यस पटक पर्व पूजा रोकियो

गुह्येश्वरी मन्दिरमा ऐतिहासिक राजा मानदेवका पालादेखि नै घटस्थापनाका दिनदेखि अमालकोट कचहरी कार्यालयका तर्फबाट पूजा, चण्डी पाठ गर्ने परम्परा रहेको स्थानीयवासी एवं कोषका पुराना कर्मचारीको भनाइ छ । पशुपति क्षेत्रका सांस्कृतिक सम्पदाका विषयमा विद्यावारिधि शोध गर्नुभएका कोषका पूर्वसदस्यसचिव डा गोविन्द टण्डन यससम्बन्धी ऐतिहासिक दस्तावेज, शिलालेख लगायत केही पनि प्रमाण फेला नपरेको बताउनुहुन्छ ।

शाहकाल अर्थात् विसं १९७४ देखि भने नियमित घटस्थापनाका दिनदेखि महानवमीसम्म अमालकोट कचहरीबाट पूजा आराधना हुँदै आएको उहाँ बताउनुहुन्छ । यस वर्ष घटस्थापनाका दिन कात्तिक १ गते विशेष पर्व पूजा गर्न कोषाध्यक्ष थापाको नेतृत्वमा पुजारी विष्णुप्रसाद नेपाल, कचहरीका द्वारे पूर्ण डङ्गोल, कर्मचारी वरुण खतिवडासहित चारजना मन्दिरभित्र प्रवेश गर्न खोज्दा पुजारी जैन कर्माचार्यले रोकेको कोषले जनाएको छ ।

कोष स्थापनापछि अमालकोट कचहरी कार्यालय कोष मातहत राखिएको थियो । अमालकोट स्थापना भएदेखि नै राज्यका तर्फबाट गुह्येश्वरी मन्दिरमा विशेष पर्व पूजा, दुर्गा सप्तशती ‘चण्डी’ पाठ गराउने परम्परा थियो । कोषमा ३५ वर्षदेखि कार्यरत कर्मचारी वासुदेव रिमाल राज्यका तर्फबाट गरिने पूजा रोक्दा धार्मिक आस्थामा चोट पुग्ने र देशलाई असर गर्न सक्ने बताउनुहुन्छ ।

गुह्येश्वरीमा धर्म, संस्कृति एवं परम्परा मास्ने, भेटीघाटी लगायत आय पारदर्शी नराख्ने, ऐतिहासिक स्थलको संरक्षण गर्नुको सट्टा मासेर अनियमितता गर्ने क्रम बढेको कोषको आरोप छ । विसं २०६६ मा पशुपतिनाथ मन्दिरको भेटीघाटी पारदर्शी गर्ने गरी नियमावली ल्याउँदा नै यस क्षेत्रका सबै मठ मन्दिरलाई यो दायरामा ल्याउने प्रतिबद्धता भने कोषले अझै पूरा गर्न सकेको छैन । संस्थान र कोषको दुईथरी स्वामित्व हुँदा कतिपय मठमन्दिरमा हाल नित्य पूजा समेत हुन छोडेको छ । सदस्यसचिव ढकाल यो प्रतिबद्धता छिटो पूरा गर्ने तयारी भएको बताउनुहुन्छ ।

[sidebar name="button post"]