Ad #144479

समिता श्रेष्ठ

कलामा पोख्त एक व्यक्तित्व मुना भडेल कलामै रमाउनु भएको छ । उहाँ आफू मात्रै रमाउनु भएको छैन, अरुलाई पनि उसैगरी समाहित गर्नुभएको छ । मनका भावहरु चित्रमा उतार्ने उहाँमा कला छ । अर्थात् चित्रकलामा निपूर्ण उहाँका पाइला कोर्दै कोर्दै अगाडि बढ्दैछन् । भडेलको चित्रकलाको यात्रा जारी नै छ । निरन्तर…..

परिवार र पढाई

मुना भडेल २०४५ साल साउनमा भक्तपुरको चाँगुनारायणमा जन्मिनुभएको हो । भर्खर ३२ वर्ष पुगेकी उहाँ श्रीमान्, सासु, ससुरा, देवरसँगै कालोपुलमा बस्नुहुन्छ । भडेल सानैदेखि प्रकृतिमा रमाउनु हुन्थ्यो । उहाँले आफ्नो बाल्यकाल जंगल, खोलानाला, पाखापखेरा घुम्दै खेल्दै रमाइलो गर्दै बिताउनुभयो । उहाँले घर नजिकैको विद्यालयबाट माध्यमिक तहको पढाई सक्नुभयो ।

उच्च तहको पढाई ललितकला क्याम्पसबाट फ्याइन आर्ट पढ्नुभयो । यो फ्यान आर्ट भित्र चित्रकला, मुर्तिकला, भिडियो आर्ट, डान्स आदि सबै पर्छ । उहाँले मास्टर पनि फ्यान आर्ट मै मुख्य विषय चित्रकला लिएर गर्नुभयो ।

उहाँको बुबा पनि आर्टिस्ट हुनुहुन्थ्यो र विद्यालयमा आर्ट सिकाउने गर्नुहुन्थ्यो । बुबा बाटै प्रेरित भएर उहाँ पनि सानैदेखि आर्टमा लाग्न थाल्नुभयो । उहाँको रुचि बाल्यकालदेखि नै पढाईमा भन्दा चित्रकलामा थियो । त्यसै कारण विभिन्न विद्यालय स्तरिय चित्रकला प्रतियोगितामा भाग लिने पनि गर्नुहुन्थ्यो । यसरी नै उहाँमा चित्रकलाको ज्ञान विकास हुँदै गयो । फलस्वरूप उहाँले आफ्नो रुचिलाई नै व्यवसायको रुपमा अगाँल्ने निधो गरी आर्ट पढ्ने सोंच बनाउनुभयो ।

आर्ट पढ्न गरेको संघर्ष

आर्ट पढ्ने निधो गरेर कलेज खोज्दा ताकाको अनुभव सुनाउँदै भडेल भन्नुहुन्छ,‘त्यसबेला अहिलेको जस्तो सामाजिक संजाल थिएन । आर्ट पढ्ने भनेर निधो गरे आर्ट विषयको पढाई कुन कलेजमा हुन्छ भनेर थाहा सम्म थिएन । कलेजको खोजी गर्नु धेरै गाह्रो भयो । अन्त्यमा आर्ट विषयको पढाई ललितकला क्याम्पसमा हुन्छ भन्ने थाहा भयो र भर्ना भएँ ।’

उहाँलाई भक्तपुरदेखि ललितकला क्याम्पस सम्म आवतजावत गर्न पनि गाह्रो नै थियो । आर्ट पढ्न आवश्यक पर्ने सामग्री के के चाहिन्छ, त्यो पनि थाहा थिएन । विद्यार्थीका लागि आर्टको लागि आवश्यक सामग्रीहरु पनि निकै महंगो हुन्थ्यो ।

आर्ट लागि एउटा मात्रै कपि, कलम, कलरहरु भएर मात्रै हुँदैन । यसको लागि धेरै सामग्री भिन्न भिन्न आवश्यक पर्ने गर्छ । त्यही भएर आर्ट पढ्नको लागि महंगो हुने गर्थो । आर्थिक रुपमा पनि आर्ट पढ्नको लागि अलि गाह्रो हुन्थ्यो ।

उहाँ भन्नुहुन्छ,‘आर्ट अध्ययन गर्दै स्कुलमा पढाउने, फुर्सदमा अरु काम गर्ने गर्थे । आर्टमा सैद्धान्तिक ज्ञान भन्दा पनि व्यवहारिक ज्ञान धेरै हुने हुँदा आफैं धेरै जोश जाँगर लगाएर, लगनशील भएर अनि धैर्यतापुर्वक लागे ।

आर्ट सिक्न धैर्यता आवश्यक छ ।’ आर्ट, हेर्ने मान्छेलाई प्रेरणा दिने खालको हुनुपर्छ । यसको लागि हामिले विभिन्न आर्टको प्रदर्शनीहरुमा गएर अनुसन्धान गर्ने काम गर्नुपर्छ । अनुशन्धान भन्नाले आर्ट मै नयाँ कुराको खोजी गर्ने गर्नु पर्दछ ।

प्रेरणाको स्रोत बुबा र गुरुहरु

सुरुवातमा आफ्नो बुवाबाट प्रेरित भएर आर्टलाई अँगालेपनि पछि आर्ट अध्ययन गर्दै जाँदा आर्ट पढाउने गुरुहरुको आईडिया र कामहरु हेर्दै जाँदा आर्टिस्टहरुसँग सहकार्य भैरहँदा यहीँ क्षेत्रमा लागेर केही गर्ने प्रेरणा झनै बढी विकास हुँदै गयो । आफुले पनि यस्तै गर्नुपर्छ जस्तो लाग्यो । आफ्नो लगाव बढ्दै जाँदा त्यो कुरा आर्टमा पनि देखिन थाल्यो । उहाँ भन्नुहुन्छ,‘अहिलेसम्म धेरै आर्ट गरि सकेको छु ।

आफुले गरेको सबै आर्टहरुसँग छुट्टै लगाव हुन्छ । त्यसमध्ये पनि अहिलेको आर्टमा हजुरआमाको जीवन भोगाइ र उहासंगको मेरो भावनात्मक सम्बन्धबारे आर्ट गरिरहेको छु । यो आर्ट मैंले मेरो आफ्नै हजुर आमा र गाउँका अन्य २÷३ जना हजुर आमाहरुलाई लिएर गरिरहेको छु । उहाँहरुको बाल्य अवस्था, युवा, घरगृहस्थी र बृद्ध अवस्थाहरुमा प्रवेश गर्दाको क्षणहरु, भोगाइलाई र उहाँहरुको भावनालाई अहिले आर्टबाट देखाउने प्रयास गर्दैछु ।

आफू पनि महिला भएको कारणले आफ्नो जिन्दगी र उहाँहरुको जिन्दगीलाई तुलना गर्दा एक किसिमको रमाइलो पनि हुँदो रहेछ । मलाई यस्तो काम असाध्यै मन पर्छ ।’

कलामा समेटिन्छन् जीवन र जगतको यर्थाथता

हाम्रो जीवनको सबै कुराहरु बाहिर देखाउन सकिदैन । त्यो आफुले देखाउन नसकेको मौनता पछाडीका भावनाहरु पोख्ने माध्यम कला हो । आफु भित्रका भावनाहरु रिस, हाँसो ,आनन्द सबैकुरा पोख्ने एउटा राम्रो माध्यम आर्ट नै हो ।

चित्रहरुमा जीवन र जगतबारेको यर्थाथता समेटिएको हुन्छ । जसले धेरैको ध्यान आकर्षित गर्छ । उहाँको चित्रहरुमा पनि जीवन, जगतका यथार्थता पाउन सक्दछौ । चित्रकलाकै माध्यमबाट मनका भावहरु कलात्मक तरिकाले आफ्ना कला कृतिहरुमा उतार्न सफल भडेलले राष्ट्रियस्तरमा मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो कला प्रस्तुत गर्नुभएको छ ।

‘म आर्ट बाहेक अरु काम गर्दिन । यहि आर्ट टिचरको रुपमा नै ‘द चान बार स्कुल’ बाँसबारीमा काम गर्छु । त्यस्तै आर्ट प्रोग्रामहरु, आर्ट इभेन्ट, आर्ट पोजेन्टहरु यस्तै आर्टसँग सम्बन्धित कामहरुमै दिनहरु बित्दैछ । कहिले आफ्नै चित्रकलाको काम गर्छु त कहिले अन्य प्रोजेक्टहरुमा व्यस्त हुने गर्छु । अहिले महिला दिवसको लागि आर्ट प्रोजेक्टमा लागि रहेको छु ।

राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीमा जोडिएर काम गरिरहेको हुन्छु । आर्टको कामको लागि गत वर्ष दुई पटक इन्डिया गए । एकपटक प्रोफोमेन्स आर्टको लागि जापान पनि गए र कोलाबेस्न वर्कको लागि बंगलादेश पनि गएको छु ।’

सिक्नेहरु र आर्टमा लाग्नेहरुलाई सुझाव

आर्टमा लाग्न चाहने जो कोहिले आर्टलाई निरन्तरता दिनुपर्छ । यसको नतिजा एकैचोटि अन्य कामको जस्तो आउँदैन । धैर्यता आवश्यक पर्छ । यो १० बजेदेखि ४ या ५ बजेसम्म को काम पनि होईन । यो आर्टको कामको कुनै समयसीमा नै हुँदैन । यो हरेक समयमा गर्न सकिन्छ ।

आर्टलाई सामान्य रुपमा पनि लिनु हुँदैन । आर्ट एक ठाउँमा रहदैन । यो विश्वभर घुम्ने गर्दछ । यसले गर्दा आफू सँगसँगै आफ्नो काम पनि घुमिरहेको हुन्छ र त्यो कामले नै आफुलाई चिनाई रहेको हुन्छ । त्यसकारण धैर्यतापुर्वक लगनशील भएर आर्टमा लाग्ने हो भने यसमा भबिष्य एकदमै राम्रो छ ।

भडेल भन्नुहुन्छ,‘आर्ट एउटा ध्यान हो । किनभने आर्ट गर्ने मान्छेले आफुलाई कहिल्यै एक्लो महशुस गर्दैन । उसको साथमा आफ्नो कला साथमै साथीको रुपमा भै रहन्छ ।’ चित्रकलामा लाग्न चाहनेलाई धैर्यतापुर्वक, लगनशील भएर, जोश–जाँगर लिएर आउँन पनि उहाँको सल्लाह छ ।