शैक्षिक क्षेत्रमा अल्पाइन एकाडेमीको २५ वर्ष : शहर केन्द्रित शिक्षाको रहर पुरा गर्ने एक अब्बल विद्यालय

  • 196
  •  
  •  
  •  
  •  
  •  
  •  
    196
    Shares

रमिता दंगाल

झण्डै २५ वर्ष अगाडि काठमाण्डौकै डाँछी गाउँ मानिन्थ्यो । सहरको रहर पुरा गर्न राजधानीभित्रै पनि महानगरपालिका छिर्नुपर्थ्यो। डाँछीमा प्राइभेट स्कुलहरु थिएनन् । पढ्नको लागि सहर जानुपर्ने बाध्यता थियो । तर सहरभन्दा गाउँलाई शिक्षित बनाउनुपर्छ भनेर नयाँ गाउँमा प्राइभेट स्कुल खुल्यो ।

शिक्षा क्षेत्रमा अल्पाइन एकाडेमी

काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ४ डाँछीमा रहेको अल्पाइन एकाडेमी २०५४ साल फाल्गुन १५ गतेदेखि सुरु भएको हो । स्कुल स्थापना भएको वर्ष ५२ जना विद्यार्थीहरु थिए । अहिले लगभग ७ सय ५२ जना विद्यार्थीहरु छन् । स्कुल सुरु हुँदा प्ले ग्रुप थिएन त्यति बेला नर्सरीदेखि कक्षा ५ सम्म थियो ।

अहिले १० कक्षासम्म संचालन भैरहेको प्रधानाध्यापक अनन्तराम ढकाल बताउनुहुन्छ । विद्यालयले प्लस टु को लागि पनि स्वीकृति लिईसकेको छ । टाढाका विद्यार्थीको सहजताका लागि विद्यालयको २ वटा स्कुल बस र एउटा भ्यान छ ।

स्कुल सुरु गर्दा टिममा बिनोद त्रिपाठी, सिद्धार्थ पोखरेल, बद्रि भट्टराई र अनन्तराम ढकाल गरेर चार जना हुनुहुन्थ्यो । अहिले पनि केहि एक/दुई जना अरु थपिनु भएको छ ।

विद्यालयको क्षेत्रफल

स्कुल सुरु गर्दा भद्रबास नयाँ गाउँमा सुरु गरिएको थियो । त्यतिबेला साढे दुई रोपनी जग्गामा ८ कोठाको बिल्डिंग प्लस टहरा थियो । त्यसपछि त्यतिले नपुगेर ब्रम्हखेल नयाँपाटिमा आएर साढे ५ रोपनी जग्गामा एउटा बिल्डिंगसहित भुकम्प प्रतिरोधात्मक घर बनाएको प्रधानाध्यापक ढकालले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘अहिले फेरी बच्चाहरुको सुरक्षालाई ध्यानमा राखेर त्यहाँ भन्दा पछाडी जग्गा भाडामा लिएर प्ले ग्रुपदेखि कक्षा २ सम्म ११ रोपनी क्षेत्रफलमा छुट्टै र ३ कक्षादेखि १० सम्म छुट्टै साढे पाँच रोपनी जग्गामा गरेर दुई वटा ब्लकमा पढाइ भैरहेको छ ।’

शिक्षक संख्या

अल्पाइन एकाडेमीमा शिक्षक/शिक्षिका गरी ४५ जना हुनुहुन्छ । साथै पार्ट टाइम अरु ७ जना हुनुहुन्छ । शिक्षक÷शिक्षिका सबै गरेर ७२ जना कर्मचारी रहेको विद्यालयले जनाएको छ । ‘त्यतिबेला प्राइभेट स्कुलहरु नै थिएन । पढ्नको लागि सहर जानुपर्ने थियो । गाउँमा प्राइभेट स्कुल खुलेका थिएनन् । सुरुमा चाबहिल महांकालमा घर खोजेर लगभग सुरु गर्ने मनसाय बनाइसकेका थियौं ।

सहरभन्दा गाउँलाई शिक्षित बनाउनुपर्छ भनेर नयाँ गाउँ जहाँ अभिभावकले बालबच्चा स्कुल नै पठाउँदैन थिए त्यहाँ विद्यालय खोल्यौ । प्रधानाध्यापक ढकालले भन्नुभयो ।

विद्यालय राम्रो हुन आवश्यक गुण

एउटा विद्यालय राम्रो हुन विद्यालयको वातावरण बालमैत्री हुनुपर्छ । शिक्षकहरुसँग आत्मियता आवश्यक छ । शिक्षकहरुको विद्यालय तथा बच्चाहरुप्रति लगाव हुनपर्छ । शिक्षकहरु १० बजे आउने र चार बजे घरतिर लाग्ने गरेर मात्रै विद्यालय चल्दैन । मेरो मात्र होइन, कुनैपनि विद्यालय राम्रो हुनका लागि पालेदेखि लिएर प्रिन्सिपल, शिक्षक सबैको एउटै भावना भयो भने मात्र विद्यालय राम्रो हुने प्रधानध्यापक ढकाल बताउनुहुन्छ ।

उहाँको भनाई छ,‘वरीपरिको छिमेकी स्कुलहरुले आफ्नो भन्दा छिमेकी स्कुलको बिरोध गरिरहेका हुन्छन् । सबैले आफ्नो विद्यालय राम्रो बनाउन सक्दो प्रयास गरिरहेका हुन्छन् र हुन्छौं । स्कुलको मुल्यांकन चाहिं अभिभावकले र शिक्षामा सरोकार राख्नेले गर्ने हो ।’

विद्यालयले दिदै आएका सुविधा

प्रधानाध्यापक ढकालका अनुसार पढाइमा मात्र केन्द्रित गरेर विद्यार्थीहरुको भविष्य बन्दैन । अहिले विद्यार्थीहरुले आफ्नो प्रतिभा देखाउन सके जुनसुकै क्षेत्रमा बाँच्न सक्ने स्थिति छ । हाम्रो विद्यालयमा गायनको लागि दुई जना गायनकै शिक्षक हुनुहुन्छ, म्यूजिकको लागि दुई जना म्यूजिक शिक्षक हुनुहुन्छ, योगलाई योगा शिक्षक हुनुहुन्छ । त्यसै गरी स्पोट्र्सका स्पोट्र्स शिक्षक हुनुहुन्छ । स्काउट्सका क्लासहरु छन् ।’

अहिले काठमाण्डौका राम्रा विद्यालयहरुले जुन किसिमको अतिरिक्त क्रियाकलापहरु गराएको छ, त्यो सबै सुविधा हाम्रो विद्यालयमा प्राप्त छ । हाम्रो लगभग १६/१७ रोपनीको कम्पाउण्ड छ । यसले गर्दा विद्यार्थीहरुलाई इन्डोर नै खेलाउन सक्छौं ।

पढाउने मात्र कुरा भन्दा पनि शिक्षकहरु बीच भाइचाराको सम्बन्ध छ । एक अर्कामा सहयोग गर्ने परिपाटि छ, नजानेको कुरा सोध्ने परिपाटी छ । मेरो विद्यालयको मुल्यांकन म आफूले गर्ने होइन ।’ उहाँले कागेश्वरी खबरसंगको कुराकानीमा भन्नुभयो ।

लामो समय लकडाउन भयो । लकडाउनको समयमा शिक्षकहरुलाई कहिल्यै पनि अभाव हुने गरी निराश बन्न नदिएको पनि उहाँ बताउनुहुन्छ । दशैंको समयमा पनि उहाँहरुको पेश्की सहित उहाँहरुलाई खुसि परेको प्रध्यानाध्यापक ढकालको भनाई छ ।

विद्यालयको पूर्वाधार र क्षमता भुकम्प प्रतिरोधात्मक र सुरक्षित छ । अहिले बनेको कोठाहरु १८/२४, एउटा छिर्ने, एउटा निस्किने ढोका रहेको छ । अहिले नेपाल सरकारलेप्रति विद्यार्थी कति स्क्यावर हुनुपर्छ भनेर मापदण्ड तोकेको छ । तोकिएको मापदण्ड भन्दा बढि छ, कम छैन उहाँले भन्नुभयो ।सामान्यतया नेपाल सरकारले जुन निर्धारण गरेको छ, त्यो भन्दा बढी फि कसैले लिन सक्ने कुरा नै भएन । लिनु पनि मिल्दैन त्यो सिधै गैर कानुनी भैहाल्यो ।

सरकारले १० प्रतिशत छात्रवृत्ति दिनुपर्छ भनेर मापदण्ड बनाएको छ । त्यसमा १० प्रतिशत होइन लगभग २० प्रतिशत छात्रवृत्ति छ । त्यसमा हामीले गरिब, जेहेन्दार, सहिद परिवारको बच्चाहरु, पढ्न मन भएका आर्थिक अवस्था नभएका, साथै हाम्रो वडामा जो दलित छन् उनीहरुलाई पढाउनुपर्छ भन्ने मानसिकता अनुसार ५० प्रतिशत डिस्काउन्टमा पढाइरहेको विद्यालयले जनाएको छ ।

फि पनि सरकारको मापदण्ड अनुसार लिने गरेको प्रध्यानाध्यापक ढकालले जानकारी दिनुभयो ।

विद्यालयमा विद्यार्थीको आकर्षण

जो अभिभावक गाउँ गएर उतै व्यवसाय सुरु गर्नुभयो, उहाँहरुको बच्चाहरु अझै स्कुल आएका छैनन् । अरु पहिलादेखि पढिरहेका विद्यार्थी आइरहेका उहाँले बताउनुभयो । अहिले पनि दैनिक ५/६ जना नयाँ विद्यार्थी आइरहेका उहाँले बताउनुभयो । ‘अल्पाइन स्कुल एउटा ब्रान्ड भैसकेको हुनाले पूर्वमेची देखि पश्चिम महाकालीसम्मका विद्यार्थी र अभिभावक अल्पाइन खोज्दै आएको र त्यहि क्षेत्रमा जग्गा किनेर बस्नु भएको उहाँको भनाई छ ।

अल्पाइन नै किन ?

प्रधानध्यापक ढकाल भन्नुहुन्छ,‘हामीले अहिलेसम्म विज्ञापन गरेका छैनौँ । उहाँहरु आउनु भयो भने हाम्रो यो/यो मापदण्ड छन्, यी मापदण्ड अनुसार तपाईंहरु रहनुपर्छ भन्छौं । इन्ट्रान्स परीक्षा लिन्छौं । इन्ट्रान्समा अब्बल भयो भने त्यो विद्यार्थीलाई हामीले स्कलरसिप दिएर भए पनि राख्छौं । किन कि जुन सुकै स्कुलले राम्रै विद्यार्थी राख्न चाहन्छ ।

स्कुलप्रति अभिभावकको लगाव

हरेक अतिरिक्त क्रियाकलाप छुट्टै डिपार्टमेन्ट छ । प्रसासन छुट्टै छ । सबै कुराको छुट्टै डिपार्टमेन्ट भएको हुनाले अभिभावकहरु आउनुहुन्छ अनि डिपार्टमेन्टमा जानुहुन्छ । उहाँहरुले सबै कुरा बुझिसकेपछि विकल्पमा अरु स्कुलहरु पनि छन् बुझेर आउनुस् है भन्ने गरेको प्रधानाध्यापक ढकाल बताउनुहुन्छ । ‘हाम्रै विद्यालयमा पढ्नुपर्छ, भर्ना गर्नुपर्छ भनेर हामीले दवाब दिंदैनौं । त्यस्तै कतिपय अविभावकहरु आज आउनुहुन्छ अर्को दिन अरु स्कुलहरु नि बुझेर हैन यहीं नै पढाउने भनेर नि आउनुहुन्छ ।’

वि सं २०६० सालदेखि आजसम्म १७ वटा एसएलसी ब्याज भैसके । ०६६ सालमा बोर्डमा आइसकेको विद्यालयमा २०६८ सालमा आश्विन बस्नेत ११/१२ मा पनि बोर्ड थर्डमा आउनुभयोे । पहिलो ब्याजको पहिलो विद्यार्थीले इन्जिनियरिंगमा बेलायतमा पीएचडी गरिसकेकी छन् । यो स्कुलमा पढेका बच्चाहरु लगभग समाजको सबै क्षेत्रमा छन् ।

चार्टर्ड एकाउन्टटेन्टदेखि डाक्टर, इन्जिनियर, पाइलट सबै क्षेत्रमा रहेको र युरोप, अमेरिका, अस्ट्रेलियामा पनि छन् । सरकारको अधिकृत पनि भएका छन् । सरकारी क्षेत्र सहित सुरक्षा निकायहरु आर्मी, पुलिसमा पनि छन् । त्यस्तै शिक्षक पनि भएका छन् ।

विद्यालयको पहिला र अहिले अवस्था

विद्यालय सुरु गर्दा स्रोत कहाँबाट जुटाउने चिन्तै चिन्ता थियो भने अहिले त्यो अवस्था छैन । अब अरुलाई सहयोग गर्न सकिने अवस्था आइसकेको विद्यालयका प्रधानाध्यापक ढकाल बताउनुहुन्छ । लकडाउन भयो, बैशाखको १६ गतेदेखि मेस्सेन्जरबाट क्लास सुरु गरे । त्यसपछि असारको दुई गतेदेखि जुमबाट क्लास सञ्चालन भयो । त्यसपछि फेरि साउन १ गतेदेखि माइक्रोसफ्ट टिमबाट क्लास सञ्चालन भयो ।

काठमाडौंमै टप २० मा पर्ने गरि व्यवस्थित गरेको विद्यालयको दाबी छ । विद्यार्थीहरुको सहभागिता पनि ६ सय भन्दा बढी थियो । नर्सरी, एल केजि हरुमा तुलनात्मक रुपमा कम सहभागिता थियो । प्रधानाध्यापक ढकाल भन्नुहुन्छ,‘अनलाइन क्लासको लागि शिक्षकहरुलाई धन्यवाद दिने शब्द नै छैन ।’

पढाई उत्कृष्ट बनाउन भुमिका

समय समयमा पुर्नताजगी तालिम दिन्छौं । विद्यालयमा वाईफाईको व्यवस्था छ । नजानेको कुरा गुगल गर्न सक्ने अवस्था पनि छ । विद्यार्थीलाई एक्टिभ बनाउन सक्ने र अब्बल शिक्षकहरुलाई थप प्रोत्साहन भत्ता पनि दिने भएकाले एक आपसमा उहाँहरु बिच नै प्रतिस्पर्धा हुन्छ ।

कागेश्वरी मनोहरा नगरपालिकाले बनाएको मापदण्ड अनुसार विद्यालय ‘ख’ श्रेणीमा पर्ने उहाँले बताउनुभयो । ‘ख’ श्रेणीको लागि नगरपालिकाको जुन मापदण्ड छ, त्यो भित्र रहेर हामिले काम गरेका छौं ।’

अभिभावकले बच्चाको पढाईमा जोड दिनुहुन्छ । यो स्वभाविक हो । अभिभावकहरुको गुनासो भनेकै आफ्नो बच्चाको चिन्ताले हो । जसले गर्दा अझ उत्साह र अब्बल काम गर्न प्रोत्साहन मिलेको विद्यालयका प्रधानाध्यापक ढकाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘ त्यसकारण पनि हामीले विद्यार्थीहरुलाई थप क्रियाशिल बनाउन सफल भएका छौं ।’

विद्यालयमा वडा र नगरपालिकाको सहयोग

अझै पनि सरकारको होस् वा स्थानीय सरकारको होस् अल्पाइनप्रती मात्र नभएर सबै प्राइभेट स्कुलप्रति सकारात्मक व्यवहार नरहेको उहाँ बताउनुहुन्छ । सकारात्मक भावना राखेर सरकारी र नीजि स्कुल मिलेर अगाडी बढने हो भने समग्र शैक्षिक प्रणाली थप सुद्धढ हुन्छ । अझ भन्नुपर्दा, एकआपसमा हिलो छाप्नु भन्दा पनि एक अर्काले हातेमालो गर्दै अगाडि बढ्यो भने समग्र शिक्षाको स्तर माथि उठ्छ ।

एउटा ब्यक्ति राम्रो भयो भने घर राम्रो हुन्छ । घर राम्रो भयो भने समाज राम्रो हुन्छ । समाज राम्रो भयो भने प्रदेश राम्रो हुन्छ । सबै प्रदेश राम्रो हुँदा समग्र देश नै राम्रो हुन्छ । म नभई हामी भनेर सबैले काम गर्नुपर्नेमा उहाँको जोड छ । प्रधानाध्यापक ढकाल भन्नुहुन्छ ‘कर्म गर फलको आश नगर’ भनेजस्तै फल आफैं मिल्छ । असारमा धान रोपेपछि मंसिरमा फल्छ तर त्यसको लागि मेहनत गर्नुपर्छ ।’


  • 196
  •  
  •  
  •  
  •  
  •  
  •  
    196
    Shares