संक्रमित बिरामीप्रति गैरजिम्मेवार निर्णय गर्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री भानभुक्त ढकालविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने निर्णयका विषयमा मन्त्री ढकालविरुद्ध अदालतको अवहेलना अन्तर्गत सर्वोच्चमा मुद्दा दर्ता भएको हो ।
अधिवक्ता लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा १५ असोजको फैसलाको उल्लंघन भएको दाबी गरिएको छ । सर्वोच्चले १५ असोजमा कोभिड–१९ सँग सम्बन्धित सबै कार्य निःशुल्क गर्न परमादेश जारी गरेको थियो ।
तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ कात्तिकमा मन्त्रिपरिषद्को १९ असोजको निर्णयअनुसार भन्दै बिपन्न, असहाय, अति अपाङ्गगता भएका, ७० वर्ष नाघेका जेष्ठ नागरिक र फ्रन्टलाइनरमा लक्षण भए परीक्षण र उपचार निःशुल्क गर्ने अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेको थियो ।
त्यसअनुसार अहिले सरकारी अस्पतालहरुले समेत धमाधम धरौटी रकम जम्मा गराउन थालेका छन् । यसले सर्वोच्चको परमादेश उल्लंघन भएको भन्दै रिटमा स्वास्थ्यमन्त्रीलाई अदालतको अवहेलनामा अधिकतम एक वर्ष कैद र १० हजार जरिवाना गर्न माग गरिएको छ । अवहेलना मुद्दा दर्ता भएपछि अब स्वास्थ्य मन्त्री ढकालले सर्वोच्चलाई जवाफ दिनु पर्ने भएको छ ।












