास्थ्य र मनसँग जोडिएको छ। कसैप्रति हार्दिकतापूर्वक नमस्कार गर्दा हाम्रो स्वास्थ्यमा फाइदा पुग्छ ।
नमस्ते गर्नुको फाइदा के छ ?
नमस्कार गर्नु यौगिक क्रिया पनि हो । दुई हात जोडेर नमस्कार गर्नुको वैज्ञानिक महत्व पनि छ । नमस्कार गर्दा दुई हात जोडेर हातलाई छातीको अघिल्तिर राखिन्छ । साथै आँखा बन्द गरेर शिर झुकाइन्छ ।
हाम्रो हातको तन्तु मस्तिष्कको तन्तुसँग जोडिएको हुन्छ । जब हामी नमस्कार गर्छौं तब हातका औंलाहरु आपसमा जोडिन्छन् । यसले हृदयचक्र र आज्ञा चक्र सक्रिय हुन्छ । यसले जागरण बढ्छ । उक्त जागरणले मनमा शान्त र चित्तमा प्रशन्नता आउँछ ।
।
नमस्कार गर्दा पाचन यन्त्रलाई पनि फाइदा पुग्छ भन्ने भनाइ रहेको छ । दुई हात जोडेर नमस्कार गर्दा यस किसिमको शारीरिक व्यायाम हुन्छ, जसले पाचन यन्त्रमा प्रभाव पर्छ । हात जोड्दा शरीरको रक्त संचार प्रवाह हुन्छ ।
मनोवैज्ञानिक फाइदा
नमस्कार गर्नु मनोवैज्ञानिक पद्धती पनि हो । हात जोडेर तपाईं कडा वा क्रोधित रुपमा बोल्न सक्नुहुन्न । किन कि नमस्कार गर्दा हाम्रो अहंकार नष्ट हुन्छ ।त्यस्तै विनय गुण नम्रता विकास हुन्छ र मन शुद्ध हुन्छ ।
आध्यात्मिक महत्व
दायाँ हात आचार अर्थात धर्म र वायाँ हात बिचार अर्थात दर्शनको हुन्छ । नमस्कार गर्दा दायाँ र वायाँ हात जोडिन्छ । यसले आध्यात्मिक लाभ मिल्छ ।
मानव शरीरको एक भागमा सकारात्मक र अर्को भागमा नकारात्मक उर्जा रहेको हुन्छ । दुबै हात जोड्दा सकारात्मक उर्जा प्रवाह हुन्छ । कसैलाई प्रणाम गरेपछि आर्शिवाद प्राप्त हुन्छ। जसले गर्दा उसमा आध्यात्मिक विकास हुन्छ ।
नमस्कार तीन प्रकार
१. सामान्य नमास्कार
कुनै व्यक्तिलाई भेट्दा हामी दुई हात जोडेर नमस्कार गर्छौ । नमस्कार गर्दा दुबै हात जोडेर, गर्दन हल्लाएर नमस्कार गर्नुपर्छ । यसले गर्दा जसलाई हामी नमस्कार गर्छौं, त्यो व्यक्तिमा राम्रो भावना विकास हुन्छ । नमस्कार गर्दा दुई सेकेन्डका लागि आँखा बन्द गर्नुपर्छ । यसले आँखा र मन रिप्रेश हुन्छ ।
२. पद नमस्कार
हामी आफ्नो परिवार, कुटुम्ब, बुढापाका, आमाबुवाको खुट्टा छोएर नमस्कार गर्छौं । प्राय यस किसिमको नमस्कार गर्दा आफुले श्रद्धा गर्ने व्यक्तिलाई मात्र गर्नुपर्छ । नचिनेका व्यक्तिलाई यस्तो नमस्कार गर्नु हुँदैन ।
३. साष्टांग नमस्कार
साष्टांग नमस्कारलाई दन्डवत प्रणाम पनि भनिन्छ । यो नमस्कार केवल मन्दिरमा गरिन्छ । यो नमस्कार गर्दा पुरुषले शिर ढाक्नु हुँदैन । तर, महिलाले शिर ढाक्नुपर्छ ।











