चिसो मौसममा रुघाखोकीको घरेलु उपचार यसरी गर्न सकिन्छ

जाडोयाम सुरु हुनासाथ, मौसममा आएको परिवर्तनका कारण रुघा–खोकीको समस्या देखिन थाल्छ । घाँटी खसखस हुनु, नाक बन्द हुनु, नाकबाट पानी बग्नु, रुघाखोकी आदि यो मौसममा देखिने सामान्य समस्या हुन् । थुप्रै मानिस हरेक वर्ष एक दुईपटक रुघाखोकीको प्रकोपमा पर्छन् । दुई सयभन्दा बढी प्रकारका भाइरसबाट हुने यो रोगलाई सामान्य रोग मानिए पनि यसले निकै सताउँछ, आक्रान्त बनाउँछ ।

रुघाखोकी कस्तो खालको हो त्यसको आधारमा उपचार गर्नुपर्छ। कोही बिरामी हुन्छन्,जसलाई सधै रुघा लाग्छ भने त्यो एलर्जीले हो। धुलो,ढुसी चिसोले अनि कसैलाई फूलको एलर्जी, कुकुर बिरालोको एलर्जीले सधैभरि रुघा लाग्ने हुन्छ। यसका लागि जेबाट एलर्जी भएको हो,त्यहीबाट बच्नु नै पहिलो उपाय हो।

सामान्य रुघाखोकी हुँदा पनि चिकित्सकको सल्लाहअनुसार उपचार प्रक्रिया अघि बढाउनुपर्छ । तर स्वस्थ व्यक्तिलाई जाडोयाममा सामान्य रुघाखोकी लागे हाम्रा पुर्खाहरूले परापूर्वकालदेखि अपनाउँदै आएका घरेलु उपायबाटै सन्चो हुन सक्छ ।

जाडोयाममा स्वस्थ व्यक्तिलाई समस्यामा पार्ने रुघाका लागि हाम्रो घरदैलोमै पाइने जडीबुटी आदिको उपयोग गर्दा राम्रो हुन्छ । तुलसीको पात चपाउनाले वा चियाजस्तो पकाएर खानाले रुघा निको हुन्छ । यो मौसममा रुघा प्रभावितले दिनहुँ दुईतीन पटक र सामान्य व्यक्तिले समेत एक पटक तुलसीपात, बेसार, अदुवालाई चियाजस्तै पकाएर महको साथ सेवन गर्नाले धेरै फाइदा पुग्छ ।

रुघा लाग्दाताका दूधमा बेसार मिलाएर सेवन गर्नाले समेत आराम हुन्छ । पानको पातमा थोरै मह र अदुवा राखेर दिनमा दुईतीन पटक खाँदा खोकी राम्रो सँग ठिक हुन्छ । धेरै खोकी भए ज्वानो पकाएर पिउँदा खोकी निको हुनुका साथ खकार आदि समेत शरीरबाहिर निस्किन्छ । ज्वानो र अदुवा हालेर उमालेको पानीको बाफ लिँदा नाक खुल्छ, घाँटीको खसखस दुईतीन दिनमै निको हुन्छ । यस्तै बेसार, मह, अदुवा चपाइरहँदा पनि फाइदा गर्छ ।

दिनहुँ वा हप्ताको एकपटक जलनेती क्रिया गर्ने तथा दिनहुँ पाँच मिनेट अनुलोम विलोम प्राणायाम गर्ने हो भने रुघाखोकी लाग्ने, पिनास पर्ने, आँखा दुख्ने तथा कमजोर हुने, टाउको भारी हुने आदि समस्या नै आउँदैन । लसुन उमालेको पानी खानाले वा यसको पोटी खाँदा समेत रुघाखोकीमा राहत मिल्छ । रुघाखोकीको प्रत्यक्ष सम्बन्ध हाम्रो रोगप्रतिरोधक क्षमतासँग हुन्छ ।

आयुर्वेदले रोगप्रतिरोधक क्षमता बढाउन भूमिका खेल्छ ।यस्तो अवस्थामा शरीरलाई आरामको आवश्यकता पर्छ । शरीरलाई चिसोबाट बचाउँदै न्यानो राख्नुपर्छ । नुनपानीले कुल्ला गर्दा पनि समस्या थप बल्झन पाउँदैन । विशेषगरी घाँटीको संक्रमणमा कुल्ला गर्न अनिवार्य हुन्छ ।

[sidebar name="button post"]