प्रविणराज चालिसे
स्थानीय सरकारसँग समन्वय गरेर धेरै ठाउँमा विद्यालय पठनपाठन सुरु भैसकेका छन् । काठमाण्डौका विभिन्न नगरपालिकामा विद्यालयहरू खुलिसकेका छन् । गोकर्णेश्वर, कागेश्वरी मनोहरा, बुढानिलकण्ठ, तार्केश्वर लगायतका नगरपालिकाका धेरै विद्यालय खुलिसकेका छन् ।
स्थानिय सरकारको सहमतिमा विद्यालय खुल्न थाले पनि कोरोनाको सङक्रमण र जोखिमको डर भने कायमै छ ।
विद्यालय खुल्नुको कारण
नेपालको आधा कोरोना संक्रमित कठमाण्डौ उपत्यकामै छन् । धेरै विद्यालय र विद्यार्थी पनी यहि छन् । सबै पेशा व्यवसाय, उद्योग, यातायात क्षेत्र खुलिरहेको बेलामा विद्यालय बन्द थिए । धेरैले सोधे विद्यालय बाहेक अरु ठाउँमा कोरोना नलाग्ने हो र ?
शिक्षाको क्षेत्रमा केन्द्रिय सरकारको भुमिका हुन्छ । तर, केन्द्रिय सरकारले जिम्मेवारी पालिकालाई दिएको छ । पालिकाले संक्रमणको अवस्था हेरेर खोल्ने र बन्द गर्ने अधिकार पाएका छन् । लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी र अभिभावकलाई तनाव बढ्नु, शैक्षिक सत्र नै खेर जाने अवस्था देखिनुले पनि विद्यालय खुल्न थालेका हुन् ।
कोरोनामा विद्यालय सञ्चालन
सामाजिक दुरी कायम गरेर, स्थानिय सरकारसँग समन्वय गरी माक्स तथा स्यानिटाइजरको प्रयोग, कोरोनाको इन्सुरेन्स जस्ता कदम चालेर विद्यालय खोल्न सकिन्छ । महामारी कहिलेसम्म रहने हो कुनै टुङ्गो छैन । शैक्षिक सत्रको एक वर्ष हुन लागि सक्यो ।
आकर्षण कम
काठमाण्डौको चाबहिल स्थित मनास्लु उच्च माध्यमिक विद्यालयका प्रध्यानाध्यापक राजन श्रेष्ठ भन्नुहुन्छ,‘अहिले विद्यार्थीहरू भन्दा पनि अभिभावकको विद्यालय प्रति कम आकर्षण रहेको छ । यसको मुख्य कारण कोरोना नै हो । त्यसबाहेक विद्यार्थी गाउँ जानु, कोरोनाको संक्रमणको डर, आर्थीक रूपमा कमजोरी, अर्को भनेको विद्यार्थीहरूको पढाईमा मन कम हुदँै गइरहैको अवस्था छ ।
कोरोनाका कारण विद्यालय बन्द भएपछि सामाजिक सञ्जाल जुम, गुगल मिट, टिम्स जस्ता सञ्जालबाट कक्षा सुचारू गरीयो तर त्यसमा ५० प्रतिशतको हाराहारीमा मात्र विद्यार्थीको उपस्थिति थियो । र अहिले विद्यालय सञ्चालन गर्दामा पनी आधा मात्रामा विद्यार्थीको सहभागिता रहेकाले विद्यालय तथा कलेज सञ्चालन गर्न सकिने श्रेष्ठको ठम्याइ छ ।
विद्यार्थीलाइ पढाईमा कसरी फर्काउने
मनास्लु वल्र्ड कलेजका प्रध्यानाध्यापक श्रेष्ठ भन्नुहुन्छ,‘विद्यार्थीहरूलाई पहिले मानसिक रूपमा तयार गर्नुपर्छ । पहिलेको स्थितिमा लैजान आवश्यक छ । त्यससगैँ पहिलेको अनुशासनमा फर्काउनु पर्नेछ, विद्यार्थीहरु घरमा बस्दा बस्दा अनुशासन भुल्दै गएका छन् । किनभने विद्यार्थीको जिवनमा अनुशासन आवश्यक छ । त्यसपछि पढाईमा मन फर्काउनु पर्नेछ ।
लामो समयदेखि धेरै विद्यार्थीहरुको मन पढाईबाट टाढा भएको हुँदा पढाइमा ध्यान कम भैसकेको छ । त्यसैले पढाईमा अधिक ध्यान दिने गरी आवश्यक तयारी गर्नुपर्ने देखिएको छ । प्रध्यानाध्यापक श्रेष्ठका अनुसार विद्यालय नखोल्नाले विद्यार्थीहरू मानसिक, शैक्षिक र अनुशासनबाट बञ्चित हुँदै गइसकेका छन् ।
शिक्षक नै विद्यार्थीका लागि एउटा राम्रो मार्गदर्शक हुन् । विद्यार्थीहरू यो सबै कुराबाट वञ्चित छन्, यो ठुलो घाटाको विषय हो ।
सरकारले निजी विद्यालयको मर्का बुझ्नुपर्छ : श्रेष्ठ
निजी शिक्षालय व्यक्तिगत हिसावबाट खोलिएका हुन्छन् र यसलाई खोल्नका लागि पुँजीको आवश्यकता पर्छ । पुजीँको स्रोत भनेको विद्यार्थीमा धेरै भरपर्छ । निजी विद्यालय र कलेजमा धेरै शिक्षकको रोजगारी जोडिएको छ । कलेज र विद्यालय नखोलेकोमा शिक्षा पेसामा आवद्ध धेरैको चुल्हो बल्दैन, पेशाबाट पलायन हुनुपर्छ । कतिपय अहिले पनि समस्यामा हुनुहुन्छ । यस्तो अवस्थामा नेपालबाट विदेश पलायन हुनेको संख्या बढेर जान्छ ।
निजी विद्यालयको बारेमा धेरै नकरात्मक सोंच्ने भन्दा पनी, निजी शिक्षालयकै कारण नेपालीको पढाईमा सुधार आएको विषय पनि सम्झन जरूरी छ । निजी विद्यालयमा लाखौं विद्यार्थीहरू पढिरहेका छन् । यदि, सरकारी विद्यालयको पढाईको गुणस्तर राम्रो भएको भए पक्कै पनि अभिभावकले आफ्ना बालबालिकालाई निजी विद्यालयमा भर्ना गर्ने थिएनन् होला । ति तमाम कुरालाई सम्झेर निजी विद्यालयको विषयमा सरकारले सोच्न जरूरी छ ।
सरकारबाट सहयोगको आश
जसरी बालबालिका आफ्ना अभिभावकबाट आशा राख्छन् । त्यसरी नै यो संक्रमण जोखिमको अवस्थामा राज्यबाट, सरकारबाट सबैले केहि न केहि आश राखेका छन् । श्रेष्ठ भन्छन्,‘सरकार र शिक्षण संस्था मिलेर काम गर्नुपर्छ । हामी हाम्रो पक्षबाट सकेको गर्न तयार छौ तर शिक्षा मन्त्रालय आफ्नो तर्फबाट राम्रोसँग अगाडि आउन नसकेको जस्तो देखिन्छ ।’
सरकारले छोटो समयमा सकिने खालको करीकुलम दिनु पर्यो वा शैक्षिक सत्रलाई अलि तन्काएर आउँदो आर्थिक वर्षसम्म पुर्याउनु पर्यो । हामी सरकारको निर्देशनको पर्खाइमा छौ । यो निर्णय लिन अति नै आवश्यक छ । समयमै निर्णय नलिएमा वा ढिलो निर्णयले पछि धेरै विद्यालयमा मर्का पर्न जान्छ । निर्णयमा ढिलासुस्ती सरकारको पुरानो रोग हो ।
यस्तो माहामारीको अवस्थामा राम्रो रूपमा अध्ययन गरेर पढाईलाई सुरु गराउनुपर्छ । अन्यौलमा रहेको बेला सरकारको सहि निर्देशनको खाँचो छ । सरकार र शिक्षा क्षेत्र दुबैको बराबर जिम्मेवारी आवश्यक छ ।












