तनाव घटाउने चार शारीरिक व्यायाम यस्ता छन्

एजेन्सी। प्रत्येक व्यक्तिले दैनिक जीवनमा कुनै न कुनै तनाव भोगिरहेको हुन्छ । दैनिक कार्य गर्दा सामान्य तनाव झेल्नु मानव स्वभावभित्रकै विषय हुन् । तर, कहिलेकाहीँ सामान्यतया दैनिक जीवनमा आइपर्ने समस्या र तनावले शरीरमा गम्भीर असर पर्न पनि सक्छ ।

समयमै यस्ता तनाव व्यवस्थापन सकिएन भने मानसिक समस्याको कारक बन्न पनि सक्छ ।

दैनिक जीवनमा आइपर्ने तनाव व्यवस्थापन गर्ने केही शारीरिक व्यायामहरु यस्ता छन् :

रनिङ : एन्जाइटी व्यवस्थापनका लागि दौड महत्वपूर्ण हुन सक्छ । दौडको स्थान र प्रकृतिभन्दा पनि दैनिक दौडले एन्जाइटी व्यवस्थित गरिरहेको हुन्छ । सामान्यतया दौडँदा मुटुको चाल बढ्ने गर्छ । शरीरमा रक्तसञ्चार छिटोछिटो हुन्छ । जसले गर्दा तनावका कारण हुने एन्ड्रोफिन हर्मोनको मात्रा दिमागमा घट्दै जान्छ । फलस्वरूप तनावको स्तर पनि कम हुँदै जान्छ ।

मेडिटेसन : पछिल्लो समय तनाव व्यवस्थापनका लागि मेडिटेसन लोकप्रिय विधि बन्दै गएको छ । ध्यान परम्परागत व्यायामको सूचीमा नपरे पनि तनाव व्यवस्थापनका लागि प्रयोगमा आउन थालेको छ । सामान्यतया ध्यान गर्दा श्वासप्रश्वासमा केन्द्रित हुने हुँदा शरीरमा अक्सिजन र कार्बनडाइअक्साइडको गति नियन्त्रणमा आउँछ । जसले मस्तिष्कलाई शान्त गर्न मद्दत गरिरहेको हुन्छ । श्वासको माध्यमबाट भावनाहरू नियन्त्रित हुने हुँदा तानव, डर, चिन्ताजस्ता भावना क्रमशः नियन्त्रणमा आउँछन् ।

वेट लिफ्टिङ : गम्भीर खालका एन्जाइटी नियन्त्रणमा ल्याउनका लागि वेट लिफ्टिङ राम्रो माध्यम बन्न सक्ने विज्ञहरूको सुझाब छ । तनाव व्यवस्थित गर्नका लागि भारी सामान उठाउने वा सामानसँग काम गर्नुलाई थेरापीको रूपमा लिइन्छ । वेट लिफ्टिङका लागि बडी बिल्डिङ, कुनै ट्रेनिङ वा तौल घटाउन मात्रै प्रयोगमा ल्याउनुपर्छ भन्ने हुँदैन । वेट लिफ्टिङले शारीरिक, मानसिक र भावनात्मक रूपमा प्रभाव पार्ने हुँदा बिहानको समयमा नियमित गर्न सकिन्छ ।

खेल : एन्जाइटी व्यवस्थापनका लागि एक्सरसाइज, वर्कआउट, मेडिटेसनजस्ता क्रियाकलाप सुरुवातीका लागि झन्झटिलो हुन सक्छ । यसका लागि शारीरिक व्यायाममा सहयोग हुने खालका खेलहरू विकल्पको रूपमा लिन सकिन्छ । दैनिक सामान्य खेलहरूमा सहभागी हुँदा शरीर स्वस्थ रहन्छ, सामान्यतया शारीरिक परिश्रम हुने खालका खेलहरूले शरीर चलायमान रहन्छ । जसले मुटुदेखि लिएर मस्तिष्कसम्म सक्रिय पर्छ । शरीरका अंगहरू सक्रिय हुँदा तनावको तह पनि बिस्तारै कम हुँदै जान्छ । दैनिक ६० देखि ९० मिनेटसम्म विभिन्न खेलमा सहभागी हुँदा एन्जाइटी व्यवस्थित गर्न सकिन्छ ।

[sidebar name="button post"]