संघर्षबाट उदय भएको व्यक्तित्व : भिक्षु तपस्सीधम्म

रमिता दंगाल

संघर्षले मानिसलाई प्रगति र उन्नतिको उचाईमा पुर्याउँछ । संघर्षबिना कुनै पनि मानिस आफ्नो लक्ष्यमा पुग्न सकेका छैनन् र पुग्न सक्दैनन् पनि । हरेक मानिसले आफ्नो जीवनलाई सफल र सार्थक तुल्याउन संघर्ष गरिरहेका हुन्छ । संघर्षबाट उदय भएको एउटा व्यक्तित्व भिक्षु तपस्सीधम्म , जसले सामाजिक, धार्मिक, साँस्कृतिक विकासमा योगदान गर्नुभएको छ । उहाँको जीवन संघर्ष र योगदानबारेको चर्चा समेट्ने प्रयास गरेका छौ । पहिलो अंकमा उहाँको जीवन संघर्ष सारमा :

जन्म र पारिवारीक वातावरण

चर्चित भिक्षु तपस्सीधम्म २०२७ साल साउन १ गते पिता न्हुछेलाल श्रेष्ठ र माता सन्तुमाया श्रेष्ठको दोस्रो सन्तानका रूपमा (बाबुकाजी श्रेष्ठ) काठमाण्डौको बलम्बु गाविस वडा नम्बर ६ मा नेवार परिवारमा जन्मिनु भएको हो । तपस्सीका पिता न्हुछेलाल खेती किसानी र पशुपंक्षी पालनको काम गर्नुहुन्थ्यो । बलम्बुका अधिकांश मानिसहरूको तत्कालीन समयमा यही पेशा थियो ।

त्यसबेला अहिले जस्तो पढ्ने लेख्ने चलन थिएन । बलम्बुका नेवार समुदायमा पनि केहि केहिले मात्रै आफ्ना सन्तानलाई स्कुल पढ्न पठाउँथे । धेरैले स्कुल पठाउँदैनथे । अझ कतिपय परिवारमा त पढाउनुपर्छ भन्ने सामान्य चेतनाको विकास समेत हुन सकेको थिएन । यस्तो परिवेशमा जन्मिनुभएका उहाँ (बाबुकाजी श्रेष्ठ)सामान्य बालकहरूजस्तै पढाईप्रति आकर्षित हुन सक्नुभएन । पिता न्हुछेलालले उहाँलाई घर नजिकैको बलम्बु प्राथमिक विद्यालयमा कक्षा एकमा भर्ना गरिदिनु भएको थियो ।

पिताले स्कूलमा भर्ना गरिदिनु भएपनि नियमित रूपमा स्कूल नजाने र गएको अवस्थामा पनि पूरा समय नबिताउने उहाँको स्वभाव थियो । उहाँले जसो तसो त्यस स्कूलबाट तीन कक्षासम्मको औपचारिक अध्ययन सम्पन्न गर्नुभयो । त्यस स्कूलमा तीन कक्षासम्म मात्र पढाई हुन्थ्यो । कक्षा तीनको पढाई सम्पन्न गरेर थप अध्ययन गर्न थानकोटस्थित मंगलोदय मा.विमा पिताको सहयोगमा उहाँ कक्षा चारमा भर्ना हुनुभयो ।

अध्ययनसँगै महाविहारमा घुलमिल

मंगलोदय स्कूल उहाँको घर बलम्बुदेखि केही टाढा थियो । उहाँ स्कूल जाने बाटो बलम्बुमा वि.सं. २००४ सालमा स्थापना भएको प्रणिधिपूर्ण महाविहार थियो । जुन विहारमा पहेँला चीवरधारी भिक्षु र भिक्षुणीहरू बस्ने गर्दथे । ती चीवरधारीहरू देखेर उहाँको मानसपटलमा विभिन्न किसिमका जिज्ञासाहरू उत्पन्न हुन थाल्यो । आफ्नो मनलाई शान्त पार्न यस विषयमा उहाँले आफ्ना पिता न्हुछेलाल समक्ष जिज्ञासा राख्नुभयो ।

उहाँले आफ्ना पिताबाट ती चीवरधारीहरू लगायत तत्कालीन राणाकालमा पाँचजना भिक्षुहरूलाई देश निकाला गरेको तथा आफ्ना पिता न्हुछेलाल, गणेशमान श्रेष्ठ, महर्जन र नकर्मी थर भएका दुई व्यक्तिहरूले ति भिक्षुहरूलाई घरमा आश्रय दिएको जानकारी प्राप्त गर्नुभयो । आफ्ना पिताका कुरा सुनेपछि उहाँको मन थप व्याकुल बन्यो र उहाँ साथीहरूसँग विहारभित्र जाने र त्यहाँ हुने गतिविधिहरूमा नजर लगाउन थाल्नुभयो ।

त्यसबेला प्रणिधिपूर्ण महाविहारमा भिक्षु सम्यकज्योती तथा करूणा र श्रावस्ती नाम गरेका अनागारिकाहरु (भिक्षुणी) बसेका थिए । उहाँले भिक्षु र भिक्षुणीहरूबाट विभिन्न बौद्ध कथाहरू सुन्ने, बुद्ध पूजामा सहभागि हुने र बौद्ध विहारहरूको बारेमा जानकारी लिने गर्न थाल्नुभयो । उहाँले आफ्ना बाजेबाट समेत घरमै बौद्ध कथाहरू र बुद्धको शिक्षाका बारेमा ज्ञानहरू प्राप्त गर्नु भएको थियो । जसको प्रभावले गर्दा उहाँको अस्थिर स्वभाव दिनप्रतिदिन धैर्यतामा रूपान्तरित हुन थाल्यो र उहाँ बुद्ध शिक्षाप्रति आकर्षित बन्न पुग्नुभयो ।

त्यसबेला बलम्बुमा परियक्ती बौद्ध शिक्षाको प्रचलन थिएन । काठमाडौंको गणवहालस्थित गणमहाविहारमा मात्र परियक्ती शिक्षा अध्यापन हुन्थ्यो । उहाँले गणमहाविहारमा गएर बौद्ध शिक्षा अध्ययन गर्ने मनस्थिति बनाउनुभयो र आफ्ना पितासमक्ष प्रस्ताव राख्नुभयो । त्यतिबेला बलम्बुबाट गणवहाल आउन सार्वजनिक यातायातको व्यवस्था एकदमै न्यून थियो । फाट्टफुट्ट मात्र गाडीहरू चल्दथ्यो । यातायातको अभाव र बलम्बुदेखि गणवहालको दुरी टाढा भएको हुँदा उहाँको पिताले उहाँलाई बौद्ध शिक्षा पढ्न जान अनुमति दिनुभएन ।

आफ्ना पिताको अनुमति नहुँदा नहुँदै पनि उहाँ लगायत बलम्बुका रत्नकाजी श्रेष्ठ, आशामाया श्रेष्ठ, हिराबहादुर महर्जन र हालका भिक्षु संकिसा गणमहाविहारमा सञ्चालन भैरहेको परियक्ती शिक्षा अध्ययन गर्न भर्ना हुनुभयो । उहाँ प्रत्येक दिन बिहान सबेरै उठेर आफ्ना साथीहरूसँग परियक्ती शिक्षा अध्ययन गर्न पैदल हिँडेर गणमहाविहार जान थाल्नुभयो ।

यसरी उहाँले गणमहाविहारमा कक्षा दुईसम्मको औपचारिक बौद्ध शिक्षा अध्ययन सम्पन्न गर्नुभयो । कक्षा दुईसम्म अध्ययनको क्रममा बौद्ध शिक्षा अहिंसा र शान्तिकामी भएको अनुभूति उहाँलाई भयो ।

प्रव्रजित हुन नपाएको क्षण

बौद्ध शिक्षा अध्ययनकै क्रममा २०२९ सालतिर थाइल्याण्डबाट वर्षावासका लागि पाँचजना भिक्षुहरू नेपाल आएर तीनजना प्रणिधिपूर्ण महाविहार बलम्बु र दुईजना नुवाकोटको त्रिशुलीमा बसेका थिए । बलम्बुमा बसेका भिक्षुहरू प्रत्येक दिन भिक्षाटनमा जान्थें । ति भिक्षुहरूको पछि लागेर बाबुकाजी पनि सँगसँगै जाने गर्नुहुन्थ्यो । दानमा प्राप्त भएको फलफूल र अन्य सामग्रीको झोला बोकेर उहाँ भिक्षुहरूलाई सहयोग गर्नुहुन्थ्यो ।

भिक्षुहरू आफूहरूलाई दानबाट प्राप्त हुन आएको भोजनको केही भाग उहाँलाई पनि दिन्थे । उहाँ त्यो भोजन आफ्ना साथीहरूलाई समेत बाँडेर खानुहुन्थ्यो । नेपाल बसाईका क्रममा थाइ भिक्षुहरूले दशजना स्थानिय बालकहरूलाई अस्थायी श्रामणेर बनाउने योजना अनुरूप आफ्ना सन्तानहरू विहारमा पठाइदिन स्थानिय उपासक/उपासिकाहरूलाई आग्रह गर्नुभयो ।

तर पढाईमा बाधा पुग्न सक्ने भन्दै कसैले पनि आफ्ना सन्तान विहारमा पठाउन मानेनन् । त्यस क्रममा उहाँका साथी बाबुकाजी र हिराबहादुर महर्जन मात्र प्रव्रजित हुन राजी भए । तर उहाँलाई प्रव्रजित हुन उहाँका बाबुले दिनुभएन । आफू प्रव्रजित हुन नपाउँदा उहाँलाई गम्भीर पीडाबोध भयो र उहाँ हृदयविदारक रूझानमा डुब्न पुग्नुभयो ।

प्रव्रजित बनेपछि

नियमित जसो रूवाबासी र छोराको चाहनाको सम्मान गर्दै उहाँका पिताले प्रव्रजित हुन दिन राजी हुनुभयो । फलस्वरूप २०३९ साल मंसीर २६ गते थाइ भिक्षु फ्रा. श्री बष्णो महास्थविरको आचार्यत्व र नेपालका प्रथम संघमहानायक भिक्षु प्रज्ञानन्द महास्थविरको उपाध्यायत्वमा उहाँ र हिराबहादुर प्रव्रजित भई श्रामणेर हुनुभयो । प्रव्रजित जीवनपछि उहाँको नाम तपस्सु र हिराबहादुरको नाम भल्लुक नामाकृत भयो । यसरी गृहस्थ जीवनका बाबुकाजी श्रेष्ठ प्रव्रजित भएपछि तपस्सुको नामबाट चिनिन थाल्नुभयो ।

प्रव्रजित जीवन

सामान्य रूपमा हेर्ने हो भने प्रव्रजित जीवन गृहस्थी जीवनभन्दा धेरै कठिन जीवनशैली हो । प्रव्रजित जीवनशैलीका बारेमा उहाँलाई कुनै ज्ञान थिएन । केवल प्रव्रजित हुने एकोहोरो रटान मात्र उहाँभित्र विकसित भएको थियो । प्रव्रजित जीवनका आफ्नै नीति, नियम र प्रक्रियाहरू हुन्छन् । ती नियमहरूलाई प्रव्रजित हुनेहरू गर्नैपर्ने सबैले आत्मसात हुन्छ । उहाँको जीवन पनि एउटा निश्चित नीति, नियम र दायराभित्र केन्द्रित हुन पुग्यो ।

एक किसिमले भन्ने हो भने उहाँका सबै किसिमका इच्छा, चाहना र बाह्य कामनाहरू माथि प्रतिबन्ध लाग्न पुग्यो । उहाँले यी सबै प्रतिबन्ध र नियमलाई सहर्ष रूपमा स्वीकार गर्नुभयो । जसरी भए पनि र जस्तोसुकै दुःख सहेर पनि प्रव्रजित जीवन सफल बनाउने अठोट उहाँले लिनुभयो । श्रामणेर भएपछि करिब तीन हप्ता उहाँ गुरूहरूका साथमा बलम्बुमै बस्नुभयो । त्यसपछि गुरूहरू र आफ्ना श्रामणेर मित्र सहित उहाँ प्रमुख बौद्ध तिर्थस्थलहरू लुम्बिनी, कुशीनगर, बोधगया र सारनाथ जानुभयो । त्यस क्रममा उहाँले असाध्यै दुःख, कष्ठ र पीडाहरूको सामना गर्नुपर्यो ।

जीवनमा भोक प्यास र पीडाको अनुभूति

गुरुहरुसँगसँगै उहाँ गोरखपुरदेखि करिब ५० किलोमिटर टाढा कुशीनगरसम्म पैदलबाट हिंड्न बाध्य हुनुपर्यो । थाइ भिक्षुहरूले उहाँलाई केही खान दिएनन् । उहाँलाई पानी पिउनसमेत कठिन भयो । शारीरिक रूपमा उहाँलाई जीवनमा पहिलोपटक भोक, प्यास र पीडाको वास्तविक अनुभूति भयो । जसले गर्दा उहाँलाई चोर समेत बनायो र उहाँ बिस्कुट चोरेर खान बाध्य हुनुभयो । लुम्बिनीका गाउँहरूमा भिक्षाटनका क्रममा उहाँलाई कतिपयले पिण्डपात्रमा गोबर समेत हालिदिए ।

ढल्केर सुत्न नपाउने, अडेस लागेर बस्न नपाउने, भित्तामा अडेस लगेर मात्र सुत्नु पर्ने जस्ता गुरूहरूका कठोर नियम उहाँको नियति बन्न पुग्यो । चार धामको यात्राको क्रममा समेत उहाँले रूखमा अडेस लगाएर धेरै रात व्यतित गर्नुपर्यो । उहाँ आफै रुनुहुन्थ्यो, कराउनु हुन्थ्यो र चिच्याउनु हुन्थ्यो तर त्यसको अभाव उहाँले आफ्ना गुरूहरूलाई हुन दिनुभएन ।

तीन महिना बितेपछि

दुःख र पीडाको अनगिन्ती आँसु पिएर पनि उहाँले आफ्नो प्रव्रजित जीवनमा आँच आउन दिनु भएन । यसै यात्राको क्रममा उहाँको लुम्बिनीमा भिक्षु अनिरूद्र र विमलानन्दसँग भेट भयो । जुनबेला उहाँको प्रव्रजित जीवन तीन महिना पूरा हुनै लागेको थियो । थाइ भिक्षुहरू नेपाल आएको तीन महिना व्यतित भैसकेको थियो । भिसाको अवधि समाप्त भएको र थप अवधिको लागि तत्कालीन श्री ५ को सरकारले भिसा नदिएको हुँदा उहाँहरू थाइल्याण्ड फर्कने तयारी गर्न थाल्नुभयो ।

त्यसबेला नेपालमा श्रामणेरलाई बौद्ध शिक्षा अध्ययन गराउने औपचारिक व्यवस्था थिएन । श्रामणेर तपस्सु र भल्लुकको कठोर धैर्यता तथा त्यागको अनुभूति गरेका थाइ भिक्षुहरूलाई गुरूका नाताले उनीहरूका जीवनप्रति चिन्ता लाग्नु स्वाभाविक थियो । त्यसैले उनीहरूको भविष्य बिग्रन सक्ने आशंका गर्दै थाइ भिक्षुहरूले चीवर परित्याग गरी गृहस्थ फर्कन दबाब दिन थाले । तर ती दुई श्रामणेरहरूले चीवर छाड्न मानेनन् ।

एक वर्ष बिना गुरु प्रव्रजित जीवन

करिब एक वर्ष बिना गुरू नै प्रव्रजित जीवन बिताउनु भयो । करिब एक वर्षपछि भिक्षु सुशोभनले उहाँहरूलाई शान्ति विहार कुपण्डोलमा दिनुभयो । शान्ति विहारमा बस्न थालेदेखि नै तपस्सु शरण र भल्लुकबीच झगडा पर्न थाल्यो । नियमित रूपमा झगडा गर्ने गरेको हुँदा ती दुई श्रामणेरलाई छुटाउने काम भयो । जस अनुसार तपस्सु काठमाडौंको मजिपातस्थित पद्मसुगन्ध विहार र भल्लुक शान्ति विहारमा अलगअलग बस्न थाल्नुभयो ।

नयाँ विहारमा बसेको करिब तीन महिनापछि तपस्सु फेरि बलम्बुकै प्रणिधिपूर्ण महाविहारमा फर्किए । पछि श्रामणेर भल्लुक पनि यही विहारमा आए । त्यहाँ पनि ती दुई बीच नियमित रूपमा झगडा पर्न थाल्यो, जुन कुरा सबैलाई थाहा भयो । जसले गर्दा करिब एक वर्षसम्म ती दुबैले बौद्ध शिक्षा अध्ययन गर्न पाएनन् ।

चीवर छोड्न सल्लाह

बलम्बुका दुई बालकहरू श्रामणेर भएको र गुरुहरूले छोडेर गएको कुरा भिक्षु सुदर्शनको कानमा परिसकेको थियो । उनीहरूको जीवनप्रति चिन्ता व्यक्त गर्दै चीवर परित्याग गराउन उहाँले बलम्बुको प्रणिधिपूर्ण महाविहारमा खबर पठाए । २०४१ साल चैत्रमा वार्षिक परित्राण पाठ बलम्बुमा हुन लागेको थियो । यसै दिन उनीहरूलाई चीवर छोड्न लगाउने सल्लाह सबैतिर भयो ।

वार्षिक परित्राण हुन चारदिन मात्र बाँकी रहँदा यो कुरा तपस्सुले थाहा पाउनु भयो । यो कुराले तपस्सुलाई चिन्तित तुल्याउन थाल्यो । के गर्ने कसो गर्ने उहाँले कुनै निर्णय लिन सक्नु भएन । उहाँभित्र गम्भीर तनाव सिर्जना हुन थाल्यो । यस्तै तनावका बीच कार्यक्रम हुने तीनदिन अगाडि भागेर उहाँ बनेपा पुग्नुभयो । बनेपामा सुदर्शन नाम गरेको एउटा विहार थियो । जहाँ भिक्षु बोधिसेन बसेका थिए । स्थानियसँग सोधखोज गर्दै उहाँ उक्त विहारमा पुग्नुभयो । विहारमा पुगेर भिक्षु बोधिसेनलाई उहाँले सबै घट्ना वृतान्त सुनाउनुभयो ।

उहाँको कुरा सुनेर भिक्षु बोधिसेनले उहाँलाई आफ्नो विहारमा शरण दिए । उहाँ त्यसै विहारमा बस्न थाल्नुभयो । उहाँ त्यस विहारमा बस्न थालेको केही दिनपछि श्रामणेर भल्लुक पनि चीवर नछोडिकन त्यही विहारमा आइपुगे । त्यहाँ पनि ती दुई श्रामणेरबीच नियमित रूपमा झगडा पर्न थाल्यो । सुदर्शन विहारमा बस्न थालेको केही महिनापछि श्रीलंकाबाट भिक्षुहरू धर्मदेशनाका लागि नेपाल आएका थिए । त्यो कुरा श्रामणेर तपस्सुले थाहा पाउनुभयो ।

उक्त कुरा थाहा पाएपछि भिक्षु बोधिसेनसँग सल्लाह गरेर काठमाडौं फर्किनुभयो । श्रीलंका गएर बौद्ध शिक्षा अध्ययन गर्ने उहाँमा तीव्र लालसा थियो । त्यहि लालसालाई पूरा गर्न काठमाडौं फर्किनु भएका तपस्सु आनन्दकुटी विहार जाने बाटो सोध्दै गर्दा काठमाडौंमा संघाराम विहार छ भन्ने सम्झना उहाँलाई भयो । उहाँ सोधखोज गर्दै ढल्कुमा रहेको संघाराम विहारमा पुग्नु भयो । भिक्षु अनिरूद्र त्यसै विहारमा बसेका थिए । आवश्यक कुराकानीपछि भिक्षु अनिरूद्रको आग्रहमा उहाँ संघाराम विहारमा बस्न थाल्नुभयो ।

श्रीलंका यात्रा : अनि तपस्सुबाट तपस्सीधम्म

श्रीलंकाका भिक्षुहरू काठमाडौंका विभिन्न स्थानमा धर्मदेशना सम्पन्न गरेर श्रीलंका फर्कने समय तीनदिन मात्र बाँकी थियो । तपस्सुको मनोविज्ञान बुझेका अनिरूद्रले भिक्षु मैत्रीको सहयोगमा श्रीलंका पठाउने पहल थाल्नु भयो । भिक्षु मैत्रीले श्रीलंकाबाट आएका भिक्षु धम्मावासलाई तपस्सुको बारेमा सबै जानकारी गराउनुभयो । भिक्षु मैत्रीको आग्रह अनुरूप भिक्षु धर्मावास श्रामणेर तपस्सुलाई सम्पूर्ण जिम्मेवारी सहित श्रीलंका लान तयार हुनु भयो । यसरी २०४२ सालमा भिक्षु मैत्रीसँग बौद्ध शिक्षा अध्ययन गर्न उहाँ श्रीलंका पुग्नु भयो ।

श्रीलंका पुगेर श्रामणेर तपस्सु भिक्षु गोटुगोड धम्मावास महास्थविर बस्ने गरेका श्री धर्मपालाराम विहारमा बस्न थाल्नुभयो । यसरी उहाँले बौद्ध दर्शनमा प्रमाणपत्र तह र अंग्रेजीमा डिप्लोमा सम्मको अध्ययन पूरा गर्नुभयो । श्रीलंकामा पढाईकै क्रममा भिक्षु धम्मावासले उहाँको नाम तपस्सुबाट तपस्सीधम्म भनेर नामाकरण गरिदिनुभयो । त्यसबेला श्रीलंकामा राज्य र विद्रोही तमिलबीच युद्ध चलिरहेको थियो । जसले गर्दा श्रीलंकामा शान्तिपूर्वक बस्न सक्ने अवस्था थिएन । त्यसैले उहाँ नेपाल फर्कन चाहनुभयो ।

उहाँका गुरू धम्मावासले उहाँलाई श्रीलंकामै बस्न आग्रह गर्दै नागरिकतासम्म उपलब्ध गराइदिने वचन दिनुुभएको थियो । तर राष्ट्रसेवाको भावनाले प्रेरित उहाँलाई श्रीलंकामा बस्न उचित लागेन र स्वदेश फर्किएर बुद्ध शिक्षा प्रचार गर्ने अठोट लिनुभयो । उहाँको अठोट र राष्ट्रसेवाप्रतिको भावनाको सम्मान गर्दै भिक्षु धम्मावासले काठमाडौंको चावहिलमा रहेको चारूमति स्तुपको बारेमा सम्पूर्ण जानकारी गराएर चारुमति स्तूपको संरक्षण एंव सम्बद्र्धन गर्न शुभकामना दिई नेपाल पठाउनुभयो ।

बाँकी अर्को अंकमा….

[sidebar name="button post"]