४ पुस, एजेन्सी । टर्कीको गाजियनटेप प्रान्तमा रहेको एक नीजि लगानीको अस्पतालमा शनिबार आगलागी हुँदा त्यहाँ उपचाररत कम्तीमा नौ जनाको मृत्यु भएको टर्कीको स्वास्थ्य मन्त्री फारेटिन कोकाले बताएका छन्।
कोकाले शनिबार सम्प्रेषण गरेको ट्वीटर सन्देशमा अस्पतालमा रहेको अक्सिजनको मेसिन विस्फोट भई आगलागी शुरु भएको उल्लेख छ ।
गाजियनटेपको गभर्नर कार्यलयले यसअघि एक विज्ञप्ति जारी गरी निजी स्वामित्वमा रहेको सानी कोनुकुग्लु अस्पतालको सघन उपचार कक्ष (आइसीयू) मा भएको ग्यास विस्फोटका कारण नौ जनाको मृत्यु भएको र त्यहाँ रहेका अन्य ११ जना सामान्य घाइते भएका जानकारी गराएको थियो ।
घाइते सबैजनालाई उपचारका लागि अन्य अस्पतालमा पठाइएको तर आगलागीसम्बन्धी घटना नभएको प्रान्तीय अधिकारीले दावी गरेका थिए ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार अस्पतालको आईसीयूमा शनिबार विहान अक्सिजन उत्पादन गर्ने मेसिन पड्किँदा केही व्यक्तिको मृत्यु भएको र अन्य केही घाइते भएका साथै अस्पतालको अक्सिजन आपूर्ति प्रणाली प्रभावित भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त घटनापछि कोभिड-१९ उपचाररत अन्य १४ जनालाई अर्कै अस्पतालमा रिफर गरिएको छ। आगलागीलगत्तै प्रहरी र अग्निनियन्त्रक टीम घटनास्थलमा पुगेका थिए। टर्कीमा कोरोनाभाइरसका कारण बेड अकुपेन्सी ७४ प्रतिशत रहेको छ। शुक्रबार साँझसम्म टर्कीमा करिब १९ लाख ८० हजारमा कोरोना सङ्क्रमण देखिएको छ।












