राष्ट्रपतिले नेकपालाई फूटबाट जोगाउन बामदेवलाई आग्रह गरिन

फेरि एकपटक सत्तारुढ नेकपा फूटको संघारमा पुगेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रियता बढाएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सी जोगाउन हदैसम्मको भूमिका खेल्ने राष्ट्रपति भण्डारीले यसपटक पनि ओली र प्रचण्डसँगको सम्बन्ध सुधारेर पार्टी एकता जोगाउने प्रयास शुरु गरेकी छन् ।

तर आफू प्रत्यक्ष सक्रिय हुन नमिल्ने भएकाले उनले उपाध्यक्ष बामदेव गौतमलाई गुहारेकी छिन् । प्रचण्ड र ओलीबीच बोलचाल समेत बन्द हुने अवस्था सिर्जना भइरहेका बेला पार्टी एकता जोगाउने गरी भूमिका खेल्न भण्डारीले बामदेवलाई गुहारेकी हुन् ।

मंगलबार शीतलनिवासमा बोलाएर बामदेवलाई औपचारिक रुपमै पार्टी एकता जोगाउनका लागि निर्णायक भूमिका खेल्न आग्रह गरेकाे बामदेवका प्रेस सहयोगी विश्वमणि सुवेदीले जानकारी दिए । पार्टी एकता गराउन मूख्य भूमिका खेलेका बामदेव पछिल्लो समय ओलीबाट असन्तुष्ट छन् ।

उनले खासै सरकारको विरोध गरेका छैनन् । तर राष्ट्रियसभा सदस्य बनेपछि सर्वोच्चमा रिट परेर उनको सांसद पद विवादमा छ । पार्टी एकता गराउन मूख्य भूमिका खेलेका कारण पार्टीलाई फूटबाट जोगाउन पनि निर्णायक भूमिका खेल्नुपर्ने उनको भनाई छ ।

पछिल्लो समय अर्थमन्त्री बनेपछि नेकपा महासचिव विष्णु पौडेलले पनि दुई अध्यक्षबीचको विवाद समाधान गर्न सक्रियता देखाएका छैनन् । उनी बरु पार्टी फूटको नजिक पुगेको घोषणा गर्दै हिडेका छन् । यस्तो बेला निर्णायक कदम चालेर पार्टीलाई फूटबाट जोगाउन राष्ट्रपति भण्डारीले बामदेवलाई आग्रह गरेकी हुन् ।

[sidebar name="button post"]