काठमाण्डौ जिल्लामा स्वास्थ्य बीमा गर्ने स्थानीय तह मध्ये कागेश्वरी मनोहरा नगरपालिका पहिलो

१४ असोज, काठमाण्डौ। काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकाले नगरबासीहरुको स्वास्थ्य बीमा गर्ने भएको छ ।नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको ७८ औं बैठकले नगरवासीहरुको स्वास्थ्य वीमा गर्ने निर्णय गरेको हो ।

काठमाण्डौ जिल्लामा स्वास्थ्य बीमा गर्ने स्थानीय तह मध्ये कागेश्वरी मनोहरा नगरपालिका पहिलो नगरपालिका बनेको छ । स्वास्थ्य वीमा कार्यक्रम लागु गर्ने सम्बन्धमा नगर कार्यपालिका बैठकमा बिस्तृत रुपमा छलफल भई लागु गर्ने निर्णय गरिएको नगर प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो ।

बैठकमा स्वास्थ्य बीमा बोर्डका हिरा रेग्मी र सृजना पौडेलले स्वास्थ्य वीमा कार्यक्रमको सम्बन्धमा नगर कार्यपालिका सदस्यहरुलाई जानकारी गराउनुभएको थियो ।

नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य वीमा सम्बन्धी तालिम दिएपछी स्वास्थ्य वीमा कार्यक्रम वडास्तरबाटै लागु गरिने स्वास्थ्य सह संयोजक लक्ष्मी कोइरालाले जानकारी दिनुभयो ।

कागेश्वरी मनोहरा नगरबासीले पहिलो चरणको स्वास्थ्य बीमा अन्तर्गत स्वास्थ्य सेवा मुलपानी नगर अस्पतालबाट लिनुपर्नेछ भने विशेषज्ञ सेवाको लागि मुलपानी नगर अस्पतालले केन्द्रीय अस्पताललाई प्रेषण गर्नुपर्नेछ । शुरुमा मुलपानी नगर अस्पतालबाट स्वास्थ्य वीमा कार्यक्रमको शुभारम्भ गरिने छ ।

बैठकमा उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा, प्रमुख प्रशासकीय अधिकृत गिरीराज ज्ञवाली, नगर प्रवक्ता राजाराम पुडासैनी लगायत नगर कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको स्वास्थ्य सह संयोजक लक्ष्मी कोइरालाले जानकारी दिनुभयो।