रमिता दंगाल
नेपालमा कोरोनाबाट संक्रमित हुने एक लाख नाघेका छन् । दिनहुँ संक्रमण बढ्दो छ । सरकारले कोरोना नियन्त्रण गर्न प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ । विश्वमा नै महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण तत्काल रोकिने संकेत छैन । बरु बढ्दो छ ।
अहिलेसम्म कोरोना भाइरसको औषधि पत्ता लागेको छैन । केहि औषधिको प्रयोग भैरहेको छ । तर बजारमा आइसकेको छैन । औषधि नै नभएको कोरोना भाइरससँग लड्न मानिसको रोगप्रतिरोधात्मक क्षमता नै बलियो हतियार हो । नेपालमा औषधिय गुण भएको गुर्जोको प्रयोग बढि हुने गरेको छ ।
गुर्जो वितरण अभियान
पछिल्लो समय विभिन्न ठाउँमा गुर्जोको वितरण गर्न थालिएको छ । गुर्जोलाई पानीमा उमालेर पिउने गरिन्छ । आदर्श सामाजिक सेवा समाजले भक्तपुरको मध्यपुरथिमिमा रोगप्रतिरोधात्मक क्षमता बढाउने गुर्जो वितरण गरेको छ । गुर्जोको सेवन गर्नाले कोरोना भाइरसको नियन्त्रण गर्न सकिने र यसले रोगसंग लड्न सक्ने क्षमता पनि बढाउने भएकाले गुर्जो वितरण गरेको आदर्श सामाजिक सेवा समाजका अध्यक्ष रमेश प्रजापतिले बताउनु भयो ।
यहि असोजको पहिलो हप्ता देखि गुर्जो वितरण सुरु गरेको प्रजापतिले बताउनुभयो । प्रजापतिले सुरुवातमा गुर्जो आफैंले किनेर वितरण गर्दै आउनुभएको थियो । त्यहिक्रममा बिचमा गुर्जो अभियान्ता कमलबहादुर राजलवटले २ सय ५० जति गुर्जो सहयोग गर्नुभएको उहाँले बताउनुभयो । त्यसपछि सामाजिक व्यक्तित्वबाट पनि सहयोग प्राप्त हुँदै गएपछि प्राप्त रकमले किनेरै बाँड्न थालेको उहाँ बताउनुहुन्छ ।
भक्तपुरका टोल टोलमा वितरण
अहिलेसम्म झण्डै ७ सय ५० किलो गुर्जो वितरण भएको छ । कोरोना प्रभावित परिवारहरु, आइसोलेसन सेन्टरहरुका साथै मध्यपुरथिमि नगरपालिकाका ९ वटा वडा मध्ये ७ वटा वडामा गुर्जो वितरण भएको छ । हालसम्म १६ सय भन्दा बढी परिवारहरुलाई गुर्जो वितरण गरेको प्रजापतिको भनाई छ ।
सुरुमा किलोको १५० देखि १८० रुपैयाँसम्म तिरेर गुर्जो किनेर वितरण गर्दै आएको र अहिले अनलाइन मार्फत ८० देखि १०० सम्ममा किन्ने उहाँ बताउनुहुन्छ । गुर्जो टोल टोलमा नै गएर वितरण हुँदै आएको छ । कोरोना प्रभावित र आइसोलेसनमा प्रजापति आफैं गएर वितरण गर्दै आउनु भएको छ ।
रोगप्रतिरोधात्मक क्षमता बढाउने
नियमित गुर्जोको सेवन गर्नाले रोगसँग लड्ने क्षमता बढाउने, औषधि जन्य काम जस्तै रुघाखोकी, ग्यास्ट्रिक, शरीरको विकार फाल्ने, पाचनप्रणालीलाई बलियो बनाउने, रगतको कमीलाई सन्तुलन गर्ने, आँखा, छालाको समस्याहरु समाधान हुने प्रजापतिले कागेश्वरी खबरलाई बताउनुभयो ।
गुर्जो शरीरमा गर्मि पैदा गर्ने जडिबुटी भएकाले गर्भवती, सुत्केरी र बालबालिकाले भने सेवन गर्न नहुने र रक्तचाप कम हुनेहरुले नुन मिसाएर खानुपर्ने उहाँ बताउनुहुन्छ । रक्तचापका बिरामीलाई फाइदा गरेन भने तत्काल खान छोड्न पनि उहाँको सुझाब छ ।
साथीहरुको सहयोगमा सामाजिक काम
प्रजापतिका साथीहरु समेतले गुर्जो प्याकिंग, सफा गर्ने काममा सहयोग गरेका छन् । गुरु अर्जुन श्रेष्ठले विशेष सहयोग गरेको उहाँले बताउनुभयो । ‘फाल्गुनको अन्तिम हप्ता तिर दिवा बृद्दा आश्रम खोल्ने संस्था दर्ता गर्ने सोचमा थियौं, त्यसपछि लकडाउन भयो र काम हुन सकेन ।
चैत्र १६ गते मध्यपुरथिमि क्षेत्रमा काम गर्ने श्रमिक र विपन्नहरुलाई खाजा वितरण गर्यौं । यसैबिचमा असार १६ गते गुर्जो अभियन्ता कमलबहादुर राजलवटको सहयोगमा स्थानिय बालकुमारी बिष्णुबीर सामुदायिक वन उपभोक्ता समितिको सहकार्यमा गुर्जोको ३०० बिरुवा बितरण र ३५० गुर्जो रोपन भयो’ उहाँले भन्नुभयो,‘साथीहरु मिलेर राहतको लागी उठाएको पैसा बाँकी भएको र त्यहि पैसा गुर्जोमा खर्च गर्ने सोंचले बाँड्न थालेको हो ।’
गएको भदौ २५ गते संक्रमित परिवारहरुलाई चामल २५ किलो, चिउरा ५ किलो, दाल २ किलो, चिनी २ किलो, चाउ चाउ १ बाक्स, बिस्कुट १ बाक्स, अण्डा १ क्रेट, नुन, मसला, चियापत्ती, गुर्जो १ किलो, साबुन, माक्स, स्यानिटाईजर, र हालसम्म १३ परिवार र ३ विपन्न परिवारलाई वितरण गरिएको प्रजापतिले बताउनुभयो । सुरुमा आफुहरुले ४७ हजार नै पैसा कलेक्सन गरेर कोरोना प्रभावितहरुलाई मात्र बाँढ्दै गर्दापछि सहयोगी हातहरु बढ्दै गए अनि पुरै नगरपालिका भरि नै वितरण गरिएको उहाँको भनाई छ ।
स्थानीय सहकारी र स्थानीय व्यक्तित्वहरुको सहयोगमा एकलाख भन्दा बढी रकम संकलन भएको र त्यहि पैसाबाट गुर्जो वितरण भैरहेको प्रजापतिले बताउनुभयो । गुर्जो वितरण दशैँसम्म गर्ने साेंच भएको र त्यसपछी अवस्था हेरेर के हुन्छ त्यहि अनुसारले काम गर्ने पनि अध्यक्ष रमेश प्रजापतिले बताउनुभयो ।








