Ad #144479

सरोज कार्की

पुसको चिसो बढ्दो छ । चिसो र जाडोबाट जोगिन न्याना र बाक्ला कपडाको कारोबार धेरै हुने यो बेला पोहोर परार जस्तो कपडाको कारोबार नभएको व्यापारीको गुनासो छ । त्यसमाथी कोरोना संक्रमण जोखिम उत्तिकै छ । हामीले काठमाण्डौ चाबहिल र सुन्धारामा कपडा व्यापार गर्ने केहि व्यापारीका गुनासा समेटेका छौँ ।

धुब्र बाँस्कोटा, चाबहिल

धुब्र बाँस्कोटा काठमाण्डौको चाबहिलमा बस्नुहुन्छ । २०२२ सालमा धादिङ्गमा जन्मे हुर्केका उहाँ आमा बुवासँग काठमाण्डौ आउनुभयो । उ बेला काठमाण्डौमा सजिलै काम पाइन्छ भन्ने गाउँमा कुरा चल्थ्यो । काठमाण्डौ आउँदा उहाँ सानै हुनुहुन्थ्यो अनि हातमा केहि सिप पनि थिएन । राम्रोे सजिलो काम पाउने कुरै भएन ।

बुबाले पनि मजदूरी गरेर घर चलाउने गर्नुहुन्थ्यो । बुवाको कमाईले मात्र नपुग्ने भएपछि उहाँले बुवालाई काममा सघाउन थाल्नुभयो । र काम गर्ने सिलसिलामा सडक छेउमा लुगा बेच्ने काम सुरु गर्नुभयो । बाँस्कोटा उमेरले ५५ वर्ष हुनुभयो तर व्यवसाय सुरु गरेको १४ वर्ष भयो । उहाँ भन्नुहुन्छ,‘हामी बुवा, छोराछोरी, नाती सहित काठमाण्डौमा ६ जनाको परिवार बस्छौँ ।

लगानी नभएका कारण बाटोको छेउ–छेउमा बसेर कपडा बेच्न थाले र अहिले पनि बाटोमा बसेरै बेच्ने गरेको छु । छोरा पनि गाडी चलाउँछ र हामी दुइ जनाको कमाईले घर चलेको छ । यो व्यवसायका लागि लुगा होलसेलबाट ल्याउँछौ । कोरोना भाइरसको संक्रमण आउनु अघि एक पटकमा ८ देखि १० हजार रुपैयाँसम्मको कपडा लेराउँथ्यौ । १५ सयदेखि २० हजारसम्म कमाइ हुन्थ्यो । तर अहिले कोरोनको डरले होला दिनमा ३÷४ पिससम्म मुश्किलले जान्छ ।

जाडोको कारण काम गर्न साहज त छैन तर काम नगरे पनि खान–लगाउन पनि गाह्रो हुने अवस्था छ । गाह्रो भएपनि रोगसँग हेल्चेक्राई गर्न हुँदैन । त्यसैले मास्क र बेला–बेलामा सेनिटाईजरको प्रयोग गरेर बिहान १०÷११ बजेदेखि बेलुका ६ बजेसम्म यहि ठाउँमा लुगा बेचेर बस्छु ।’

नबिनकुमार सिंह, सुन्धारा

नबिनकुमार सिँहले सुन्धारा, भोटेबालमा व्यवसाय सुरु गरेको १० वर्ष भयो । ४५ वर्षका उहाँले पहिलादेखि नै यहि काम गर्नुभएको हो । उहाँको पाँच जनाको परिवार धानिएको छ । ‘काम नगरे बिहान बेलुकाको छाक टर्दैन’उहाँ भन्नुहुन्छ,‘कोठा भाडामा लिएर पसल खोल्न सकिन । जब कोरोनाको महामारी सुरु भयो तब घरमा पनि खानाको महामारी सुरु हुन थाल्यो । महामारी सुरु हुनु भन्दा अगाडि दिनमा १५ देखि २० पिस लुगाको व्यापार हुन्थ्यो ।

तर अहिले घटेर १० पिस पनि मुस्किलले बिक्री हुन्छ । साथै कहिले न्यूरोड, कहिले भोटेबाल तिर र कहिलेकाँही होल्सेलबाट एक पटकमा ४०÷५० पिस कपडा लिएर आउँछु । जुन कोरोनाले व्यवसायमा नराम्रो असर परेको छ । अहिले जाडोको कारण सडकमा बसेर व्यापार गर्न गाह्रो छ । कोरोना संक्रमणको जोखिम छ । तर भोकको अगाडि रोगको डर केहि हैन छ ।’

तुलसी चौधरी, गणेशस्थान

तुलसी चौधरीले गणेशस्थानमा कपडा बेच्नुहुन्छ । उहाँ दाङ्गबाट काठमाण्डौ आउनुभएको हो । उहाँको चार जनाको परिवार छ । ‘काठमाण्डौ आएपछि धेरै परिर्वतन भए’ उहाँ भन्नुहुन्छ,‘मेरो जिन्दगीमा खासै केहि परिवर्तन भएको छैन । हामी चार जना भयौ तर व्यवसाय भने उस्तै छ । यही ठाउँमा पहिले मानिसको घुइँचो हुन्थ्यो र व्यापार पनि राम्रै हुन्थ्यो । तर कोरोना सुरु भएदेखि व्यापारमा ९० प्रतिशत घाटा छ । र अहिले घुइँचो पनि शुन्यतामा परिणत भएको छ ।

’ पहिला दिनमा तीन हजारदेखि चार हजार रुपैयाँ सम्मको ब्यापार हुने गरेको चौधरी बताउनुहुन्छ । ‘अहिले बोहनीसम्म नहुने अवस्था छ । व्यापार घटेको कारण घर चलाउन मुस्किल भएको बेला झन् होलसेलमा पनि कपडाको रकम बढेको छ । हामीले नै एक पिस कपडाको नौ सयदेखि बाह्र सयसम्म तिर्न पर्छ । तर किन्न आउने ग्राहकहरु दुई÷तीनसय सम्ममै लैजान खोज्नुहुन्छ ।

हामीले एक पिस कपडाबाट धेरैमा ५० देखि ७० रुपैयाँसम्म मात्र फाइदा निकाल्न सक्छौँ अनि गुजारा कसरी टार्ने ? त्यसमाथी भाडा कसरी तिर्ने ? ६÷७ महिना लकडाउन हुँदा पनि घरबेटीले एक पैसाको पनि छुट दिएन । बढीमा २÷३ हफ्ता बन्द हुन्छ होला भन्ने सोंचले गाउँ पनि गएनौ र पछि पेट भर्न गारो हुन थाल्यो । धन्न राहतको सहाराले आजसम्मको घाम देख्न पाएका छौँ ।’