सबैलाई खुसी बनाउन सकेका छैनौं होला तर आशा गरौँ , धेरै वडाबासी हाम्रा कामप्रति खुसी हुनुहुन्छ

  • 46
  •  
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares

रमिता दंगाल

वडाध्यक्षसँग कागेश्वरीखबरको यो अन्तिम श्रृङखला हो । तर जनप्रतिनिधिलाई खबरदारी गर्ने, नागरिकलाई वडा तथा पालिकाबाट भैरहेका कामबारे सुसूचित गर्ने, उत्तरदायित्व, पारदर्शिता तथा जवाफदेहिता कायम गर्ने हाम्रो अभियान निरन्तर चल्नेछ ।

यो अन्तिम श्रृङखलामा वडा ९ का अध्यक्ष कुन्दन खड्कासँग कागेश्वरी खबरका सहकर्मी रमिता दंगालले गर्नुभएको कुराकानी ।

नागरिकसँग सबैभन्दा निकटमा हुनुहुन्छ, वडाबाट मुख्यगरी कस्ता सेवा प्रवाह गर्नुहुन्छ ?

नागरिकले वडाबाट पाउने मुख्य सेवा त प्रशासनिक काम अन्र्तगतकै सेवा हो । धेरै जसो सिफारिसका कामहरु हुन्छन् । जन्म, मृत्यु जस्ता घटना दर्ता, सामाजिक सुरक्षा अन्र्तगतका सेवाहरु छन् । नागरिकका गुनासा, समस्या, सल्लाह, सुझाव पनि आउँछन् । हामीले अप्ठारोमा परेका नागरिकलाई सहयोग गर्छौ ।

अहिले मुख्य गरी के कस्ता काम भैरहेका छन् ?

अहिले हामी सबै कोरोना महामारीको संक्रमण, जोखिम, डर त्रासमा छौ । वडागत, क्षेत्रगत सिल, निषेधाज्ञा हुँदै आएको छ । कोरोना जोखिम उत्तिकै छ । वडाले सकेसम्म जोखिम न्यूनिकरणको प्रयास गरेको छ । पीसीआर परिक्षण, विदेशबाट फर्कनेको तथ्याङक संकलन, उनीहरुको व्यवस्थापन लगाएतका काम दिनहुँ भैरहेको छ ।

वडामा कोरोना फैलिन नदिन ठोस कार्ययोजना बनाएर कार्यान्वयन भएको छ ?

हामीले कोरोना संक्रमण वडामा फैलिन नदिन नागरिकलाई सचेत बनाउने हो । विभिन्न कार्यक्रम मार्फत् जनचेतना फैलाउने हो र हामीले कार्यालयमा पनि मौखिक रुपमा भिडभाड नगरिदिनुहोस् भनिरहेका हुन्छौं । सूचना प्रवाह गर्ने हो, अरु त नागरिक आफैं पनि सचेत हुनुपर्छ ।

काठमाण्डौको मुटुमै रहेको कागेश्वरी मनोहरा नगरपालिका शिक्षित वर्गमा नै पर्छ । तैपनि सडकमा हिड्दा खुल्ला हिड्ने, मास्क नलगाउने, स्यानिटाइजर प्रयोग नगरेको पनि देखिन्छ । जबसम्म हामी सचेत हुदैनौ तबसम्म कोरोनाको संक्रमण फैलिँदै जान्छ । नागरिक आफुले नै बुझ्नुपर्छ, नत्र त हामीले मात्र गरेर केहि हुन्न ।

कोरोनाको नियन्त्रण र रोकथामको प्रयास सँगसँगै विकास निर्माणको काम नि ?

कोरोना विरुद्धका अभियान सँगसँगै हामीले विकास निर्माणको काम पनि रोकेका छैनौँ । सडक तथा पूर्वाधारका क्षेत्रमा काम निरन्तर हुँदै आएको छ । अहिले वर्खायाम भएकाले अलिअलि असर परेको छ ।

विकास निर्माणमा मुख्य प्राथमिकताचाहीँ ?

हाल सडक र खानेपानी नै हाम्रो मुख्य प्राथमिकता हो । त्यसपछि सरसफाई, सुरक्षालाई पनि ध्यानमा राखेका छौँ ।

तीन वर्षका मुख्य उपलब्धी के भएका छन्, १, २, ३ बुँदागत रुपमा ?

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ साबिक गोठाटार वडा ८ र ९ मा पर्छ । हामी जनप्रतिनिधि भएर आउँदा यस वडा भित्र सबै ठाउँमा सडकको अवस्था दयनिय थियो । सडकका खाल्डा खुल्डी देखि लिएर मानिसहरुलाई आवतजावत गर्न पनि निकै कठिनाई थियो ।

पहिलो काम पक्की सडक निर्माणको लागि जोडबल गर्यौ । गोरेटो बाटोहरुमा पनि ब्लक बिच्छाउने कामहरु गरिरहेका छौँ । केहि सडकहरु टेन्डर भैसकेका छन् । हाम्रो कार्यकालभित्र सबै सडक पक्की बनाउन भनेर लागिरहेका छौँ । ९० प्रतिशत चाहिँ सफल हुन्छौँ, १० प्रतिशत केहि सडक चाहिँ बाँकि पनि हुन सक्छन् । सत् प्रतिशत नै सकिन्छ भन्न सक्दिन ।

दोस्रो काम भनेको खानेपानीको व्यवस्थापन हो । सनसिटी अपार्टमेन्ट भन्दा बाहिर ३०० घर धुरीलाई भैमाल खानेपानी उपभोक्ता अन्तर्गत खानेपानी वितरण भइरहेको छ । काँडाघारी खानेपानी आयोजना अन्तर्गत खानेपानी ट्यांकी निर्माण भएको छ । हाम्रो कार्यकाल भित्रमा पानी पिउन सकिन्छ कि भनेर लागिपरेका छौँ ।

त्यसैगरी स्वास्थ्य चौकी थिएन । वडाको एउटा कोठामा सिमित भएर सेवा दिंदै आएका थिए । हामी निर्वाचित भएर आएपछि स्वास्थ्य चौकी भवन निर्माणपछि संचालनमा आइसकेको अबस्था छ । बर्थिंग सेन्टर पनि संचालन गर्न गइरहेको छौँ । कोरोनाको कारणले गर्दा केहि ढिलो भइरहेको छ ।

त्यसैगरी शिक्षा सुधारको लागि पनि अगाडी बढिरहेका छौँ । सामुदायिक विद्यालय र निजी विद्यालयहरु ब्यबस्थापन गर्न तिर लागिरहेका छौँ ।

जनप्रतिनिधि हुँदा र नहुँदामा पक्कै फरक परेको छ, जनअपेक्षा, जनभावना के छ ?

जनप्रतिनिधि भनेको जनभावना बुझेर अगाडी बढ्ने हो । जनताको भावनालाई कुल्चेर त अगाडी बढ्न नै सकिदैन । जनअपेक्षा धेरै छन् । अहिले सबै भन्दा बढी माग खानेपानी र सडक नै हो । त्यसैगरी वातावरण कै कुरा आउँछन् । विकास र पूर्वाधार, सेवा प्रवाहको गुनासो त निरन्तर रहन्छ ।

नागरिकका गुनासो कत्तिको आउँछन् ?

नगरपालिका बनेको तीन वर्ष भएको छ । पहिला ६ वटा गाविस मिलेर एउटा नगरपालिका हुन्थ्यो, तर २०७४ सालमा नगरपालिका बनेपछि ९ वटा वडा कायम भयो । गाविस हुँदा त्यति धेरै कर लिने परिपाटी थिएन तर पछि राज्यले अधिकार पनि दिएको छ, कुनमा कति कर तिर्ने भनेर छुट्टाइएको छ ।

हिजोका दिनहरुमा करको गुनासो बढी आउँथ्यो, विरोध पनि हुन्थ्यो तर अहिले करको उचित प्रयोग भएकाले खासै गुनासो आउँदैन ।

विकास निर्माणको कामहरुमा जनसहयोग कत्तिको छ ?

जनता नै नलागे त काम नै हुँदैन । जनप्रतिनिधिको काम नै सेवा सहजिकरण गर्ने हो । वडा, टोल भेला नै गरेर रकम विनियोजित गर्छौं । कहाँ कहाँ आवश्यकता छ, उँहाहरुले नै माग गर्नुहुन्छ । जुन टोलको लागि बजेट छुट्टियो त्यहि टोल सुधार समिति मार्फत काम हुने हो ।

कालो पत्र हेब्भी इकुप्मेंट प्रयोग गर्ने खालका कामको लागि चाँही टेन्डर नै गराउन पर्ने हुन्छ । त्यसको लागि चाँही वडाले सिफारिस गरेर नगरपालिकामा पठाउँछ ।

वडामा खेलकुद विकासको लागि प्रयास भएको देखिएन नि ?

खेलकुद क्षेत्रका लागि पनि हामीले बजेट विनियोजन गर्छौ । वडाकै लागि भनेर अघिल्लो वर्षमा फुटबल टुर्नामेन्ट गर्ने कामहरु भएका थिए । हामीसँग सार्वजनिक जग्गाहरु कम भएकाले वडामा खेलकुदको लागि क्लब बनाउने योजना छैन ।

पार्क भिरालो जमिनमा पनि बनाउन मिल्ने भएकाले हामीले निर्माण गर्न सक्ने भनेको पार्कहरु मात्र हो । केहि पार्कहरु निर्माण पनि भइसकेका छन् । खेल्नको लागि चाँही जग्गा छैन र पेप्सी प्लानिङ्गमा गएर खेल्ने गर्छन् ।

अन्त्यमा के भन्नुहुन्छ ?

वडाका धेरैजसो गतिविधिबारे जानकारी गराउन पाएकोमा तपाईंलाई धन्यवाद । वडाभित्र पुराना संस्कृतिहरुलाई जगेर्ना गर्ने, भुकम्पले भत्काएको मठ मन्दिर बनाउने, पुननिर्माणका काम भैरहेका छन् । वडाबासीलाई सकेसम्म सेवा प्रवाह गर्ने जिम्मेवारीमा हामी प्रतिवद्ध छौ ।

सबैलाई खुसी बनाउन सकेका छैनौं होला तर आशा गरौ, धेरै वडाबासी हाम्रा कामप्रति खुसी हुनुहुन्छ ।


  • 46
  •  
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares