किन मनाइन्छ नागपञ्चमी ?

२९ श्रावण, काठमाण्डौ। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गरी नागपञ्चमी मनाउने गरिन्छ । नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको आजकै दिन पूजाआराधना गरिन्छ ।

यस दिन बिहानै उठी स्नान गरी दीप, कलश, गणेश गरी गोबरको नाग बनाई पूजाआजा गरिन्छ । आजको दिनमा विभिन्न नागको बासस्थान भएका स्थानहरु पोखरी, पानी भएको कुवा इनारमा गएर पूजा गर्ने चलन छ । नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो। वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो। वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि प्रसिद्ध मानिन्छ।

नागदेवतालाई श्रीखण्डको सुगन्ध विशेष प्रिय भएकोले नागपूजामा श्रीखण्ड चन्दनको प्रयोग गर्नु राम्रो मानिन्छ । त्यस्तै यस पूजामा सेतो कमलको फूल र लाभा अर्थात् भुटेर फूल उठेको धानको प्रयोग गर्ने विधान छ । त्यस्तै नागको चित्रमा दही, दुबो, कुश, सिन्दुर, चन्दन आदिले पूजा गरी घरको ढोकामा टाँस्ने गरिन्छ ।

यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

ज्योतिष शास्त्रीय मान्यताअनुसार आजको दिन कुनै शुभ तथा मांगलिक कार्य गर्न साइत हेर्नु पर्दैन । कुनै पनि घर तथा बंगला निर्माण गर्दा भूमिमा नाग देवताको बास भए आजकै दिनमा बिधिवत् पूजाआजा गरी पन्छाए नागको दोषबाट मुक्त हुने धार्मिक विश्वास छ ।

प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पले ग्रहण गरी मानवलगायत अन्य जातिलाई बिषालु पदार्थको प्रभाव पर्न नदिने त वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको कुरा हो । सर्पले वायुमण्डलमा फैलिएको विषाक्त पदार्थ ग्रहण गर्छ । सर्पको प्रयोगबाट क्यान्सर जस्तो प्राणघातक रोगका लागि औषधि बन्ने वैज्ञानिक तथ्य पनि छ ।

कुण्डलीमा राहु, केतुको दोष भएकाहरुले पनि आजको दिनमा विधिवत् रुपमा भगवान शिवको पूजा गरेमा अथवा नाग देवताको पूजा गरी विशेष मन्त्रको जप गरे राहु र केतुको दोषबाट पर्ने प्रभाव हटेर जीवनमा सुख मिल्ने धार्मिक विश्वास छ ।

नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ। अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ। आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ।