समिता श्रेष्ठ
गाउँदै र नाच्दै हिँड्ने मान्छे एकदिन वन तिर पुग्छन् । नाचेर गाएर के काम बरु घरको काम गरेर बस्दा राम्रो हुन्छ । अहिले पनि गाउँघरमा यस्तै दृष्टिकोण छ । नाच्ने गाउनेहरुलाई सपोर्ट हुँदैन । तर चन्द्र शेखर शाहीले हरेस खानु भएन । गायक बन्ने सपना बोकेर उहाँ सुर्खेतबाट काठमाण्डौ आइपुग्नुभयो ।
गायक बन्ने सपना बाँकी नै तर उहाँ प्रांक स्टारका रुपमा स्थापित भैसक्नुभएको छ ।उहाँको आफ्नै शेखु धमाका यूटुब च्यानल छ । त्यहि च्यानलमा उहाँका प्रांक भिडियो देख्न पाइन्छ ।
जन्म–कर्म
चन्द्र शेखर शाही २०५० साल चैत्र १ गते सुर्खेतमा जन्मनुभयो । उहाँको परिवारमा आमाबुबा र चार दाजुभाइ हुनुहुन्छ । सुर्खेतमा उच्च माध्यमिक तहसम्म अध्ययन गरेर शाही २०७० सालमा काठमाण्डौ आउनुभयो । अहिले अनामनगरमा बस्नुहुन्छ । उहाँको रुचि गाउने र नाच्नेमै थियो र अहिले पनि छ । गाउँ घरमा सबैजनाले डान्सर बन्छ भन्ने गरेको उहाँ सम्झनुहुन्छ ।
काठमाण्डौ आएपछि जीवन निर्वाहका लागि बाध्यता सुरु भए ।दोहोरीमा चन्द्र लुङ्गेलीसँग भेट भयो । उहाँलाई शाहीको प्रस्तुति मन पर्यो । ‘लुङ्गेली सरले मलाई प्रांक गर्न लगाउनुभयो तर मलाई प्रांक भनेको नै थाहा थिएन । पछि ‘पर्स हरायो’ मा प्रांक गरेँ । यो प्रांक मैले रत्नपार्कमा रोएर गरेको थिए । मेरो सुरुकै प्रांक नै सबैले मन पराउनुभयो । यो एउटा सोसल एक्सप्रेरिमेन्ट प्रांक थियो । सफल भएपछि मेरो आत्मविश्वास ह्वात्तै बढ्यो । त्यसपछि प्रांक गर्दै गएँ ।’
च्यानलको नामाकरण
अहिले उहाँको आफ्नै यूटुब च्यानल शेखु धमाका छ । त्यहाँ प्रांक भिडियोहरु हुन्छन् । ‘गाउँ घरमा शेखर भनेर धेरै चिन्नुहुन्थ्यो,‘उहाँले भन्नुभयो,‘साथीभाईले शेखु भन्थे । नाम मिलाएर शेखु धमाका यूटुब च्यानल सुरुवात गरेँ ।’
आधुनिक र फिल्मको गीत गाउँदै
गायक बन्ने सपना बोकेर काठमाण्डौ आएका उहाँले गीतहरु गाउने, कम्पोज गर्ने काम पनि गर्नुहुन्छ । आधुनिक र फिल्मको गीतहरु गाउनुभएको छ । अहिले नयाँ लोक पप टाईपको गीत एलिना चोहानसँग आउँदैछ । मेरो ईच्छा र रुचि अनुसार गीतहरु पनि बजारमा आउंदै छन् । जसरी प्रांकलाई माया, साथ र हौसला दिनुभएको छ । त्यसैगरि गायनलाई पनि दिनुहुन्छ भन्ने आश छ ।
प्रांकबाट मनोरञ्जन र सन्देश
अर्काको मुड के छ भन्ने नबुझी उसलाई जिस्क्याउँदा त्यसको परिमाण के होला ? रिसाहा मान्छे र्पयो भने त राम्रै धुलाइ भेटिन्छ । त्यसैले प्रांक गर्नु जोखिमपूर्ण काम हो । आफ्नो सुरमा हिँडिरहेका मान्छेलाई अल्मल्याउने, उल्लु बनाउने र त्यसको भिडियो खिचेर पैसा कमाउने काम गतिलो त पक्कै होइन तर मानिसहरूलाई मनोरञ्जन र सन्देश दिँदा त्यसबाट आउने प्रतिक्रियाले चाहिँ हौसला मिल्छ ।
मैले अलिक समय भिडियो हालिनँ भने सबैले सोध्न थाल्नुहुन्छ । यदि मैले प्रांक नगरेको भए मलाई कसैले चिन्नु हुने थिएन होला । अहिले धेरैले चिन्नुहुन्छ, माया गर्नुहुन्छ । यसमा म धेरै खुसी छु । यूटुबबाट राम्रै आम्दानी समेत भैरहेको छ ।
आफ्ना भावनाहरु लुकाउनुपर्ने
प्रांकमा लाग्छु भनेर सोंचेको पनि थिईन । प्रांक गर्दा आफ्ना भावनाहरु हाँसो आँसु लुकाएर अरुलाई हसाउँने गर्नुपर्छ । यसमा गाली र कुटाइ पनि खानुपर्छ । सधैं एउटा भेषभुषामा गर्दा चिन्ने हुँदा फरक फरक भेषभुषाको प्रयोग गर्नुपर्छ । कहिले पुरुष, कहिले महिला, कहिले तेस्रो लिङ्गी यस्तै अनेकौं भुमिकामा देखिनुपर्छ ।
कमेन्टले उर्जा मिल्ने
प्रांक भिडियोहरु हेरेर दर्शकहरुले सकारात्मक र कोहि कसैले नकारात्मक कमेन्टहरु पनि गर्नु हुन्छ । धेरै चै सकारात्मक नै हुन्छ । धैरै राम्रो गर्नुभएको छ । धैरै हसाउनु भयो, अझै राम्रो गर्दै जानु जस्ता कमेन्टहरु धेरै मात्रामा हुन्छ । यसले अझै काम गर्ने उर्जा थप्छ । अनि कुनै कुनै कमेन्टहरु नकारात्मक पनि आउने गर्छ ।
तर सकारात्मक र नकारात्मक दुबैलाई मैले सकारात्मक रुपमा लिँदै पहिलेका भिडियोहरुमा भएका कमि कमजोरीलाई सुधार्ने प्रयत्न गरि नै रहेको हुन्छु ।
आफ्नो काम देखि सन्तुष्ट
आफुले गरेको काम देखि निकै सन्तुष्ट छु । सबैको माया पाएको छु । आज यो स्थानसम्म ल्याउनु भएको छ । त्यसकारण म निकै सन्तुष्ट छु । हरेक मान्छेमा कमि कमजोरीहरु हुने गर्दछ । ती कमि कमजोरीलाई हटाउँदै अझ राम्रो प्रांक गर्ने प्रयास निरन्तर जारी नै छ ।
प्रांक गर्दा क्यारेक्टरमा डुबेर प्रांक कथाबस्तुले प्रस्तुत हुने गरिन्छ । कुनैमा राम्रो रुपमा त कुनैमा नराम्रो पनि प्रस्तुत हुनुपर्ने हुन्छ । त्यसलाई एउटा प्रांकको रुपमा नै हेर्नुपर्छ । अन्यथा लिनु हुँदैन ।












