Ad #144479

नेपाल भित्रिँदा ‘डल्लो’ मम भित्रिए पनि करिब पाँच दशकको हाराहारीमा यसको रूप, आकार र रङमा निकै परिवर्तन आएको छ । ममको रूप, आकार, प्रकार, स्वाद र शैलीमा फरकपन आएको छ ।

पछिल्लो समय खाजा, नास्ताको संस्कारलाई हेर्दा ‘खाजा भनेकै म:म’ भए पनि म:मका प्रकारबारे भने धेरै ध्यान दिइएको हुँदैन थियो। समयक्रमसँगै म:ममा पनि निकै परिवर्तन आएको छ । यसका जानकारहरूले म:ममा थप नयाँपन ल्याउने क्रम सुरु गरेका छन् ।

म:मका प्रकारहरु

डल्लो म:म
यो परम्परागत र सदाबहार म:म हो । मैदाको पिठोमा किमा राखेर बफ्याएर बनाइने यो म:म देशका हरेक कुनामा पाइन्छ । हरेक होटेल, रेस्टुराँले प्रयोग गर्ने मसला र अचारका आधारमा यसको स्वादमा केही फरकपन हुनु स्वाभाविक हो ।

टिबेटियन मम
लाम्चो आकारमा पाइने यो म:म प्रायः होटेल, क्याफे, रेस्टुराँमा पाइन्छ । आम रूपमा खाइने म:म मध्ये यो पनि पर्छ । टिबेटको शैलीमा बनाइने यो मम बुट्टेदार हुन्छ । यो पनि स्टिम गरेर नै तयार पारिन्छ, जुन बजारमा जहाँतहीँ पाइन्छ ।

ओपन म:म
झट्ट हेर्दा फूलजस्तै देखिने ओपन म:म आँखाका लागि पनि आकर्षक हुन्छ । यसको बाहिरबाटै किमाको केही भाग देखिन्छ । ओपन म:मलाई हरियो खुर्सानी, बदाम र मम अचारसँग पस्किइने हुँदा यसमा स्वाद अझ थपिएको अनुभव हुन्छ । यस खाले मम पछिल्लो समय प्रचलनमा छ ।

पिज्जा म:म
स्टिम गरेको म:ममा पिज्जाको सस राखेर त्यसमाथिबाट चिज थपेर ओभनमा बेक गरिन्छ । यसरी तयार पारेको म:ममा पिज्जा र ममको ‘ककटेल’ स्वाद पाउन सकिन्छ ।

छोयला म:म
स्टिम म:मलाई छोयलाको ससमा पस्कने गरिन्छ। यसको साथ साथै मम तयार भएपछि त्यसलाई तन्दुरी भट्टीमा राम्ररी सेकाएर त्यसमा स्मोकी टेस्ट आउने गरी छोयलाजस्तै मोलेर पस्कने पनि गरिएको छ, जसको स्वाद छोयलाजस्तै हुने गर्छ ।

घी म:म
शुद्ध घिउमा मोलेर तयार पारिएको म:म नै घी म:म हो । यो घिउमा मोलेर स्टिम गरिन्छ । घी म:म खाँदा वासनादार र स्वादिलोमात्रै नभई स्वास्थ्यका लागि पनि लाभकारी मानिन्छ ।

गोलो म:म
स्टिम गरेर बनाइएको गोलो म:म बाँसको चोयाले बनाइएको बास्केटमा राखेर अचारसँगै हटससका साथ सर्भ गरिन्छ । यो सदाबहार पाइने म:म हो । पस्कने र मसलाको स्वादमा फरक परे पनि यस्तै खाले म:म आम रूपमा पाइने गर्छ।

चंगा म:म
बाजेको सेकुवामा पाइने चंगा म:म तीन कुना परेको बुट्टेदार शैलीमा बनाइएको हुन्छ । मसलामा बटर स्वाद पाइने यो म:ममा साल्ट पेपर र बटर प्रयोग गरिएको हुन्छ ।

सी म:म
सामान्य म:मलाई अलि स्पाइसी र ग्रेभी बनाएर सी म:म पस्किइन्छ । मसालेदार खाना रुचाउनेलाई यो म:म निकै मन पर्छ ।

झानेको म:म
तीनचोसे आर्थात् चंगा म:मलाई हिट गरेको सिजलर डिसमा राखेर त्यसमाथि किमाबाट बनाइएको सस खन्याएपछि यसमा धुवाँ आउँछ । वासनादार तात्तातो झानेको म:म पछिल्लो दिनमा रुचाउनेको संख्या बढेको छ ।

सुप म:म
सामान्य म:मसँग सुप पनि उपलब्ध गराइने म:म सुप म:म हो । यस्तो म:मसँग एउटा छुट्टै बल वा कचौरामा किमाबाटै बनाइएको सुप पनि दिइन्छ । जाडो सिजनका लागि सुप म:म निकै लाभकारी मानिएको छ । यो म:म सुप किमा र हड्डी जेसुकैबाट बनाउन सकिन्छ ।

झोल म:म
झोल म:मलाई टमाटरको अचारमा झोल बनाएर त्यसमा डुबाइन्छ । धनियाँ, गाँजर आदि मसिनो पारेर त्यसमा छर्किएपछि यसको स्वाद अझ उत्तम हुन्छ । यो पनि जाडोमा रुचाइएको म:म हो ।

फ्राई म:म
स्टिम गरेको म:मलाई तेल तताएर फ्राई गरिन्छ । यसरी फ्राई गरेको मम नरम हुन्छ । कडा खालको फ्राई म:म रुचाउनेका लागि तयार पारिएको काँचो म:मलाई स्टिम नगरी तेलमा मज्जाले फ्राई गरेर विभिन्न सस र अचारका साथ खान सकिन्छ।