Ad #144479

फिजोनन्द शेर्पा

उहाँको सपना विदेश जाने थियो । अरुले जस्तै पसिना बेचेर भएपनि धेरै कमाउने धोको थियो र अहिले पनि छ । विदेश जान नसके व्यवसाय गरी बस्थे होला । तर दुर्भाग्य त्यो सबै सपना मात्रै भयो । तै पनि आफूलाई भाग्यमानी नै ठान्ने बालकुमारी सुब्बा काठमाण्डौमा संर्घष गर्दै हुनुहुन्छ ।

जन्म, परिवार र जागिर

बालकुमारी सुब्बा २०३७ सालमा तेह्रथुममा जन्मिनुभएको हो । बुवा पारसमणि बिक्रम र माता जुनकुमारीको कोखबाट जन्मिएकी उहाँ दृष्ट्रिविहिन हुनुहुन्छ । अहिले काठमाण्डौको सुकेधारामा रहेको नेपाल नेत्रहीन संघमा कार्यरत हुनुहुन्छ । आफु जस्तै दृष्ट्रिविहिनले पढ्ने पुस्तक (ब्रेल लिपि) को प्रुफ रिडिङ गर्ने उहाँ पेशालाई निक्कै महत्व दिनुहुन्छ । ‘यस्तै भएपनि काम गरेको छु । मलाई जीवन निर्वाह गर्नका लागि जागिर हुनुपर्छ जस्तो लाग्छ । उहाँले भन्नुभयो,‘जागिरलाई पहिलो प्राथमिकतामा राखेर होला विवाहमा ध्यान गएन । त्यसैले अहिलेसम्म अविवाहित नै छु ।’

संसार अँधेरो तर मन उज्यालो

बालकुमारी सुब्बाका लागि संसार अँधेरो छ । तर मन भने उज्यालो छ । उहाँ ५ बर्षको उमेरदेखि संसार देख्नुहुन्न । ‘सानैमा पतकर (जंगलका झारपात) सोर्न जादाँ आफुले देख्ने गरेको संसार अध्याँरो बन्यो । उहाँले विगत सम्झदै भन्नुभयो एक्कासी आँखामा केहि पसेको महसुस भयो । आँखा पोल्न थाल्यो । हुँदा हँुदै धामी झाँक्रीकोमा पनि गयौं तर निको भएन । अन्तिममा अस्पताल गएको आँखा पोल्ने समस्या त निको भयो तर आँखाको ज्योती गुमाउनुपर्यो ।’ त्यसबेला जिल्लामा राम्रो अस्पताल थिएन ।

आँखाको समयमा उपचार नहुँदा उहाँले संसारको बाहिरी दृश्य नदेख्ने हुनुभयो । तर मन भने सधै उज्यालो नै छ । जोश, जाँगर र आँट पनि उत्तिकै छ । झण्डै ४० वर्ष पुगेकी उहाँ अहिले पनि विदेश गएर पैसा कमाउने इच्छा रहेको बताउनुहुन्छ ।

पढाई रोकिएन

पाँचै वर्षको उमेरमा दृष्टिविहीन भएपनि उहाँले पढाईलाई निरन्तरता दिनुभयो । धरानको ज्ञान चक्क्षु विद्यालयमा उहाँले कक्षा ७ सम्मको अध्ययन पुरा गर्नुभयो । ‘हामी जस्ताका लागि पढ्ने वातावरण राम्रो थिएन । पढ्नका लागि दुख त थियो तर मैले हार मानिन । पढाईलाई निरन्तर दिए । उहाँ भन्नुभयो,‘मैले पढ्दा छिमेकी र गाउँलेहरूले होच्याउँनुहुन्थ्यो । तर मैले हेलाहोचोलाई सामान्य रुपमा लिए । उहाँहरुसँग मेरो कुनै गुनासो छैन ।’

धरानमा कक्षा ७ सम्मको अध्ययन सकाएर सुब्बा २०५० सालमा काठमाण्डौ आउनुभयो । त्यसपछि पनि पढाईलाई निरन्तरता दिने निधो गर्नुभयो ।काठमाडौँ आएर उहाँले किर्तिपुरको ल्याबोटरी स्कुलबाट एसएलसी दिनुभयो । कक्षा १२ सम्म भक्तपुरको शारदा क्याम्पसमा अध्ययन गर्नुभयो ।

शिक्षा विषय लिएर पढ्दै गरेकी उहाँले स्नातक तह भन पुरा गर्न सक्नुभएन । उहाँलाई काठमाडौँको बसाईं सहज थिएन । यहाँको बाटो र वातावरण नै अनुकुल थिएन । ‘काठमाडौँको बाटो त्यस्तै त होनी अव्यवस्थित’ उहाँले भन्नुभयो,‘साधारण मान्छेलाई त हिँड्न समस्या हुन्थ्यो भने हामी जस्ता नदेख्नेलाई कत्ति समस्या हुन्थ्यो होला ।’

बाटोमा हिँड्दा समस्यामा पर्दा सायदै मान्छेले आफुलाई सहयोग गरेको उहाँ बताउनुहुन्छ ।

अपाङ्गतामैत्री संरचना नहुनु कमजोरी

सुब्बाको गुनासो सरकारसँग छ । ‘त्यसबेला काठमाण्डौ आएर उपचार गर्न सकेको भए दृष्ट्रिविहीन हुन्न थिए होला’उहाँ भन्नुहुन्छ,‘ उबेला आँखाको उपचार गर्न नसकेकोमा जिन्दगीभर गुनासो रह्यो ।’ उहाँ भन्नुहुन्छ,‘बिगतलाई सम्झेर भएन । सरकारले हामी जस्ता अपाङ्गता भएका व्यक्तिका लागि सहज वातावरण, सहज संरचना बनाउनुपर्छ ।

जीवन निर्वाह गर्ने गरी रोजगारी दिनुपर्छ ।’ नेपालको संविधानको मौलिक हक सम्बन्धी व्यवस्थामा सामाजिक न्यायको हक सुनिश्चित छ । अपाङ्गता भएका नागरिकलाई समान पहुँचको हक स्थापित गर्न विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा सुविधामा समान पहुँचको हक स्थापित हुनुपर्ने उहाँको भनाइ छ ।