बलराम उपाध्याय खकुरेल
आजकल हाम्रो समाजमा चिना या कुण्डली देखाउने को लहर नै चलेको । रेडीयो या टेलिभिजनमा ज्योतिषिय कार्यक्रमहरु पर्याप्त मात्रामा चलेका छन् ।
कुण्डली देखाएर आफ्नो भविष्यको बारेमा थाहा पाउन हामी निकै उत्सुक भएका छौँ र यस्ता कार्यक्रममा फोन गरि या ज्योतिषिय कार्यालयमा गएर आफ्नो कुण्डली पनि हेराउने गर्दछौँ ? अनि चिना हेराएर वैदेशिक यात्रा, विवाह, जागिर, व्यवसाय , रोगव्याधी आदीको बारेमा विभिन्न प्रश्न गरि आफ्नो समस्याको समाधानका उपायहरु अवलम्बन गर्दछौँ ।
यो कुण्डली देखाएर समस्या समाधानको उपाय खोज्ने चलन अहिले पश्चिमी देशहरुमा समेत व्यापक रुपले बढेर गएको देखिन्छ । हाम्रै देश नेपालमा पनि अहिले केही विदेशीहरुले आ आफ्ना छुट्टै एपहरु बनाइ अन लाइन मार्फत नै ज्योतिष गुरुहरुको सहायतामा विदेशी हरुको चिना हेर्ने सँस्थाहरुको स्थापना गरि कार्य थालिएको निकै वर्ष भइसक्यो ।
कुण्डली या चिनामा कसरी विभिन्न पक्षको विचार गरिन्छ भन्ने विषयको चर्चा हामी आज गर्नेछौँ । चिना या जन्मपत्रिकामा विविध विषयको अध्ययनका लागी धेरै प्रकारका कुण्डलीहरु हुने भएता पनि लग्न कुण्डली लाई नै विशेष महत्वका साथ विचार गरिने गरिन्छ ।
साथ साथै नवमांश, भाव, राशि, द्रेष्काण आदि कुण्डलीको पनि सहारा लिएर भविष्यको बारेमा विचार गर्ने गरिन्छ । कुनै पनि बालकको जन्म को समयमा उसको जन्मस्थान बाट पूर्व तर्फ सौर्यमण्डलको कुन भाग अर्थात् राशि पर्दछ र त्यस समयमा ग्रहहरु कुन कुन राशिमा बसेका थिए भन्ने कुराको अध्ययनका आधारमा नै लग्न कुण्डली तयार गरिन्छ ।
सोही अनुसार दिन रातमा १२ राशिको अलग अलग कुण्डली तयार हुने गर्दछ । यी १२ कुण्डली नै मानिसहरुको भविष्यको फलादेश गर्न महत्वपूर्ण आधारहरु हुन् । लग्न कुण्डली बाट नै जातकको रुप, स्वभाव, गुण तथा दोषहरु थाहा हुने गर्दछ । कुण्डलीमा १२ वटा भावहरु हुने गर्दछन् ।
यी १२ भाव बाट अलग अलग कुराहरुको विचार गरिन्छ । पहिलो भाव देखि क्रमश १२ भावमा मुख्यतः शरिर, धन, दाजुभाइ, घरपरिवार, सन्तान, समस्या, विवाह, मृत्यु, भाग्य, कर्म, आम्दानी र खर्च हेर्ने गरिन्छ । यसमा पनि शुभ ग्रह बसेको र शुभ ग्रहले देखेको ठाउँलाई राम्रो र अशुभ ग्रह बसेको र अशुभ ग्रहले देखेको ठाउँलाई नराम्रो या कमजोर स्थान मानिन्छ ।
यसरी १२ भाव मध्ये ६, ८, १२ भावमा बसेका ग्रहहरुलाई कमजोर र १, ५, ९ भावमा बसेका ग्रहहरुलाई श्रेष्ठ मानिन्छ । श्रेष्ठ भावमा बसेका ग्रहको फल बलियो र अशुभ भावमा बसेका ग्रहको फल कमजोर मानिन्छ ।
कुण्डलीका १२ भावबाट शरिरका १२ अङ्गहरुको पनि विचार गरिन्छ । भावको राशि स्वामी, भाव स्थित राशि, भावलाई दृष्टि दिने ग्रहको आधारमा विभिन्न अङ्गका बनावट हरु हुने गर्दछन् । यसैका आधारमा मानिसको रुप रङ्ग पनि हुने गर्दछ भने सबै कुरा यसैमा मात्र निर्भर नभइ कतिपय कुराहरु चाहिँ बंशाणुगत पनि हुने गर्दछ अर्थात् परिस्थिति अनुसार फरक पनि पर्दछ । जस्तो कि दक्षिण अफ्रिकाको मानिस काला नै हुन्छन् र यूरोपका मानिसहरु गोरा नै हुन्छन ।
यसबाट के थाहा हुन आउँछ भने मानिसको कुण्डली अनुसार जीवन चले पनि, ठाउँ र परिस्थिति अनुसार केही फरक अवश्य नै पर्दछ । तसर्थ ज्योतिष शास्त्रमा फलादेशको कामलाई निकै नै कठिन मानिन्छ । भविष्यको फलादेश गर्नको लागि अध्ययन मात्र नभइ अनुभवको पनि निकै जरुरी पर्दछ ।
सामान्यतया शुभ ग्रह बृहस्पति र शुक्र भएता पनि पूर्णिमाको चन्द्रमा र शुभ ग्रह सँगको बुधलाई पनि शुभ ग्रह नै मानिन्छ । सुर्य, मंगल, शनि तथा राहु केतुलाई भने पाप ग्रह मानिन्छ । शुभग्रहको दशा समय शुभ र पाप ग्रहको दशा समय अशुभ हुने भएतापनि जन्मकुण्डलीको आधारमा कहिलेकाहीँ शुभ ग्रहले अशुभ फल र पाप ग्रहले शुभ फल पनि दिन सक्दछन् तसर्थ भविष्यको शुभाशुभ फलादेश गर्नको लागी चिना नै सटिक र सही हुने गर्दछ ।
कतिपया मानिसहरु आफ्नो चिना हेराएर नतिजा सही आएन भने ज्योतिष विद्यालाई नै दोष दिन्छन् तर चिना लेख्दा त्यो मानिस जन्मेको ठाउँ र समय सही लेखिएको छ भने मात्रै उसको चिना जीवनसंग मेल खान्छ । त्यसैले चिना मेल खाएन भन्दैमा पूरै विद्यालाई नै दोष दिने मात्रै नभएर आफ्नो चिना बनाउँदा टिपाएको जानकारी पो गलत थियो कि भन्नेबारे पनि बुझ्दा राम्रो हुन्छ ।
पहिले पहिले घडी हुँदैनथियो र मानिस जन्मेको सही समय निकाल्न सकिन्न थियो । त्यस्तो बेला अन्दाजी राखिएका जन्म समयका कारण पनि धेरै मानिसका चिना जीवनसंग मेल नखाएका प्रशस्त उदाहरणहरु हामी भेट्छौं ।










