नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । पार्टीभित्र विवाद बढेपछि शीर्ष नेताहरुको बैठक बस्न लागेको हो । पार्टीमा सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका २७ केन्द्रीय सदस्यले राखेका १६ बुँदे विरोध पत्रबारे छलफल गर्न बैठक बस्न लागेको हो ।
कांग्रेसले १४ औं महाधिवेशन र पार्टीभित्रका असहमतिबारे छलफल गर्न शुक्रबार केन्द्रीय समिति बैठक डाकेको छ। उक्त बैठकअघि नै शीर्ष नेताबीच सहमति जुटाउन सभापति शेरबहादुर देउवाले शीर्ष नेताको अनौपचारिक बैठक राखेका हुन्।
क्रियाशील सदस्यता, महाधिवेशन सुनिश्चितता, समायोजन र विभाग गठनलगायतमा पौडेल पक्षले प्रश्न उठाउँदै आएको छ। एकलौटी ढंगले महाधिवेशन नजिकिएका बेला सभापति देउवाले गठन गरेका विभाग खारेज गर्न उनीहरूले माग गरेका छन्। खासगरी देउवाले पार्टीका विभिन्न विभाग गठन गर्दा एकलौटी गरेका थिए ।












