कागेश्वरीमा विश्वकै ठुलो १९३२ केजीको कागको प्रतिमा जडान : मन्त्री फुयालसहितको टोलिद्वारा अनुगमन

२६ श्रावण, काठमाण्डौ। कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ गागलमा रहेको लोकतान्त्रिक शहिद उद्यानमा विश्वकै ठुलो दावी गरिएको १९३२ केजीको अस्टधातुको कागको प्रतिमा जडान गरिएको छ। सो कार्यको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रि रामेश्वर फुयाल सहितको टोलिले अनुगमन गरेको छ।

सोमबारमन्त्रि फुयाल सहित उपत्यका पर्यटन कार्यालय प्रमुख टंक प्रसाद भट्टराई, शहरी बिकास भबन निर्माण कार्यालय प्रमुख इ जनक लाल महर्जन पशुपति बिकास कोषका आर्किटेक्चर पुरुषोत्तम खतिवडा परामर्शदाता सिभिल इन्जिनियर पदम ओली कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेल, वडा सदस्य दलबहादुर तामाङ लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

लोकतान्त्रिक शहीद उद्यान गागल काग निर्माण समितिद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रि रामेश्वर फुयालले आगामी काग तिहारको दिन उद्घाटन गर्ने तयारी अनुरुप कार्य अघि बढेकोमा खुसि ब्यक्त गर्नुभएको थियो।

कागेश्वरी धामको शिरमा रहेको सो काग नेपालका लागि कल्पवृक्ष हुने बताउंदै मन्त्रि फुयालले अहिले सम्म अमेरिकाको मिनेसोटामा १३ सय किलोको काग को मुर्ति रहेको र कागेश्वरीमा अहिले जडान भएको प्रतिमाले विस्वकै ठुलो हुने भएकोले सबैको ध्यान खिच्न सक्ने गरी प्रवर्धन गर्नका लागि अपिल समेत गर्नुभएको छ । मन्त्रि फुयालको आव्हानमा सुन,चांदी ,तामा ,पित्तल,फलाम लगायतका ९ सय केजी कवाड संकलन गरेर १९३२ केजीको काग निर्माण गरिएको हो।

उक्त कार्यक्रममा बोल्दै कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेल गागलको उक्त स्थानको प्रवर्द्धनमा कागको प्रतिमाले ठुलो भूमिका खेल्ने बताउनु भएको थियो । उहाँले पर्यटकीय गतिबिधि बढ्दा स्थानीयको आय स्तरमा समेत बृद्दि हुने बताउंदै गागललाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो।