२४ वर्षका सुशान्त खेतीकिसानीमा ब्यस्त : ‘काममा रमाउन सके कमाउन सकिन्छ’

सरोज कार्की

काठमाण्डौको रामकोटका सुशान्त पुरी खेतीकिसानीमा ब्यस्त हुनुहुन्छ । सितापाईला, रामकोटमा उहाँले ५ रोपनी जग्गामा गोलभेडा, काउली, खुर्सानीसँगै गाईपालन पनि गर्नु भएको छ । आमा र बुवासँगै बसेर खेतीकिसानी गर्ने सुशान्त भर्खर २४ वर्षको हुनुभयो ।

सानैदेखिको रुची खेतीबाली

सुशान्त आफ्नो सानैदेखिको रुची खेतीबाली भएको बताउनुहुन्छ । ‘बुवा मोटरसाइकल, नयाँ लुगा चाहियोँ, घुम्न मन छ भन्ने यो उमेरमा म आफै मेहनत गर्दैछु’ उहाँ भन्नुहुन्छ,‘काममा रमाउन सके कमाउन सकिन्छ, म पसिनामा रमाउन सिक्दैछु ।’ उहाँ भन्नुहुन्छ,‘घरमा गोजी खर्च लिन भन्दा मैले कामको पैसाबाट बुवा/आमालाई ५० रुपैया दिन सक्दा मलाई बेग्लै खुसि लाग्छ । बुवा आफ्नै काममा ब्यस्त, आमा पनि खेतमा काम गरिरहनुभएको समयमा गएर सँग सँगै काम गर्न पाउँदा खुबै आनन्द आउँथ्यो सुशान्त बिगतको सम्झना गर्दै भन्नुहुन्छ ।

उहाँले कक्षा १० सम्म पढेपछि मोटर साइकलको सर्भिस सेन्टरमा केहि वर्ष काम गर्नुभयो । कामसंगै पढाईलाई पनि अगाडी बढाउनुभयो । साथै घरको खेत पनि बाँझो रहन दिनुभएन, पढाईको खर्च जुटाउनुभयो, लगाउने लुगाको आवश्यकता आफ्नै कमाईले किन्नुभयो । कक्षा १२ मा पुगेपछि उहाँले जागिर भन्दा पनि आफ्नै काम र खेतीकिसानीको काम अगाडि बढाउनुभयो ।

काम र कमाई

खेती र व्यवसाय सुरु गर्दा पहिला काम गरेर जम्मा गरेको २० हजार रुपैयाँ मात्रै बचत रहेको उहाँ बताउनुहुन्छ । त्यो पैसाले गोलभेडा खेति गर्न थाल्नुभयो । एउटा सानो टनेल र थोरै गोलभेडा लगाउनुभयो । खेतभरी गोलभेडा रोप्ने सपना त्यसबेला पुरा नभएपनि अहिले भने पुरा भएको छ ।

यसरी थोरै गोलभेडाबाट आएको पैसालाई जम्मा गरेर १ टनेलबाट २, २ बाट ३ गर्दै उहाँले १ रोपनी खेतिमा परिणत गर्नुभयो । अहिले सिजन अनुसार ५ रोपनी मध्ये डेढ रोपनीमा गोलभेडा र बाँकी रोपनीमा काउली, खुर्सानी, प्याज जस्ता तरकारी बालिको खेती भैरहेको छ । ‘बिहान पहिला पसलसम्म पुराउँछु र फेरी आएर गाईको दुध डेरीसम्म लैजान्छु र कलेज जान्छु । मेरो दैनिकी काम यही नै हो आजकल र म यसबाट सन्तुष्ट र खुसी छु ।’

उहाँ भन्नुहुन्छ,‘हाम्रो देश कृषि प्रधान भनेर चिनिन्छ तर कृषि भन्दा यहाँ खेतलाई फाडेर प्लटिङ्ग, कोलोनीमा परिणत गर्ने र डांडा–काँडालाई सम्मो बनाउने बेच्ने, घर बनाउने काम भएको मात्र देख्न सक्छौ । यस कारण म अहिले युवाहरुलाई केहि चेतना र खाडी मुलुक र विदेश जानु भन्दा आफ्नै देशमा केहि व्यवसाय गरेर आफ्नो देशको भलो सोचौं भन्ने चाहन्छु । अरुको देशबाट आएको आयातित रासायनिक खाद्यान्न खानु भन्दा आफ्नै देशको माटोलाई सहि सदुपयोग गरी अग्र्यानिक खानु निक्कै बेस हुन्छ ।’

युवालाई प्रेरणा

२४ वर्षको उमेर ठुलो व्यवसाय र विदेशको सपना नराखी खेतीबालीमा व्यस्त सुशान्त युवालाई प्रेरणा बन्नुभएको छ । ‘अहिलेका युवाहरु कृषिलाई नराम्रो नजरले हेर्छन् र हाम्रो समाजले पनि किसानहरुलाई तल्लो वर्गमा राख्छ तर कृषिको महत्व बुझौं र किसानलाई पनि सम्मानित नजरले हेरौं भन्न चाहन्छु ।’ ‘अरु व्यवसायमा जस्तै यसमा पनि राम्रो आम्दानी छ ।

म सरकारलाई पनि अनुरोध गर्न चाहन्छु, देशको माटो, हावा, पानी भनेको कृषि व्यवसायको लागि उचित छ । यसकारण किसान र कृषि व्यवसायमा पनि जोड गर्दिनु पर्छ । जसरी अहिले उखु किसानको पिडा छ र सरकारले चासो नै दिएको छैन यसकारण धेरै युवा र किसान आफ्नो देश छोडी खाडी मुलुकमा पसिना बगाउन बाध्य छन् ।’

[sidebar name="button post"]