दिल्ली क्यापिटल्स पहिलो पटक आईपीएलको फाइनलमा

दिल्ली क्यापिटल्स पहिलो पटक आईपीएल क्रिकेटको फाइनलमा पुगेको छ । आइतबार भएको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई १७ रनले पराजित गर्दै दिल्लीले फाइनलमा स्थान पक्का गरेको हो।

दिल्ली आइपिएलको फाइनलमा पहिलो पटक पुगेको हो। यसअघिका १२ संस्करणमा दिल्लीले फाइनलमा स्थान बनाउन सकेको थिएन। अब उपाधिका लागि दिल्लीले मंगलबार मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ। साविक विजेता मुम्बईले भने पहिलो क्वालिफायरमा दिल्लीलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो।

आइतबार अबुधाबीमा पहिले ब्याटिङ गरेको दिल्लीले ३ विकेटको क्षतिमा १८९ रन बनाएको थियो । दिल्लीका लागि ओपनिङ गरेका मार्कुस स्टोइनिसले २७ बलमा ३८ रन र अर्का ओपनर शिखर धवनले सर्वाधिक ७८ रन बनाए । धवनले ५० बलमा ६ चौका र २ छक्का हिर्काए। कप्तान श्रेयस इयरले २१ रन र शिमरन हेटमेयरले नटआउट ४२ रन जोडे। हेटमेयरले २२ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

बलिङमा हैदरावादका सन्दीप शर्मा, जासन होल्डर र रासिद खानले एक एक विकेट लिए। १९० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो । हैदरावादका लागि केन विलियमसनले ४५ बलमा ६७ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन।

बलिङमा दिल्लीका कागिसो रबाडाले ४ र स्टोइनिसले ३ विकेट लिए । व्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका स्टोइनिस म्यान अफ द म्याच बने । अब दिल्लीले उपाधिका लागि पर्सी मुम्बईसँग खेल्नेछ । यसअघि पहिलो क्वालिफायरमा दिल्ली मुम्बईसँगै पराजित भएको थियो ।

[sidebar name="button post"]