Ad #144479

धेरैले जाडोको समयमा घाममा बसेर बदाम खानमा रमाइलो मान्ने गर्छन् । बदाम जाडो महिनाको सबैभन्दा लोकप्रिय ‘टाइमपास’ हो । बजारमा निकै सजिलै पाइने बदाममा भिटामिन, मिनरल्स, न्यूट्रियन्ट्स र एन्टिअक्सिडेन्ट हुन्छ जसले शरिरलाई स्वस्थ राख्नुका साथै तपाईंलाई सधैं ऊर्जावान् बनाउँछ । धेरै मानिसले बदाम खाने गरे पनि यसका फाइदाका बारेमा खासै जानकार भने हुँदैनन् ।

नियमित बदाम खाँदा स्वास्थ्यलाई यस्ता फाइदा पुर्‍याउँछ :

१) नियमित बदाम खाँदा हर्ट स्ट्रोक वा मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउँछ। बदाममा हुने ‘एन्टी अक्सिडियन्ट’ र खनिज तत्वले स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ । मुटुरोगीका लागि बदाम एकदमै फाइदाजनक हुन्छ।

२) बदामको नियमित सेवनले क्यान्सरजस्तो घातक रोगबाट पनि बचाउँछ । बदाममा पाइने फाइटोस्टेरोल नाम गरेको तत्वले ट्युमरलाई नियन्त्रण गर्नका साथै क्यान्सर हुनबाट जोगाउँछ ।

३) बदामले मधुमेहबाट पनि जोगाउन मद्दत गर्छ । बदाममा पाइने म्याग्नेसियमले शरीरमा उचित मात्रामा ब्लड सुगरको तह कायम राख्न सघाउँछ ।

४) बदाममा ‘ट्राइपटोफन’ नामक तत्व पाइन्छ जसले डिप्रेसनविरुद्ध लड्न सहयोग गर्छ। स्ट्रेस र तनावबाट मुक्त हुनका लागि दैनिक एक मुठी बदाम खाँदा डिप्रेसनबाट बचाउँछ।

५) बदाम खाँदा पेट छिट्टो डुम्म हुन्छ । जसले गर्दा धेरै खाने इच्छा नहुँदा मोटा मानिसको तौल कम हुने सम्भावना हुन्छ । मोटा मानिसले नियमित बदाम खाँदा तौल घटाउन प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएको छ ।

६) बदाममा पाइने‘फ्याटी एसिड’ले शरीरमा सन्तुलित कोलेस्टेरोल तह कायम गर्न सहयोग गर्ने विभिन्न अध्ययनले देखाएका छन् ।

७) बदाममा हुने ‘मोनोस्याचुरेटेड फ्याट्स’ र ‘रिजर्भेट्रोल’ तत्वले छालालाई चम्किलो बनाउँछ । यसमा पाइने पोषणयुक्त फाइबरले छालामा हुने अत्यधिक तेललाई निकालेर छालालाई नरम बनाउँछ ।

८) नियमित बदाम खाँदा अनुहार लगायत शरीरका अन्य भागमा दाग आउँदैन । साथै बदाममा छालालाई चाउरी पर्नबाट जोगाउने तत्व हुन्छ।