समुदायको साथ र सहयोग नभए निजि क्षेत्रका विद्यालयहरुको अस्तित्व नै खतरामा पर्न सक्छ

  • 399
  •  
  •  
  •  
  •  
  •  
  •  
    399
    Shares

भविष्यका कर्णधार उत्पादन गर्ने महत्वपूर्ण क्षेत्र अहिले आफै थलिएको छ । कोभिड १९ को महामारीले शिक्षा क्षेत्रमा निक्कै असर गरेको छ । शिक्षा क्षेत्रलाई निरन्तरता दिन निजी क्षेत्रका विद्यालयहरुले अनलाइन कक्षा चलाइरहेका छन् । तर केहि विद्यालयले भने अनलाइन कक्षाका साथ साथै प्रविधिकै प्रयोगबाट विद्यार्थीहरुलाई तनाव व्यवस्थापन, योग, ध्यान तथा उत्प्रेरणा कार्यक्रममा पनि संलग्न गराइरहेका छन् ।

यसैमध्येको एउटा विद्यालय काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकाका वडा ५ मा रहेको मिनिल्याण्ड अंग्रेजी माध्यमिक विद्यालय पनि हो । विद्यालयका संस्थापक अध्यक्ष जयराम वाग्लेले कागेश्वरी खबरसँग कुराकानी गर्नुभएको छ ।

कोरोनापछि विद्यालय र विद्यार्थीमा कस्तो असर परेको छ ?

कोभिड १९ ले शिक्षा क्षेत्रमा पारेको असरबारे सबै जानकार हुनुहुन्छ । किनभने विद्यार्थी स्कुल जान पाएनन्, अभिभावकले पनि उस्तै तनाव झेल्नुपर्यो । विद्यालय अहिले पनि खुलाउन मुस्किल छ । दुरगामी असर परेको छ । प्रविधिको माध्यमबाट विद्यालयमा अनलाइन कक्षा, विभिन्न कार्यक्रम थालिएको छ ।

मुख्यगरी विद्यार्थीमा के कस्तो असर देखिन्छ ?

देशको सबैभन्दा महत्वपुर्ण क्षेत्र नै शिक्षा क्षेत्र हो । विद्यार्थी भविष्यका कर्णधार हुन् । तर महत्वपूर्ण क्षेत्र र कर्णधार नै अप्ठारो अवस्थामा छन् । साथीभाईसंग रमाउनु पर्ने, खुला चौरमा खेलकुद गर्नुपर्ने, साना साना भाइबहिनीहरु घरमा थुिनएका छन् । विद्यालय गई विद्या आर्जन गर्नुपर्ने, गुरुवर्गहरुबाट नवीन कुराहरु सिक्नु पर्ने अनि समुहमा रहि समयोपयोगी सामाजिक र व्यवहारिक ज्ञान हासिल गर्नुपर्ने विद्यार्थी भाइबहिनीहरुमा तनाव र निराशता बढ्दै गएको छ ।

गएको छ महिना कसरी बित्यो ?

चैत्र ११ बाट सरकारले घोषणा गरेको लकडाउनको पालना गर्दै २०७६ साललाई व्यवस्थित रुपमा अन्त्य गरियो । एसईई भने स्थगित गरिएको थियो । महामारीको बढ्दो प्रकोपको कारण एसईई कहिले हुन्छ भन्ने टुङ्गो थिएन । त्यसैले विद्यार्थी भाइबहिनीको पढाइमा गडबडी नहोस् भनेर अनलाइन तयारी कक्षा शुरु गरियो । बैशाखको आधा आधीबाट अन्य कक्षाहरुको प्रविधिको माध्यमबाट पठनपाठन शुरु गरियो ।

यहि बेलामा मिनिल्याण्ड स्कुलको फेसबुक पेजमा बिद्यार्थी र शिक्षकवर्गकै सकृयतामा चेतनामुलक चित्रकला, पोस्टर, भिडियो, आदिलाई स्थान दिई कोरोना भाइरसबाट कसरी सुरक्षित रहन सकिन्छ भनेर चेतना फैलाउने कार्यहरु भए । प्रविधिको माध्यमबाटै बिभिन्न क्षेत्रका अतिथिहरुलाई संलग्न गराई तनाव व्यवस्थापन, योग, ध्यान तथा उत्प्रेरणा कार्यक्रम पनि आयोजना गरियो । छोटकरीमा भन्नुपर्दा हामी आजसम्म पनि प्रविधिको माध्यममा अति नै व्यस्त र सक्रिय छौँ ।

अहिले संचालन भैरहेका अनलाइन कक्षाको प्रभावकारीता बारे के भन्नुहुन्छ ?

महामारीको प्रकोप बढ्दै गएसंगै लकडाउन थपिए पश्चात् शैक्षिक सत्रलाई निरन्तरता दिन शिक्षामा वैकल्पिक बाटो रोज्नु पर्ने देखियो । वैकल्पिक बाटोको रुपमा प्रविधिलाई आत्मसात गर्दै अघि बढ्नु नै एक मात्र विकल्प थियो र अहिले पनि त्यहि नै उपयुक्त देखियो । बैशाखबाट सुरु भएका कक्षा भाद्र १ देखि भने हामीले सक्रिय रुपमा सम्पुर्ण विषय समेटिने हिसाबले व्यवस्थित रुपमा अनलाइन कक्षा चलाइरहेका छौँ । शिक्षा मन्त्रालयले वैकल्पिक शिक्षा प्रणलीलाई पनि औपचारीकता दिने निर्णय गरे पस्चात अनलाइन कक्षामा विद्यार्थीको संख्या उल्लेख्य रुपमा बढेको छ ।

सरकारको तर्फबाट के कस्ता सहयोग भएका छन् ?

म मिनिल्याण्ड अंग्रेजी माध्यमिक विद्यालयको संस्थापक अध्यक्षका रुपमा भन्नुपर्दा सरकारले खास सहयोग गरेको छैन । तर लकडाउन भए यता केहि हदसम्म भएपनि निजि क्षेत्रले थालेको बैकल्पिक माध्यमको सिकाइले नै शिक्षा क्षेत्र अडेको छ । शिक्षा क्षेत्रमा यति सम्म योगदान दिने संस्थागत विद्यालयहरुको हकमा सरकारले हालसम्म आर्थिक व्यवस्थापनमा कुनै पनि किसिमको सहयोग गरेको छैन ।

निजी क्षेत्रका संस्थागत विद्यालयहरुको हकमा, तपाईंको सरकार प्रति कस्ता अपेक्षा छन् ?

नेपाल सरकारले कुनै पनि सरसहयोगको आश्वासन दिएको छैन । कतिपय निजी क्षेत्रका विद्यालयहरु बैंक ऋण र घर भाडा सम्म तिर्न नसक्ने अवस्थामा छन् । कुनै पनि विद्यालयले शिक्षकहरुलाई तलब सुबिधा प्रदान गर्न नसकेको अवस्था सृजना भएको छ । मेरो अपेक्षा भनेको सरकारले निजी क्षेत्रका संस्थागत विद्यालयहरुको मर्का पनि मध्य नजर गरिदियोस्, विद्यालयहरुको हकमा हितकारी निती बनाइदियोस्, सहुलियत कर्जाको व्यवस्था गरिदियोस् भन्नेछ ।

अनलाइन कक्षाको विषयमा अभिभावकहरुको धारणा कस्तो छ ?

कोरोनाको महामारीको कारणले विद्यालयहरु बन्द भएको अवस्थामा वैकल्पिक माध्यमद्वारा हुने सिकाइलाई अभिभावकले सकारात्मक रुपमै लिनु भएको पाएको छु । तर कतिपय अभिभावकको यसमा पहुँच नभएकोले विद्यार्थीहरुको पठनपाठनमा समस्या परेको छ । इन्टरनेट जोड्नुपर्ने, मोबाइल ल्यापटपमा पैसा खर्च गर्नुपर्ने जस्ता कारणले अभिभावकलाई थप समस्या परेको पनि पाएको छु ।

तर केहि बिद्यार्थीहरु र अभिभावकहरु हामीले संचालन गरेको अनलाइन कक्षाबाट धेरै नै प्रभावित हुनुहुन्छ । प्रविधिको प्रयोगद्वारा घरबाटै नै सिकाई सम्भव हुँदो रहेछ भन्ने मानसिकताको विकास भएको छ । यो लकडाउन विद्यार्थीहरुको लागि प्रविधि सिक्ने एउटा अवसरको रुपमा पनि केहि अभिभावकले लिनुभएको छ । आफ्नो कक्षाका दौंतरीहरु र शिक्षकशिक्षिकाबाट छुट्टिएका भाइबहिनीहरू अनलाइन कक्षामा भेटघाट गर्न पाउँदा निकै नै हर्षित छन् । उनीहरुमा निराशा दुर भएको छ ।

अनलाइन कक्षाको शुल्क कसरी लिनुभएको छ ?

हाम्रो विद्यालयमा बैसाखदेखि नै अनलाइन कक्षा सुरु भएको हो । अनलाइन कक्षालाइ पनि औपचारिकता दिने भन्ने कुरा आइसके पश्चात भाद्र १ देखि सबै बिषय समेटिने हिसाबले व्यवस्थित तरिकाले कक्षालाइ निरन्तरता दिएका छौं । कागेश्वरी मनोहरा नगरपालिकाले अनलाइन कक्षाको शुल्क लिन पाउने निर्णय गरेपश्चात् हामीले भाद्र महिनादेखि मासिक शुल्कको ५० प्रतिशत मात्र शुल्क लिने निर्णय गरेका छौँ । यति बेला हामी शिक्षण पेशाकर्मीहरु एकदमै मारमा छौँ । हामीले निर्धारण गरेको शुल्कले हामी शिक्षणकर्मीहरुको बिहान बेलुकाको हातमुख जोर्नको लागि पनि पर्याप्त हुन्न ।

अभिभावकवर्गलाई के भन्नुहुन्छ ?

पहिलो त कोरोना महामारीबाट सबै जोगिनु पर्छ । यस महामारीको समयमा हामी सबैले ‘बाँचौ र बचाऔँ’ भन्ने मर्मलाई ख्याल गर्नुपर्छ । हामी शिक्षक–शिक्षिकाहरुको घरमा पनि चुलो बल्नु पर्दछ । त्यसैले २०७६ का तिर्न बाँकी रकम छन् भने सम्भव भएसम्म चुक्ता गर्न र सबै विद्यार्थीहरुलाई अनलाइन कक्षामा सामेल गराई सिकाइलाई निरन्तरता दिन सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।

समुदायको साथ र सहयोग नभए निजि क्षेत्रका विद्यालयहरुको अस्तित्व नै खतरामा पर्न सक्छ । त्यसैले मुलुकको शैक्षिक क्षेत्रको ३० प्रतिशत हिस्सा ओगटेको निजी शैक्षिक संस्थाहरुलाई जोगाउन सबैको साथ र सहयोगको अपेक्षा गर्छु । र अन्त्यमा मिनिल्याण्ड स्कुल कागेश्वरी मनोहरा नगरपालिकाको शिक्षा क्षेत्र विकासका लागि दत्तचित्त छ । हाम्रो विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरु आ आफ्नो क्षेत्रमा सफल छन् । अभिभावक, शिक्षाप्रेमी र शुभचिन्तकबाट पनि साथ र सहयोग मिल्नेछ भन्ने अपेक्षा छ ।


  • 399
  •  
  •  
  •  
  •  
  •  
  •  
    399
    Shares