भान्सामा सिलौटो र लोहोरोको प्रयोग घट्दै : बाँच्ने अर्को विकल्प नभएका कुसवाडियालाई छाक टार्ने चिन्ता

सरोज कार्की

पिङकी कुसवाडिया काठमाण्डौको चाबहिल सडक छेउमा सिलौटो र लोहोरो बनाउने गर्नुहुन्छ । बुटवलको देवीनगरबाट काठमाण्डौ आएकी उहाँ चाबहिलमा १० वर्षदेखि भाडामा बस्दै आउनुभएको छ । साथै चाबहिलमा सिलौटो र लोहोरो बनाउने व्यवसाय गर्न थालेको पनि १० वर्ष भैसक्यो । उहाँको पाँच जनाको परिवार यहि व्यवसायबाट चलेको छ । तर अहिले कोरोनाका कारण ब्यापार छैन । व्यापार नहुँदा परिवार पाल्न र घरखर्च चलाउन धौ धौ भएको उहाँको गुनासो छ ।

पलौती कुसवाडिया पनि बुटवल देवीनगरबाट काठमाण्डौ आउनुभएको हो । चाबहिलमा बसोवास गर्दै आएको ३० वर्ष भन्दा बढी भैसकेको छ । यहि सिलौटो बनाएर नै उहाँले जिविकोपार्जन गर्दै आउनु भएको छ । प्रविधिको विकाससँगै सिलौटोको व्यवसाय पनि घट्दै घट्दै गएको उहाँ बताउनुहुन्छ ।

ढुंङ्गा कुदेर सिलौटो र लोहोरो बनाएर बेच्ने कुसवाडिया जातिको पुख्यौली पेशा हो । पुख्यौली पेशा नै यहि भएकाले सानै उमेरदेखि यहि व्यवसायमा लागेको पिङकी र पलौती बताउनुहुन्छ । पुर्खाले यही पेशा गर्दै आएको र आफूहरुले पनि सिलौटो र लोहोरो बनाउने कामलाई निरन्तरता दिएको उहाँहरुको भनाई छ । चाबहिल मेडी केयर अस्पताल अगाडी बाटोको छेउमा रहेको फूटपाथमा चर्को घाममा समेत यहि व्यवसाय गर्दै बसेका धेरै भेटिन्छन् ।

इना पत्थरकट नवलपरासीमा जन्मिनु भएको हो । उहाँ सिलौटो बनाउने कामको शिलशिलामा काठमाण्डौ आउनुभयो । आफ्नो दैनिक गुजारा चलाउनको लागि उहाँ सिलौटो र लोहोरो बनाउँदै आउनुभएको छ । तर अहिले कोरोना महामारीका कारण पनि यो व्यवसाय कम हुँदै गएकाले उहाँहरुको गुनासो छ । बिहान खाए बेलुका के खाने भन्ने अबस्था आएको इना पत्थरकट दुखेसो पोख्नुहुन्छ ।

यहि काम गरेको ६÷७ वर्ष भए पनि कहिले कहिँ ढुंगा उछिट्टिएर आएर आँखामा लाग्ने, कहिले हातमा लाग्ने गर्छ । अघिल्लो पुस्ताहरु पनि यहि पेशामा लाग्नु भएकाले यहि नै अंगालेर आउनुभयो र अरु सिप नभएकाले यो व्यवसाय नगरे खान पनि नपाउने स्थिति रहेकोले चर्को घाम र पानी नभनी काम गर्नु परेको उहाँहरुको गुनासो छ । पिङकी भन्नुहुन्छ,‘पुर्खादेखि नै सबैले यहि काम गर्दै आउनु भएकाले आफुले पनि यहि काम गरेको हो ।’

सिलौटो र लोहोरोको प्रयोग घट्दै

खाना या खाजालाई स्वादयुक्त बनाउन मरमसला आवश्यक छ । त्यहि मरमसला पिंध्न हरेक घर घरमा परम्परागत सामग्रीका रुपमा सिलौटो र लोहोरोको प्रयोग हुँदै आएको छ । भान्साघरमा दुईवटा साना ठुला ढुङ्गाको मद्धतले मसला पिंध्ने गरिन्छ । जस्तै जिरा, मरिच, धनियाँ, अदुवा लसुन, ल्वाँङ, सुकुमेल, जाइफल लगायत मरमसला पिसिन्छ ।

साथै खाना खानामा मुखै ट्वाक्क पार्ने अचार र चटनी पनि सिलौटोमै पिस्न सकिन्छ । तर पछिल्लो समय रेडिमेट मरमसला तथा नयाँ प्रविधीका रुपमा मिक्चर भित्रिएपछि सिलौटो र लोहोरोको प्रयोग पनि घट्दै गएको छ । विशेषगरी सहर बजारमा यसको प्रयोग कम हुँदै गएको छ । तर गाउँ घरमा अहिले पनि सिलौटो र लोहोरोको प्रयोग गरिन्छ । पहिला÷पहिला सिलौटो र लोहोरोबाट पिसेर बनाएको खाने कुरामा छुट्टै मिठो स्वाद पाइन्थ्यो तर अहिले आधुनिक प्रविधीको विकाससँगै यसको कम प्रयोग हुँदै आएको छ ।

सिलौटो र लोहोरो बनाउन प्रयोग हुने ढुंगा बर्दिबास र भारतबाट ल्याउनुपर्छ । ‘सरकारले हाम्रो लागि केहि पनि पहल गरेको छैन,‘पलौती कुसवाडिया भन्नुहुन्छ,‘जुन सुकै सरकार आए पनि हामीलाई केहि नै फरक पर्दैन । सरकारबाट केहि आश पनि छैन । हाम्रो जिवन यसैमा बितिरहेको छ । खानै नपाएपनि सरकारलाई केहि वास्ता छैन ।’

सडकमा पनि समस्या : गुजारा चलाउन मुश्किल

पुर्खादेखिको यो काम निरन्तर छ । उहाँहरुले पनि यही कामलाई नै अगाडी बढाउँदै आफ्नो जिवनयापन गर्दै आउनुभएको छ । ‘यहि व्यवसाय गरेर आफ्नो पाँच जनाको परिवार जसो तसो धानिएको छ’ पलौती भन्नुहुन्छ,‘अन्त पसल लिएर व्यवसाय सुरु गर्न लगानी छैन ।

यसरी बाटोमा बसेर काम गर्न पनि समस्या छ । नगरपालिकाका कर्मचारी आएर काम गर्न दिदैनन् ।’ सरकारले व्यवसाय गर्न केहि व्यवस्था गरिदिनुपर्ने नभए गाँस÷बासको व्यवस्था गर्नुपर्नेमा उहाँहरुको माग छ ।

[sidebar name="button post"]