समिता श्रेष्ठ
नृत्यकला प्रशिक्षक कल्पना राजचल शिखर छहारी कला केन्द्रको अध्यक्ष हुनुहुन्छ । उहाँ मदन भण्डारी फाउन्डेशन गोकर्णेश्वर नगर कमिटीको सचिव पनि हुनुहुन्छ । राजचल नृत्यकलासँगै सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ ।
राजचलको पारिवारीक अवस्था
राजचल २०३० सालमा भक्तपुरको व्यासी टोलमा जन्मनुभएको हो । उहाँको परिवारमा श्रीमान्, दुई छोरी र एक छोरा छन् । राजचलका बुबा पढे लेखेका र सरकारी जागीरे हुनुहुन्थ्यो । गाउँका सबैले उहाँलाई माया गर्थे । उहाँको स्वभाव बाल्यकालदेखि नै सबैसँग घुलमिल हुने थियो । उहाँलाई बाल्यकालमा केहि पनि अभाव भएन । स्वतन्त्रपुर्वक हुर्कनुभयो ।
हरेक मानिसमा बाल्यकालदेखि नै कुनै न कुनै प्रतिभा हुने गर्छ । राजचल बाल्यकालदेखि नै नाच्न असाध्यै मन पराउनुहुन्थ्यो । स्कुलमा पढ्दा पनि साथीहरूलाई नचाउने र आफू पनि नाच्ने उहाँको स्वभाव थियो । उहाँले आफ्नो प्रतिभा र क्षमता लुकाउनु भएन । राजचलले बिहे पछि पनि क्षमतालाई अगाडि बढाउनुभयो ।
अहिले नृत्यकला प्रशिक्षक हुनुहुन्छ । ‘जीवन सोंचे जस्तो नहुँने’ उहाँ भन्नुहुन्छ,‘नृत्यकला प्रशिक्षक नै हुन्छु वा बन्छु भनेर सोंच थिएन बरु टिचरसम्म हुन्छु भन्ने थियो ।’
शिक्षा, बिहे र नृत्य
राजचलले आफ्नो माध्यमिक शिक्षा २०४५ सालमा पुरा गर्नुभयो । उच्च माध्यमिक तहको दोस्रो वर्ष अध्ययन गर्ने क्रममा उहाँको बिहे भयो । उहाँ बिहेपछि सामाजिक कार्यमा अग्रसर हुने क्रममा २०५४ सालमा गोकर्णेश्वर वडा नम्बर ७ हालको ८ बाट जनप्रतिनिधि समेत हुनुभयो । जनप्रतिनिधि भएपछि घरबाट निस्कने अवसर पाउनुभयो । त्यसपछि नै उहाँले कार्यक्रममा जाँदा आफुमा भएको प्रतिभा देखाउने मौका पाउनुभयो ।
‘बिहे पछि बुहारी भएर आफ्ना मान्यजनको अगाडि नाच्न अप्ठ्यारो लाग्ने गर्थो ।’ उहाँ भन्नुहुन्छ,‘तिहारमा देउसी भैलोमा नाच्नको लागि बोलाउदा आउँदैन भनेर लुक्नुपर्ने अवस्था थियो । तर जब सामाजिक कार्यमा लाग्न थाले र जनप्रतिनिधि भएपछि समुहमा कार्यक्रमहरुमा नाच्न थाले । घरमा एक्लै हुँदा पनि गित बज्दा नाच्नु सुरु गरे । मेरो श्रीमान्ले मेरो नृत्यकला देख्नुभयो त्यसपछी सहयोग गर्नुभयो । झन् झन् उत्साह बढ्यो ।’
सहयोग र प्रेरणा
‘मलाई यो सामाजिक काममा गोकर्णेश्वर ३ का माननीय कृष्ण राईले सहयोग गर्नुभयो । पढ्न प्रेरित गर्नुभयो । उहाँले दिएको उर्जा र श्रीमान्, घर परिवारको साथले गर्दा नृत्यकला बिषयमा आत्मबिश्वास बढ्यो । मेरो प्रतिभालाई हेरेर नृत्यकला प्रशिक्षकको रुपमा आफ्नो स्कुलमा कामको अफर दिनुहुने सुबास बदाल सर पनि प्रेरणाको स्रोत हुनुहुन्छ ।’
उहाँ भन्नुहुन्छ । मैले फेरि पढ्न थालें । नृत्यमा पनि श्रीमान साथ दिनुभयो । अहिले त्रिभुवन विश्व विद्यालयबाट नृत्यकलामा स्नातकोत्तर गर्दैछु । नृत्यकलामा स्नातकोत्तर गर्ने नेपाल कै पहिलो ब्याज मध्येको एकमा पर्छु । अहिले स्नातकोत्तर गर्ने २० जना छौँ । प्राक्टीकल र थेसिस कोरोनाको कारणले बाँकी नै छ ।’
यो नृत्यकला क्षेत्रमा लाग्न संघर्ष गरेको उहाँ बताउनुहुन्छ । २०५४ सालमा उहाँले घर वरीपरीका बच्चाहरुलाई घरमा बोलाएर बिना पारिश्रमिक नृत्य सिकाउने गर्नुहुन्थ्यो । अहिलेको जस्तो स्रोत साधन पनि थिएन । स्कुल पनि कम थियो । रिल क्यासेटको जमान थियो ।
तर अहिले नृत्यलाई त्रिभुवन विश्वविद्यालयले नै मान्यता दिएको छ । अहिले स्नातकोत्तरसम्मको अध्ययन नृत्यमा गर्न सकिन्छ । भोलिका दिनमा यो क्षेत्रमा लागेर भबिष्य निमार्ण गर्न चाहनेहरुको लागि सम्भावना धेरै नै छ ।
स्कुलमा नृत्यकलाको टिचर र कला केन्द्रको अध्यक्ष
राजचलले २०४४ सालमा गीता गुरुङसंग नृत्यकला सिक्नुभयो । त्यो बेला डान्स सिक्दा झ्याल ढोका थुनेर सिकाउने गरिन्थ्यो । म्युजिकलाई ढोकाबाट बाहिर जान पनि दिइन्नथ्यो । त्यति बेला एक सय रुपैयाँ तिरेर सिकेको उहाँ बताउनुहुन्छ । तर अहिले परिवर्तन भैसकेको छ । अहिलेका बच्चाहरुलाई निकै सजिलो छ । प्रविधिको पनि विकास भएका कारण मोबाइलबाटै डान्स सिक्न पनि सकिन्छ ।
शिखर छहारी सांस्कृतिक कला केन्द्रले आधुनिक, लोक, क्लासिकल, तथा हिपअप जस्ता विभिन्न डान्स सिकाउने गर्छ । केन्द्रको नारा नै ‘जो धेरै नाच्छ उ बढी बाँच्छ’ भन्ने रहेको उहाँ बताउनुहुन्छ । यो कला केन्द्रबाट गायिका मेलिना राई, मोडल पार्वती राई, छमछमीका पुर्न तामाङ, रबिता मगर जस्ता धेरै कलाकारले डान्स सिक्नुभएको हो । त्यस्तै इन्डियाको डान्स प्लस सिजन टु मा भाग लिनुहुने सुरेन राईले पनि यहि कला केन्द्रबाटै प्रशिक्षण लिनुभएको हो ।
‘यो कला केन्द्रबाट बिहान बिवाहित महिलाहरुको लागि जुम्बा, नृत्यको क्लास राखेका थियौं । कोरोनाको प्रभावले अहिले बन्द छ । छिट्टै नै फेरि क्लासहरु सुरु गर्ने छौँ। यो केन्द्रबाट नेपालमै पहिलो पटक बिबाहित महिलाहरुको लागि तिज नृत्य प्रतियोगिता राखेका थियौं । त्यसबाट पनि राम्रो प्रतिक्रिया पाएका थियौं । यो संस्थामा अहिले हामी १२/१३ जना डान्सरहरु छौँ । हामी सबै ५/६ वटा स्कुलहरुमा नृत्य निर्देशकको रुपमा काम गर्दैछौँ ।
स्वास्थका लागि नृत्य उपयुक्त औषधि
नृत्यले स्वस्थ रहन मद्दत गर्छ । प्रत्येक दिन बिहानको सुरुवात कम्तीमा २०/३० मिनेट नृत्य, वामअप गर्दा राम्रो हुन्छ । शास्त्रमा पनि गायन, बादन र नृत्य यो तीन वटा विधालाई संगीत भनेर लिने गरिन्छ । अनि यो प्रमाणित छ कि संगीतले मान्छेलाई स्वस्थ बनाउन मद्दत गर्छ ।
नृत्य निर्देशक र सामाजिक कार्यकर्ताको रुपमा सक्रिय राजचल भन्नुहुन्छ,‘मानवले सिर्जना गरेको ६४ वटा कला मध्येको अती उत्तम, उत्कृष्ट र सुन्दर कला नृत्य हो । यो जनचेतना फैलाउने सशक्त माध्यम पनि हो । साँस्कृतिक कार्यक्रम गरेर सामाजिक काम पनि हुँदै आएका छन् ।
अबका दिनहरूमा विवाहित महिलालाई लक्षित गरेर नृत्य सम्बन्धि अन्य काम गर्ने योजना छ ।’









