लघु उद्यम विकास कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा नगर प्रमुख थापाको जोड

२८ श्रावण, काठमाण्डौ। कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले लघु उद्यम विकास कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । गरिबी निवारणमा लघु उद्यम विकास कार्यक्रमको महत्वपूर्ण भूमिका रहेको बताउँदै नगर प्रमुख थापाले आफू सधैं लघु उद्यम विकास कार्यक्रमको पक्षमा रहेको बताउनुभएको थियो ।

नगर प्रमुख थापाले लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गत बर्ष तालिम लिएर उद्यमी बन्नेहरुलाई नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउंदै तालिमबाट सिकेको सिपलाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रमलाइ सम्बोधन गर्दै कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख बिन्दु पुडासैनी सिम्खडाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत १ नं. वडामा बाख्रापालन तालिम, २ नं.वडामा अचार बनाउने तालिम, ३ नं.वडामा च्याउखेती सम्बन्धी तालिम, ४ नं.वडामा च्याउखेती सम्बन्धी तालिम, ५ नं.वडामा आलु चिप्स बनाउने तालिम, ६ नं.वडामा च्याउखेती सम्बन्धी तालिम, ७ नं.वडामा स्यानिटाइजर बनाउने तालिम, ८ नं.वडामा साबुन बनाउने तालिम र ९ नं.वडामा पुष्पखेती सम्बन्धी तालिम दिइएको जानकारी दिनुभयो ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीराज ज्ञावली, वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु लगायत जनप्रतिनिधिहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो