आजकाल मानिसहरुले सञ्चारका साधनहरुमध्ये मोबाईललाई बढी भन्दा बढी प्रयोगमा ल्याएका छन् । घरका हरेक आमा बुवा, हजुरबुवा हजुरआमा, बच्चाहरु सबै जना मोबाईल लतमा जानी नजानी लागिरहेका हुन्छन् । यसरी परिवारमा बच्चाहरुको हातमा मोबाईल भएपछि उनीहरुले कसैले केही भनेको पनि सुन्दैनन् । कम्प्युटर, टीभी, भिडियो गेमले पनि बच्चालाई परिवारसँग टाढा बनाईराखेको छ ।
त्यसैले बच्चाहरुलाई यी कुराहरुबाट अलग राख्न एकदमै आवश्यक भएको देखिन्छ । समय समयमा तपाइँ आफ्नो बच्चाहरुको साथी बनेर उनीहरुलाई केही कुरामा भुलाउनुहोस् । आफ्नो बच्चालाई आफूसँग समय बिताउनको लागि प्रेरित गर्नुहोस् । यसका लागि तपाइँले विभिन्न कुरामा ध्यान राख्नुपर्ने हुन्छ । आफ्नो बच्चाको बारेमा केहि ध्यान राख्नु पर्ने कुराहरु यसप्रकार छन्।
गाली नगर्नुहोस् :
बच्चाहरुले जहिले पनि मोबाइल र कम्प्युटरको प्रयोग गरिरहेका हुन्छन्। यस्ता बच्चाहरुलाई हरेक कुरामा गाली खानुपर्न हुन्छ। तर उनीहरुलाई तपाइँले गर्नु भएको गाली मनपदैन् र झन् अझ बढी जिद्धि हुँदै जान्छन् । यस्तो अवस्थामा उनीहरुको लागि एउटा टाइमटेबल बनाउनुहोस् । जसमा कडा नियम मात्र नभई उनीहरुको इच्छालाई पनि ध्यान राख्नुहोस् । सम्भव भए तपाइँहरु पनि उनीसँग समय बिताउनु्होस् । यसो गर्दा उनीहरुलाई राम्रो महसुस हुनेछ । कुनै पनि बच्चाले आफू र आफ्नो अभिभावक देखी टाढा रहनु मन हुँदैन, त्यसैले जति सक्दो बच्चाहरुको लागि समय निकाल्ने गर्नुहोस्।
कथा, कहानी सुनाउनुहोस् :
बालबच्चाहरुलाई सधैँ मोबाइलमा मात्र कहानी हेर्न लगाउनु राम्रो होइन। कहिलेकाही उनीहरुलाई आफ्नो बाल्यकालको रोचक कहानी सुनाउनुहोस् । यसो गर्दा उनीहरु निकै खुशी हुन्छन् । उनीहरुलाई खेलकुद, शिक्षा, स्वास्थ्यसम्बन्धि विभिन्न कथा,कहानी, जोकहरु सुनाउनुहोस् । जसले गर्दा तपाइँहरुलाई उनीहरुसँग जोडीन पनि सहज हुन्छ र भावनात्मक सम्बन्ध पनि बिकसित हुन्छ ।
टाइमटेबल बनाउनुहोस् :
तपाइँहरु एउटा तालिका अपनाउनुहोस्, र यसलाई फलो गर्नुहोस् । बच्चाहरुको अगाडी तपाइँ पनि मोबाइलको प्रयोग नगर्नुहोस् । यसबाट बच्चाहरुपनि प्रभावित हुन्छन् र उनीहरुमा मोबाईल नचलाउने बानीको बिकास हुनेछ । साथै उनीहरु एक उत्कृष्ट जीवनशैली अपनाउन प्रेरित हुन्छन्। त्यसैले तपाइँ आफ्नो घरको वातावरण स्वस्थ राख्ने गर्नुहोस् ।
कुटेर होइन, माया देखाएर गाली गर्नुहोस् :
बच्चाहरुलाई कुटेर, उनीहरुको मानसिकतामा कहिले नकारात्मक असर पर्न दिनुहुँदैन । सकेसम्म उनीहरुलाई फकाएर, माया गरेर उनीहरुलाई पाठह सिकाउनु जरुरी हुन्छ । यदि बच्चाले सानातिनो गल्ती गर्दा हल्का फुल्का सजाय दिन सक्नुहुन्छ । यदी तपाइँहरुले बच्चालाई गाली गर्ने कुट्ने गर्नुभयो भने त्यसले बच्चाहरुमा नकारात्मक असर पर्दछ।
अलि अलि काम अह्राउने गर्नुहोस् :
बालबच्चाहरुलाई सधैँ पढाईमा मात्र नभई अन्य बाहिरी कुराहरु पनि सिकाउनुहोस् । उनीहरुलाई अलि अलि काम गने बानी पनि बिकसित गर्नुपर्दछ । उनीहरुलाई सामान्य व्यवहारिक कुराहरु जस्तै ; घर कुच्चो लगाउँने, लुगाहरु पट्ट्याउन लगाउने लगायतका हरेक कुराहरु सिकाउनुहोस् । जसबाट तपाइँलाई पनि उनीहरुबाट सानातिनो काममा सहयोग मिल्छ । यस्तो गर्नाले उनीहरुलाई पनि आफ्नो काम आफैँले गर्ने इच्छा पैदा हुन्छ भने उनीहरुले पछि गएर सफलता पनि पाउनेछन् ।
बच्चालाई सधै खुशी दिनुहोस् :
बच्चाहरुलाई घरमा शान्तिपूर्ण वातावरण रहन दिनुहोस् यसो गर्नाले उनीहरु खुशी हुन्छन् । घरमा यदि केहि तनाव छ भने पनि बच्चाहरुको अगाडी केहि प्रकट नगरौँ किनभने यसले बच्चाहरुको मानसिकतामा प्रत्यक्ष असर पर्न जान्छ । बच्चाहरुलाई तनावकोबाट बचाउनका लागि रमाइलो स्थानहरुतिर घुमाउन लैजानुहोस् । उनीहरुलाई मोबाइल दिनका साटो उनीहरुसँग टिभिमा फिल्म हेर्नुहोस् ।
बच्चाहरुलाई बेवास्ता नगर्नुहोस् :
बच्चाहरु असाध्यै जिज्ञासु स्वभावका हुन्छन् । उनीहरुले सोधेका हरेक प्रश्नहरुको जवाफ दिन पूरा कोसिस गर्नुहोस् । उनीहरुलाई बेवास्ता नगर्नुहोस्, यस्तोमा उनीहरु नराम्रो बानीको संगतमा पर्न सक्छन् । उनीहरुका हरेक कुराहरुमा ध्यान दिनुहोस् । यसो गर्नाले उनीहरुलाई आफ्नोपन महसुस हुनुका साथै उनीहरु खुशी पनि हुन्छन् र व्यवहारिक कुराहरुबारे जान्ने मौका पनि पाउनेछन् ।











