इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्स प्ले अफमा पुग्ने पहिलो टिम बनेको छ । यूएईमा राति भएको खेलमा चेन्नई सुपर किङ्सले कोलकात्ता नाइट राइडर्सलाई हराएसँगै मुम्बई प्ले अफमा पुगेको हो । चेन्नईले कोलकात्तालाई ६ विकेटले पराजित गरेको हो ।
कोलकात्ताले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो । तालिकाको पुछारमा रहेको चेन्नईले कोलकात्तालाई हराएपछि शीर्ष स्थानको मुम्बई प्ले अफ पुग्ने पहिलो टिम बनेको हो । मुम्बईले १२ खेलमा १६ अंक जोडेको छ । मुम्बई तालिकाको शीर्ष स्थानमा रहेको छ ।
अब बाँकी रहेका २ खेल गुमाए पनि मुम्बई शीर्ष चारमा रहनेछ । तालिकाको दोस्रो स्थानको रोयल च्यालेन्जर्स बैंगलोर र तेस्रो स्थानको दिल्ली क्यापिटल्सले १२ खेलमा १४ अंक जोडेका छन् । यस्तै चौंथो स्थानको किङ्स इलाभेन पन्जाब र पाँचौ स्थानमा रहेको कोलकात्ताको समेत सम्भावना छ ।
पन्जाब र कोलकाताले १२ खेलमा समान १२-१२ अंक जोडेका छन् । सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सको पनि प्ले अफमा पुग्ने सम्भावना रहेको छ । दुबैले १०-१० अंक जोडेका छन् । चेन्नई आईपीएलमा पहिलो पटक प्ले अफ पुग्न नसकेको हो ।












