कोरोना भाइरस १ सय ९५ देशमा पुगिसकेको छ । अहिलेसम्म यसको कुनै उपचार विधि पत्ता लाग्न सकेको छैन । यस्तो अवस्थामा मानिसहरुले विभिन्न प्रकारको स्वास्थ्य सम्बन्धि जानकारी दिने गरेका छन् ती मध्ये कुनै बेकारका छन्, कति हानी रहित छन् त कति त खतरनाकसमेत छन् ।
बीबीसीले अनलाइनमा सार्वजनिक भएका त्यस्ता थुप्रै दाबीमाथि अनुसन्धान गरेर विज्ञानले के भन्छ, त्यसको खोजी गरेको छ ।
१. प्रत्येक १५ मिनेटको फरकमा पानी पिइराख्नेः
अहिले जापानका एक चिकित्सकको उदाहरण दिँदै वा उनलाई उद्धृत गर्दै फेसबुकमा एउटा पोस्ट भाइरल भएको छ । त्यो पोस्टमा भनिएको छ, प्रत्येक १५ मिनेटमा पानी पिउने हो भने जस्तासुकै भाइरस पनि शरीरबाट बाहिरिन सक्छन् । यो पोस्ट विश्वभर २५ लाखभन्दा बढी सेयर भएको छ । तर, के पानी पिउँदा यस्तो हुन्छ त ? प्रोफेसर ब्लुमफिल्डले भनेका छन्, ‘यस्तो हुन्छ भन्ने कुनै प्रमाण छैन ।’ तर, बिर्सनु हुँदैन पानी बारम्बार पिउँदा हाम्रो स्वास्थ्यमा राम्रो चाहिँ हुनसक्छ ।
२. लसुन
विश्व स्वास्थ्य संगठनका अनुसार लसुन स्वस्थकर हो र यसमा एन्टिब्याक्टेरियल तत्व त हुन्छ तर लसुन खाँदा नयाँ कोरोना भाइरसबाट बच्न सकिन्छ भनेर कुनै तथ्य फेला परेको छैन । यद्यपि, यस्ता स्वास्थ्य सल्लाहले थुपै्र अवस्थामा हानी त गर्दैन तर कतिपय अवस्थामा यसले स्वास्थ्यमा नकारात्मक असर पु–याउँछ ।
३. घरमा बनाइएका स्यानिटाइजरः
कोरोना भाइरसको संक्रमण रोक्न सकेसम्म धेरैभन्दा धेरै हात धुन र हात धुन नसक्ने अवस्थामा ह्यान्ड स्यानिटाइजरको प्रयोग गर्न सुझाएपछि एकाएक ह्यान्ड स्यानिटाइजरको हाहाकार हुन थाल्यो । तसर्थ, सोसल मिडियामा थुप्रैले ह्यान्ड स्यानिटाइजर घरमै बनाउन विभिन्न विधि सिकाए । तर सोसल मिडियामा सिकाइएका यस्ता विधि हाम्रो छालाका लागि उपयुक्त नभई सतहको सरसफाई गर्दा चाहिँ प्रयोग गर्दा राम्रो हुने बताइएको छ ।
४. मिनरल्स
विभिन्न प्लेटफर्ममा युट्युबर जोर्डन स्याथरले एमएमएस भनिने ‘मि–याकल मिनरल सप्लिमेन्ट’ ले कोरोनालाई नष्ट गर्न सक्छ भनेर दाबी गरिरहेका छन् । गत वर्ष अमेरिकाको खाद्य तथा औषधी प्रशासन (एफडीए) ले एमएमएस पिउँदा स्वास्थ्यमा पर्ने नकारात्मक असरबारे जानकारी दिएको थियो । अन्य देशका स्वास्थ्यकर्मीले पनि यसको हानीबारे जानकारी दिएका थिए ।
५. तातो भएर बस्नु र आइक्रिस नखानुः
तातोले भाइरस मार्छ भनेर धेरैले भन्ने गरेका छन् । कतिले यसका लागि तातो पानी पिउन, तातो पानीले नुहाउन र हेयर ड्रायरको प्रयोग गर्न भनिरहेका छन् । हामीलाई थाहा छ कि फ्लूको भाइरस गर्मीयाममा शरीर बाहिर राम्रोसँग बाँच्न सक्दैन तर तातोले नयाँ कोरोना भाइरसलाई कसरी प्रभाव पार्छ भनेर हामीलाई अझैसम्म थाहा हुन सकेको छैन । जब भाइरस तपाईंको शरीर भित्र प्रवेश गर्छ तब न त तातो पानी, न घामले यसलाई नष्ट गर्न सक्ने प्राध्यापक ब्लूमफिल्डले जानकारी दिए ।








