प्रकाशराज पाण्डे : नेपाल स्काउटमा स्काउट लिडरदेखि आरोहीसम्म

समिता श्रेष्ठ

नेपाल स्काउट नेपालको स्काउटिंग र गाइडिंग संस्था हो । यसको स्थापना २००९ सालमा भएको हो । नेपाल स्काउटका स्काउट लिडर प्रकाशराज पाण्डे सफल स्काउट टिचर, सामाजिक कार्यमा अग्रसर व्यक्तित्व समाजसेवी एवं पर्वतारोही पनि हुनुहुन्छ ।

नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा आधिकारीक रुपमा सहभागी गराई उनीहरुको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउने काम स्काउटले गर्ने गर्छ ।

जन्म र परिचय

पाण्डेको जन्म २०४८ सालमा रामेछापको लेकु तामाकोसी गाउँपालिकामा भएको हो । उहाँको परिवारमा आमाबुबा, पाँच दाजुभाइ, बहिनी र दुई भाउजु हुनुहुन्छ । उहाँले सोसल साईन्स बिषयमा स्नातक तहसम्म अध्ययन गर्नुभएको छ । बाल्यकाल सामान्य तरिकाले नै गाउँघरमा बिताउनुभएको हो । उहाँले उच्च शिक्षा काठमाण्डौबाट पुरा गर्नुभएको हो ।

अहिले उहाँ ललितपुरमा बसोबास गर्नुहुन्छ । पाण्डेको परिवारमा धेरैजसो नेपाली सेना र नेपाल प्रहरीमा आवद्ध हुनुहुन्छ । उहाँ पनि यहि क्षेत्रमा लागोस् भन्ने परिवारको चाहना भएपनि उहाँ स्काउटमा लाग्नुभयो ।

कक्षा ८ मा पढ्दा देखि स्काउट अध्ययनमा लागेका पाण्डे भन्नुहुन्छ,‘जिवनमा स्काउट अध्ययनले नै परिवर्तन ल्याएको हो । विद्यालयको विषयसुचीमा रहेको स्काउट विषय समुदायमा आधारित विषय भएको कारणले यस बिषयमा रुचि अझै बढी भएको हो ।’

स्काउटमा लागेपछिको अनुभव

एउटा स्काउट लिडर, स्काउट शिक्षक, समाजसेवी र पर्वतारोहिको रुपमा चिनिनुको प्रमुख श्रेय नै स्काउटलाई जान्छ । स्काउट नभएको भए सायद आज यी क्षेत्रहरुमा मेरा पाईलाहरु लम्किने थिएन होला र म यो स्थानसम्म आउने पनि थिइन । आज जे छु मेरो नेपाल स्काउटको कारण नै छु । म हाल स्काउट टिचरको रुपमा भियस निकेतन काठमाण्डौ, गौरीशंकर स्कुल ललितपुर बालकुमारी, बिनायक शान्ती निकेतन थापाथलीमा काम गर्दैछु ।

किताबका ज्ञानको घेराभित्र मात्रै नराखेर स्काउटले ब्यवहारिक र सैद्धान्तिक ज्ञान दिने गर्छ । जीवनलाई सार्थकता प्रदान गर्न कलात्मक तरिकाले जीवन निभाउन स्काउटले सिकाउने गर्दै आएको छ । स्काउटले आफ्ना लागि मात्रै होईन आफू साथसाथै आफ्नो देशको माटो र भबिष्यलाई सुरक्षित गर्न सक्ने होस् भनेर स्काउटमा आवद्ध भएपछि साहसिक क्रियाकलाप, व्यक्तित्व विकास, क्षमता विकास, लिडरसिप कुराहरु गराउने÷सिकाउने र सामाजिक दायित्वको कुरालाई जोड दिने गरिन्छ ।

आरोहण

हिमाल आरोहणको बिषयमा विश्व स्काउट संगठनले सन् २००७ मा सय वर्ष मनायो । सय वर्षका अवसरमा नेपाल स्काउटले पनि केही गर्नुपर्छ भनेर नेपालको फरक पहिचान स्थापनको लागि रसुवाको लाङटाङमा रहेको ब्यारेङ पावर स्काउट पिक (उर्के) ५ हजार ८ सय ९० मिटरमा एकजना मात्रै स्काउटले सन् २०१६ सम्म आरोहण गर्नुभयो ।

पाण्डे भन्नुहुन्छ,‘त्यो सुनेपछि यो हिमाल आरोहण गर्नुपर्छ र यसलाई चिनाउनुपर्छ भनेर नेपाली दोस्रो स्काउटको रुपमा सन् २०१६ मा उर्केमा हिमाल आरोहणबाट पर्वतारोहणको यात्रा सुरु गरे । त्यसपछि थुप्रै अन्य हिमालहरु आरोहण गर्दै आईरहेको छु । जसमा आइल्याड पिक, सगरमाथा जस्ता हिमालहरु छन् ।’

उहाँले भन्नुभयो,‘सामाजिक दायित्व निर्वाहका लागि र सामाजिक कार्यमा अग्रसर हुनुमा स्काउट कै हात छ । स्काउटसंगै आवद्ध भएर विभिन्न समाजसेवाका कामहरू गर्दै आईरहेको छु । जसमा हरेक बर्ष चितवनमा रहेका चेपाङ बालबालिकाहरुका लागि खाद्य सामाग्री साथै न्यानो लत्ताकपडा र शिक्षासामाग्री सकेजति प्रदान गर्दै आईरहेको छु ।

आफ्नै व्यक्तिगत तर्फबाट गामबेशी चेपाङ संरक्षण केन्द्रमा रहेका एक जना छात्राको कक्षा १० सम्म लाग्ने सम्पुर्ण खर्च ब्यहोर्दै पनि आइरहेको छु । हिमाली क्षेत्रमा बर्षको एक पटक स्वास्थ शिविर आफै उपस्थित भएर औषधिको व्यवस्थासहित आयोजना गर्ने र साथै अन्य सामाजिक कार्यमा पनि नेपाल स्काउट साथै रहेर आफु अग्रसर हुँदै आईरहेको छु र सधैं हुनेछु ।’

चुनौती

स्काउटमा आवद्ध हुनका लागि आफुले गरेका संघर्षको दिन सम्झदा सबैभन्दा ठुलो चुनौती ड्रेस कै हो । स्कुल लाईफमा हुँदा स्काउटको लागि लाग्ने ड्रेसको लागि पनि पैसा तिर्नुपर्छ । ड्रेसको लागि स्कुलहरुमा पनि नम्बर सेलेक्सन गर्ने गरिन्छ । त्यो ड्रेस पाउन निकै संघर्ष गर्नु पर्ने हुन्छ । आफुले ड्रेस पाईसकेपछि पनि हाईकिङ्ग, क्यापिङ्ग गर्नुपर्छ ।

जहाँ जाँदा पनि आफ्नो काम आफै गर्ने गर्नुपर्छ । यो कुराहरु सम्झदा रमाइलो र स्कुल लाईफमा हुँदा च्यालेज जस्तो लाग्छ । मेरो लागि बिर्सन नसक्ने क्षणमा स्काउटमा गरिने क्यापिङ्ग लाईफ हो । किनभने हामिले त्यो लाईफबाट आफ्नो काम आफै गर्नु आत्मनिर्भर हुन सिकेका हौ । त्यसकारण अविस्मरणीय पल क्यापिङ लाइफको हो ।

स्काउटबारे थप जानकारी

राष्ट्रकवि माधवप्रसाद घिमिरे पनि स्काउट हुनुहुन्छ । स्काउटले भविष्य निर्माणको लागि नयाँ मार्गदर्शन गर्ने काम गर्छ । स्काउट अध्ययनबाट आफ्नो भविष्यलाई सुनिश्चित बनाउने काम गर्छ । नयाँ स्काउटमा आवद्ध भएर भविष्य निर्माण गर्न चाहनेलाई राम्रो मार्ग निर्देशनको क्षेत्र बन्न सक्छ ।

यसबाट साहस, धैर्यता, लिडरशिप र सामाजिक दायित्वको कुरा सिकिने भएकाले भविष्यमा कुनै पनि काम गर्दा सफलता प्राप्त गर्ने सिढीँ बन्नेछ ।

नेपाल स्काउटको उद्देश्य :

– विश्व स्काउटद्वारा प्रतिपादित सिद्धान्त, मान्यता र भावनासंग नेपालका बालबालिका तथा युवा वर्गलाई परिचित गराउादै बालबालिका तथा युवा वर्गलाई जनसेवी बनाउने ।
– बालबालिका तथा युवा वर्गलाई नेपाल स्काउटको माध्यमद्वारा कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, सत्चरित्रवान तथा सुयोग्य नागरिक बनाउने ।
– दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार तथा सहायता कार्यमा नेपाल स्काउटलाई परिचालन गर्ने, गराउने ।
– सामुदायिक सेवा तथा जनहित सम्बन्धी कार्य गर्ने गराउने ।
–समाजका हरेक वर्ग तथा समुहलाई शिक्षित पार्न प्रौढ शिक्षा लगायत विभिन्न कार्यक्रमहरू संचालन गर्ने, गराउने ।
–स्वास्थ्य, वातावरण, भू–संरक्षण तथा प्राकृतिक श्रोतको उपयोगसम्बन्धी विभिन्न जनउपयोगी कार्यक्रम संचालन गर्न युवा जनशक्ति परिचालन गर्ने, गराउने ।

स्काउट नियम

– स्काउट विश्वास योग्य हुन्छ ।
– स्काउट भक्त हुन्छ ।
– स्काउट उपयोगी र सहयोगी हुन्छ ।
– स्काउट सबैको मित्र हुन्छ र परस्परमा भ्रातृत्व तथा भागिनित्व कायम राख्दछ ।
– स्काउट विनम्र हुन्छ ।
– स्काउट प्राणी प्रति दयालु हुन्छ ।
– स्काउट अनुशासित र आज्ञाकारी हुन्छ ।
– स्काउट बहादुर हुन्छ र सधैं प्रसन्न हुन्छ ।
–स्काउट मितव्ययी हुन्छ ।
– स्काउट मन, बचन र कर्ममा पवित्र हुन्छ ।

स्काउटको प्रतिज्ञा

सकभर देश, नरेश तथा ईश्वर प्रति आफ्नो कर्तव्य पालन गर्दछु ।
सधैं परोपकार गर्दछु ।
सधैं स्काउट नियम पालना गर्दछु ।
नेपाल स्काउटको वर्गीकरण
– कब्ब्राउनी ७ देखी १० वर्ष
– ब्वाय गरल ११ देखी १५ वर्ष
– रोवर्रेञ्जर १६ देखी २५ वर्ष

ब्वाय््गर्ल स्काउटको ब्याज सूची

– सदस्यता ब्याज
–वेडेन पावेल शिखर ब्याज
– अन्नपूर्ण ब्याज
– कञ्चनजंगा ब्याज
– सगरमाथा ब्याज
– राष्ट्रपति स्काउट ब्याज
– ज्याम्बोरी
– नेपाल स्काउटले पहिलो राष्ट्रिय स्काउट ज्याम्बोरी २०४३ सालमा कीर्तिपुरमा गरेको थियो । नेपाल स्काउटले दोस्रो ज्याम्बोरी २०६९ सालमा चितवनको टिकौलीमा गरेको थियो ।

[sidebar name="button post"]