गजल गायनमा सुवास अगम : गजल संगीतसँगै आध्यात्मिकताको महासागर

समिता श्रेष्ठ

मन घुमिरहन्छ । दुख सुख आ–आफ्नै हुन्छन् । जब मन बिचित्रतामा पुग्छ तब संगितको माध्यमबाट मनलाई शान्त बनाउन सकिन्छ । जुनसुकै उमेर समुहका ब्यक्तिहरुले पनि गित संगित सुनेर मनोरञ्जन लिन सक्छन् ।

एउटा राम्रो गायक र संगीतकारले संगित भरेको गित–संगीतले मनलाई शान्त पार्न सक्छ । गित–संगीतको एउटा विद्या गजल गायनमा सक्रिय हुनुहुन्छ, सुवास अगम । उहाँको गजल संगीतमा मुख्य बिशेषता नै अध्यात्मिकता र सकारात्मकता हो ।

परिचय र परिवार

साहित्य संगीतमा सुवास अगमको नामबाट परिचित उहाँको बास्तविक नाम सुवास कडेल हो । उहाँको जन्म नवलपरासी बर्दघाटमा भएको हो । उहाँको परिवारमा बुबाआमा, दाजुभाउजू, भतिज, भतिजी र श्रीमती हुनुहुन्छ । उहाँले बाल्यकालदेखि नै आध्यात्मिक र साहित्य संगितमा रुचि राख्नुहुन्थ्यो । उहाँलाई सानैदेखि आध्यात्मिकतामा रुचि भएको कारण साधुसन्त देख्दा माया लाग्थ्यो । मन्दिरमा बस्न र साधुसन्तसँग कुरा गर्न उहाँलाई असाध्यै मन लाग्थ्यो ।

उहाँ आफ्नो गुरु ओसोबाट ध्यानहरु सिक्ने र ध्यानहरु गर्ने गर्नुहुन्छ । उहाँको संगीतमा पनि आध्यात्मिक र सकारात्मक कुराहरु नै पाउन सकिन्छ । परिवारमा संगित क्षेत्रमा नै लागि परेर काम गर्ने उहाँ मात्रै भएपनि उहाँको बुबा राम्रो गित गाउनु हुन्छ । उहाँलाई मन पर्ने गजल संगीत, मन्त्र, ध्यान र आध्यात्मिक कुरा हो । उहाँ गजल संगीतसँगै आध्यात्मिकताको महासागर हुनुहुन्छ ।

बाल्यकाल र पढाइ

आफ्नो बाल्यकाल सम्झदा सुवास भन्नुहुन्छ,‘सानैदेखि धार्मिक आध्यात्मिकतामा रुचि भएको कारण बुबाले काँधमा राखेर गाउँको शिवालय लैजानुहुन्थ्यो । शिवालयमा भजन गाउने, नाच्ने र ध्यान गर्ने हुन्थ्यो । त्यसरी नै नाच्दै, गाउँदै र ध्यान गर्दै बाल्यकाल बित्दै गयो । स्कुलमा पढ्दै जाने क्रममा दार्जिलिङबाट आउनुभएका गुरुहरु हुनुहुन्थ्यो । उहाँहरुले गितार, तबला जस्ता बाजागाजा ल्याउनु हुन्थ्यो । त्यसले गर्दा गायन सँगसँगै बाजागाजा बजाउनुलाई पनि रुचि बढ्न थाल्यो । विद्यालयमा गाउने बालगीत, राष्ट्रियगान गायनमा पनि सधैं अगाडि बसेर गाउने गर्नुहुन्थ्योे ।

विद्यालयमा पढ्दा अन्य विषय भन्दा नेपाली साहित्यमा रुचि बढी थियो । त्यसैकारण नम्बर पनि नेपाली साहित्यमा बढी आउँथ्यो । सुवास भन्नुहुन्छ,‘मैले मेरो मम्मिको साथिले पठाउनुभएको चिठी पढेर पहिलो पटक कक्षा ४ मा पढ्दा कविता लेखेको थिए । त्यो चिठीमा निकै भावुकता थियो ।

त्यसपछि निरन्तर रुपमा गित, कविता लेखेर विद्यालयमा सुनाउने गर्थे । त्यसैगरि माध्यमिक तह सके । त्यसपछि मेजर इङलिस विषयमा प्लस टु पढ्दै बुटवलको बागेश्वरी संगितालयमा संगित पनि सिके ।’ बुटवलबाट प्लस टु सकेपछि उहाँ काठमाण्डौ लाग्नुभयो । काठमाडौ आएपछि तबला बाधक राम अतुल सँग भेट भयो । उहाँले तबला बजाउनु हुन्थ्यो र मैले हर्मोनियममा गित गाउँदै धेरै सिक्दै गयौ उहाँले भन्नुभयो ।

सुवासले मेजर इङलिसमा मास्टर डिग्री गर्नुभएको छ । अङ्ग्रेजी साहित्य पढ्ने क्रममा संसारभरीकै साहित्य पढ्ने मौका मिल्यो । त्यसमध्ये नेपाली साहित्य, संस्कृत साहित्य अरु साहित्य भन्दा धेरै उन्नत रहेको उहाँ बताउनुहुन्छ ।सुवासले नेपाली साहित्यलाई अनुवाद गर्ने र भबिष्यमा उपन्यास लेख्ने चाहना रहेको पनि योजना सुनाउनुभयो ।

बाल्यकालदेखि नै गजलमा रुचि

गजल यात्रामा लाग्नुअघिको बाल्यकालबारे उहाँ भन्नुहुन्छ,‘बाल्यकालमा पढ्न बस्दा रेडियो बजाउँदै गृहकार्य गर्ने गर्थे । त्यति बेलो अल ईन्डिया रेडियो र लखनउको रेडियोबाट गजल बज्दा अन्य संगीत भन्दा निकै फरक लाग्थ्यो । त्यसपछि नेपाली र हिन्दी गित र अन्य गित भन्दा फरक फरक किसिमको गजल सुन्न थाले ।

त्यसरी गजल सुन्दै जाँदा गजल के रहेछ, कस्तो रहेछ, अलग्गै सुन्ने र अलग्गै राम्रो लाग्ने गर्न थाल्यो । त्यसकारण फरकपन भएको कारण यसैमा रुचि बढ्दै गयो । त्यसपछी गजल गाय र संगित सिकेको भएर गजल गाउन सजिलो पनि भयो । यसरी नै गजल संगीतमा प्रवेश गरे ।’

      ‘छ के के लुकेको सजल ती नयनमा’ : गजल गायन यात्रा सुरु

सुवास कडेलले बुटवलको बागेश्वरी संगितालयमा ४ वर्ष संगित सिक्नुभयो । संगीत यात्रा बारे उहाँ भन्नुहुन्छ,‘संगीत सिक्दै पढ्दै जाने क्रममा बर्दघाटमा गजल लेखन तालीम आयोजना हुँदै थियो । त्यस ठाउँमा बुवाको साथी डाक्टर घनश्याम परिश्रमी उहाँ हाम्रो निकै नजिक हुनुहुन्थ्यो।

उहाँ नेपालको राष्ट्रिय स्तरमा सम्मान पाउनु भएको वरिष्ठ गजलकार एवं कवि हुनुहुन्छ । मैले उहाँको गजलहरु धेरै पढ्ने अनि गजलमा गितारको माध्यमबाट संगीत भर्ने पनि गर्थे । त्यसै समयमा गजल लेखनको तालीम आयोजना हुने भयो । उहाँलाई मैले संगित पढेको भनेर थाहा भएको कारणले गर्दा उहाँले मलाई त्यस कार्यक्रममा गजल गाउने मौका दिनुभयो ।

त्यही कार्यक्रममा मैले पहिलो चोटि संगीत र गायनमा गजल प्रस्तुति दिएको थिए । मैले गाएको पहिलो गजल,‘छ के के लुकेको सजल ती नयनमा, म देखिरहेछु गजल ती नयनमा’ हो । यहि गजल गायनबाट उहाँ अगाडि बढ्नुभयो । ‘मेरो आवाज बुटवलदेखि नारायणघाटसम्मका एफएमहरुले रेकर्ड गरेर बजाउन थाले । आफ्नै आवाज विभिन्न रेडियो, एफएमहरुबाट बज्दा एकदमै राम्रो लाग्थ्यो ।’

एच बी सी एफएममा २ घन्टा लामो अन्तर्वार्ता

विक्रम संवत् २०६० मा उहाँले गजल गाउनुभयो । तिनचुलेमा रहेको एच बी सी एफएममा अचुत घिमिरे उद्घोषण हुनुहुन्थ्यो । उहाँले अन्तर्वार्ताका लागि बोलाउनुभयो । त्यस अन्तर्वार्तामा १०/१२ वटा गजल गाएर २ घण्टा लामो अन्तर्वार्ता दिएको सुवास सुनाउनुहुन्छ । त्यो अन्तर्वार्ता २ हप्ता अलग अलग तरिकाले बज्यो । त्यसपछि २०६४ तिर उहाँले रेडियो नेपालमा स्वर परिक्षा दिनुभयो ।

स्वर परिक्षा दिएपछि स्वर परिक्षा पास गरेर आधिकारिक रुपमा सरकारले आधुनिक गायकको रुपमा सर्टिफिकेट पनि दियो । यसरी नै गायन क्षेत्र अगाडि बढ्दै गयो । त्यही क्रममा नेपाल एफएममा पनि जागिर खानुभयो । विभिन्न रेडियोमा कार्यक्रमहरु चलाउने, गजल गाउने र विभिन्न गजल गायन संस्थाहरुमा आवद्ध भएर गजल गायनमा अगाडि बढ्दै जानुभयो । र अझै पनि गजल गायनमा हुनुहुन्छ । दुई वर्ष अगाडि ‘गजलको सुवास’ निकालेका उहाँ अहिले अर्को एल्बम आउने तयारीमा हुनुहुन्छ ।

सुवास अगम एन्ड फ्रेन्ड ब्यान्ड एन्ड सुफी नाइट कन्सर्ट 

उहाँले ब्यान्ड बनाउनुभएको छ । ‘सुवास अगम एन्ड फ्रेन्ड’ ब्यान्डको माध्यमबाट विभिन्न ठाउँमा गएर कन्सर्टहरुमा सहभागी हुँदै गजल गायनलाई अगाडि बढाउनुभएको छ । यो यात्रा निरन्तर जारी नै छ । यसरी नै अगाडि बढ्दै दुई सय भन्दा धेरै गजल लाइभ युटुबमा छन् । अहिले यहि गजल गायकको रुपमा धेरैले माया पनि गर्नु भएको छ ।

धेरै गजलहरुमध्ये सर्वाधिक चर्चित गजलहरुमा के के लुकेको, सुन झै हजार चोटि खारेको जिन्दगी हो, मधुशाला, सिँघारी पटारी, जुनको अधर, जे जे पर्लापर्ला, म बजाउँछु तिमी गाउन’ लगायतका धेरै गजलहरु छन् ।

आफ्नो संगीत र गजल गायन सबै राम्रो लाग्ने

उहाँलाई सबैभन्दा मनपर्ने आफ्नो गजलबारे सोध्दा उहाँ भन्नुहुन्छ,‘आफुले गाएको सबै गजलहरुमा आफै संगित भरेको छु । गाएको र संगीत भरेको सबै गजलहरुसंग छुट्टै आफ्नोपन र विशेषता हुन्छ तर पनि पहिलो गजलको रुपमा ‘छ के के लुकेको’ गजल सर्वाधिक मनपर्ने गजलमा पर्छ ।

म गजल संगीतमा आफ्नो मनको कुरा र आध्यात्मिकलाई प्रस्तुत गर्ने गर्छु त्यसको आधारमा भन्ने हो भने ‘जुनको कुनै देश हुँदैन, घामको कुनै भेष’ गजल अति नै मनपर्ने मध्येमा पर्छ । उहाँ भन्नुहुन्छ,‘परमात्माले हामीलाई जीवन दिनुभयो, संसार दिनुभयो, पृथ्वी धर्ती, आकाश सबै कुरा दिनु भयो जसको माध्यमबाट हामी संसारमा जीवन निर्वाह गरिरहेका छौ । त्यसको लागि धन्यवाद दिनुपर्छ ।’

सुवास अगमले गजल गायनमा एक नया विधा ल्याउनु भएको छ ,त्यो हो दिव्या गजल।

गजल गायन र संगित सँगै ‘द सिक्रेट अफ लाईफ’ संचालन

‘मैले पुज्ने भगवान र प्रार्थना पनि संगित नै हो । संगित गजल गायन नै जीवन हो । उहाँ भन्नुहुन्छ,‘अरुले मन्दिरमा भगवानलाई फुलपाती चढाएर पूजा गर्छन् भने म गाएर–बजाएर चढाउने गर्छु । मेरो लागि सबैभन्दा पवित्र संगीत नै हो ।’ संगित बाहेक ‘द सिक्रेट अफ लाईफ’ आफ्नै यूटुब च्यानल सुवास अगमबाट चलाउने उहाँ बताउनुहुन्छ । हरेक हप्ताको दुई पटक गुरुहरु र जीवन दर्शनका ज्ञातासँग आध्यात्मिकता र जगत् जीवनबारे चर्चा हुन्छ । जीवन के हो ? जीवन किन ? कसरी खुसी र सफल बनाउन सकिन्छ भनेर ज्ञान बाढ्ने काम हुन्छ ।

नयाँ पुस्तालाई संगितसँगै अरु विषय पनि सिकेर आउन सल्लाह

यो क्षेत्रमा लाग्न चाहने नयाँ पुस्तालाई संगितसँगै अरु विषय पनि सिकेर आउन उहाँको सुझाव छ । संगीत सँगसँगै प्राबिधिक बिषयमा पनि केहि सिकेर आएमा संगीत क्षेत्रमा टिक्न सजिलो हुन्छ । संगीत क्षेत्रमा लागेपछि कसैले तपाईको गित संगीत सुन्दा ओहो कस्तो राम्रो गित संगीत, यस्तो गित संगित सुन्न पाए भन्ने होस् । अनि गित गाएर भाईरल हुनु भन्दा गित संगीत राम्रो बनाउनु, उत्कृष्ट बनाउनु ठुलो कुरा हो ।

चर्चामा आउनु मात्र ठुलो कुरा होईन । उहाँ भन्नुहुन्छ,‘आफुले गरेको संगीत या गायन राम्रो छ भने आफ्नो भौतिक शरीर यो संसारमा नरहे पनि हजुरले गाउनु भएको गित संगीत अमर हुन्छ । त्यसैले संगीत क्षेत्रमा आउनु चाहने पुस्ताले संगित सिकेर आउनु पर्छ । त्यसको साथसाथै नयाँ पुस्ताले पुरानो पुस्तालाई सम्मान गर्नुपर्छ र पुरानो पुस्ताले गरेको गल्ती र राम्रो काम दुबैबाट सिक्नु पर्छ ।’ संगीतमा गितार, हार्मोनियम या अरु बाजा एउटा साधनलाई मुख्य सिकाई बनाउनु आवश्यक छ । बाद्यबादनमा बाजागाजा अनिवार्य नै भयो ।

गायक नै भएपनि एउटा न एउटा बाजा बजाउन जाने राम्रो हुने उहाँ बताउनुहुन्छ । गितार बजाउन जानेको धेरै राम्रो । किनभने गितार यस्तो बाजा हो जसमा सुर र ताल दुबै हुन्छ । त्यसको साथ साथै संगित संयोजकको काम जानेर यो क्षेत्रमा लागे जीवन निर्वाह गर्न सहज हुनेछ ।

 

[sidebar name="button post"]