समिता श्रेष्ठ
चिसो मौसममा न्यानोका लागि आगो बाल्ने, हिटर चलाएर सुत्ने, घरका झ्याल ढोका धुम्म पारेर सुत्ने धेरैको बानी छ । तर यो बानी निक्कै हानिकारक हुन सक्छ । आगलागी तथा ज्यान नै जानेसम्मका घटना हुने गरेका छन् ।
अज्ञानता र लापरवाहीले घटना बढ्दै
काठमाण्डौको नयाँपाटीमा केहि दिन अघि एकै परिवारका दुई जनाको ज्यान गयो । हिटर बालेर सुतेका तीन जनामध्ये आमा र शिशुको निसास्यिएर ज्यान गयो । टेकु अस्पतालका डाक्टर शेरबहादुर पुन भन्नुहुन्छ,‘यस्ता घटना हामी हरेक वर्ष सुन्ने गर्छौ । यसको मुख्य कारण अज्ञानता र लापरवाही नै धेरै देखिन्छ ।’ न्यानोपनका लागि कोइला, हिटर जस्ता कुरा बालेर सुत्दा सावधानी अपनाउनुपर्छ ।
राती सुन्ने बेलामा झ्याल ढोका सबै लगाएर हिटर बालेर सुत्दा त्यो ठाउँमा हिटरको कारण कार्बनमनोअक्साइड बढ्छ । यो बिष सरह हुन्छ । जसले गर्दा कोठामा भएको अक्सिजनको मात्रा घट्दै जान्ने हुन्छ । कोठा भरिएर सुतिरहेका मान्छेहरूमा श्वासप्रश्वासको समस्या भएर अचेत हुँदै जान्छ । डाक्टर पुन भन्नुहुन्छ,‘यसको कारणले बिस्तारै अन्य अंगहरुमा पनि असर गर्दै समस्या ल्याउदै जाने गर्छ । समयमा उपचार गर्न सकिएन वा उपचार नपाए अकालमै ज्यान जान सक्छ ।’
लक्षण र असर
अहिलेको मौसममा प्रायःले मकलमा आगो, कोइला बाल्ने र हिटर चलाएर सुत्ने गर्छौ । त्यसको साथसाथै चिसो हावा छिर्छ भनेर झ्याल ढोका बन्द गर्ने गरिन्छ । कोठामा कार्बनमनोअक्साइडको कमि हुँदा टाउको वा आफुलाई घुमाएको जस्तो हुने, वाकवाकी लाग्ने, के भैरहेको छ भन्ने नै थाहा नहुने, अलमलमा पर्ने, छाती भारी भएर दुखेको जस्तो अनुभव हुने जस्ता लक्षणहरु देखिन्छ ।
यस्तो अवस्थामा आफुले प्रयोग गरिरहेको हिटरको कारणले परेको असर भनेर बुझ्नुपर्छ । यो कुरा साना–साना बालबालिकाले भन्न नसक्ने पनि हुन्छ । त्यसको लागि अभिभावकले नै बुझ्नु पर्ने हुन्छ । न्यानोपनका लागि बाल्ने गरेका यस्ता हिटरहरु बाल्दा सतर्कता अपनाउनु अति आवश्यक छ ।
क्षति हुनबाट जोगिन के गर्ने ?
चिसो मौसममा कतिपय अवस्थामा हिटरको प्रयोग नगरी नहुने पनि हुन्छ । चिसो धेरै बढे शरीरलाई आवश्यक मात्रामा न्यायो राख्नका लागि हिटरको प्रयोग गर्नुपर्ने हुन्छ । तर हिटरको प्रयोग गर्दा आवश्यकता अनुसार प्रयोग गरेर दुई घण्टामै निभाउने गर्नुपर्छ ।
आवश्यकता अनुसार प्रयोग गर्ने र निभाउने गर्न सकिन्छ । अति नै आवश्यक परेको बेला लामो समयसम्म सकेसम्म प्रयोग नगरेर गर्नुपरे पनि झ्यालढोका पूर्ण रुपमा बन्द गर्ने गर्नु हुँदैन ।
झ्यालढोका पूर्ण रुपले बन्द गरि हिटरको प्रयोग गर्दा त्यसबाट हानिकारक ग्यासहरु निस्कन्छ । त्यसैले हावा खेल्ने हुनुपर्छ । हावा आवतजावत गर्ने कोठामा हानिकारक ग्यासहरु बाहिर जान पाउँछ ।
जाडो कसरी कम गर्ने ?
सामान्यतया हामी प्राकृतिक रुपमा नै न्यानो भएर बसेको नै राम्रो हुन्छ । त्यसो त दिउँसोको समयमा घाममा बस्न सकिन्छ । तर रातीको समयमा गाह्रो हुने गर्छ । त्यसको लागि हिटरको प्रयोग गर्न सकिन्छ । तर हिटरको प्रयोग गर्दा सावधानी अपनाएर हावा आवतजावत लागि ठाउँ राख्न जरुरी हुन्छ ।
हिटर रातभरी प्रयोग नगरी सुत्ने बेलामा बन्द गर्न सकिन्छ । हिटरको कारणले उत्पन्न भएको नकारात्मक ग्यासहरुलाई श्वासप्रश्वासको माध्यमबाट शरिरमा प्रवेश गरिरहेको हुन्छ । लामो समयसम्म निरन्तर रुपमा श्वासप्रश्वासको माध्यमबाट नकारात्मक ग्यास शरीर भित्र प्रवाह हुँदा शरिरमा असर पुग्छ ।
समयमा उपचार हुन नसके ज्यानै जाने भएकाले सावधानी र सतर्कता अपनाएर हिटर बाल्नुपर्ने डाक्टर पुन बताउनुहुन्छ । त्यसैले दिउँसोमा प्राकृतिक रुपमा नै घाम ताप्ने र बिहान–बेलुका न्यानो लुगा लगाउनु उत्तम हुन्छ ।
शरीरका लागि आवश्यक पर्ने तापक्रमको मात्रालाई हातखुट्टामा पञ्जा÷मोजा, शरीरमा बाक्लो न्यायो कपडा लगाउदा नै प्रभावकारी हुन्छ । सकेसम्म हिटरको प्रयोग नगरेकै राम्रो र गर्नुपरे पनि सतर्कता अपनाएर प्रयोग गर्न डाक्टर पुनको सुझाव छ ।











