समिता श्रेष्ठ
काठमाण्डौको सञ्जय पोखरेल मासिक १०० अभियान नेपालका अध्यक्ष हुनुहुन्छ । उहाँ अहिले कोरोना संक्रमितको सेवामा खटिनुभएको छ । पोखरेल आफै पनि कोरोना संक्रमित भएर निको भैसक्नुभएको छ । सामाजिक कार्यमा खटिने उहाँ कोरोना संक्रमितकै सेवामा लाग्दा आफै संक्रमित बन्नुभयो ।
पोखरेलको अनुभवमा कोरोना संक्रमण
अरुलाई कोरोना संक्रमण नहुँदै पनि डर छ । त्रास छ । संक्रमण पुष्टि भएपछि पनि डर उत्तिकै हुने गरेको छ । तर कोरोनालाई जितेका पोखरेल भन्नुहुन्छ,‘जब मलाई कोरोना पोजेटिभ भएको थाहा भयो । त्यो बेला पनि मलाई मन भित्र कुनै डरको महसुस नै भएन । कोरोना भयो ठिकै छ, यसलाई सामान्य रुपमा नै लिएर ठिक गर्नुपर्छ भन्ने सोंच आयो ।’
कोरोना पोजेटिभ हुनुअघि नै संक्रमित भैहालेमा कसो गर्ने, अरुलाई संक्रमण हुन नदिन के कस्ता सावधानी अपनाउने भनेर पहिल्यै मनस्थिति बनाएको उहाँ बताउनुहुन्छ । ‘संक्रमण अर्थात् पोजेटिभ भएको एसएमएस मोवाइलमा देखेपछि मेरो मनमा सबैभन्दा पहिले अब मैले प्लाज्मा दिन पाउने भएँ भन्ने मात्रै साेंच आयो ।’ उहाँ भन्नुहुन्छ,‘त्यो सोंचले गर्दा पनि मलाई अझै अलिकति सहज भयो । जब म १४ दिनपछि कोरोना ठिक भएँ त्यसपछि जसलाई प्लाज्मा थेरापी गर्न ब्लड चाहिन्छ, दिन तयार भएको छु ।’
संक्रमण नहुँदै होम आइसोलेसनमा
कोरोना बिरुद्ध लड्न मासिक सय अभियान अन्तर्गत टिम बनेको छ । टिममा धेरै जसो कोरोना पोजेटिभ भैसकेका सदस्य हुनुहुन्छ । पोखरेल भन्नुहुन्छ ‘प्लाज्मा थेरापीको माध्यमबाट अरु कोरोना बिरामीको उपचार गर्नु सकिन्छ, त्यसका लागि रगत चाहिन्छ । त्यो रगत जुटाउने अभियानमा हिँड्नुपर्छ भन्ने सोंचले पनि कोरोना जित्न मलाई सहज भयो ।’
सामाजिक काम गर्दै हिँड्ने क्रममा उहाँलाई कोरोना देखियो । अरु साथीहरुलाई कोरोना भैसकेपछि शंका लागेर उहाँ परिवारलाई संक्रमण हुन नदिनेतर्फ बढी ध्यान दिन थाल्नुभयो । अनि उहाँ होम आइसोलेसनमा बस्नुभयो । ‘म होम आइसोलेसनमा बस्दा पनि पोजेटिभ नै छु भन्ने हिसाबले बस्न थालें जबकी मेरो रिपोर्ट पनि आएको थिएन । जब ७/८ दिन पछि कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आयो, त्यसपछि मैंले राम्रो काम गरेछु भन्ने लाग्यो । घरमै सुरक्षित रुपमा बसेर परिवारका सदस्य तथा साथीभाई र अरु छिमेकीलाई सारिन । यो कुरामा खुसी भएँ । म आफू भने कोरोनालाई जित्न सक्छु भन्ने मनोबल नै थियो ।’
समस्याहरु
आफू कोराना पोजेटिभ भएँ। म कोरोनालाई जित्छु भन्ने उच्च मनोबल लिएको थिएँ । जब कोरोना लाग्यो त्यसपछि ७/८ दिनसम्म मलाई कुनै समस्या भएको थिएन । ७/८ दिनपछि सामान्य ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने भयो । सबै सामान्य नै थियो । कोरोना पोजेटिभ देखिने अरु साथीभाइसँग दैनिक रुपमा फोनमा कुराकानी भैरह्यो । कोरोना जितेपछि हामिले समाजमा के गर्ने त ? संक्रमणको यो बेला अरुलाई पनि सहयोग गर्ने अवसरलाई कसरी सदुपयोग गर्ने ? यहि सोचेर छलफल गर्दै गयौं । त्यो योजनाले गर्दा पनि होम आइसोलेसनमा समय बितेको पत्तै भएन ।
टिममा काम
हाम्रो मासिक १०० अभियान नेपालको टिमले कोरोना लागेर बसेका ब्यक्तिहरु जो एकदमै त्रसित हुनुहुन्छ । उहाँहरुलाई सहयोग गर्न हामिले कोरोना जितिसकेपछि एउटा समूह बनायौँ । कुनै घरमा घरबेटीले ढोकाबाट बाहिर पनि निस्कन नदिने, एक्लो ब्यक्ति घरभित्र बस्दा खाना खान पनि समस्या हुने जस्ता विभिन्न अप्ठारोमा परेकाहरुलाई सहयोग र हौसला दिँदै आएको छ । कतिपय ब्यक्तिले कोरोनालाई जित्न असफल भएको पनि देखियो ।
त्यो असफल हुनुको मुख्य कारण कोरोनालाई रोग मात्रै नसोचेर मानसिक रुपमा तनाव लिएर गाह्रो भएको हो कि जस्तो लाग्छ । ‘हाम्रो टिमले संक्रमित व्यक्तिलाई मनोपरामर्श दिँदै आएको छ । उहाँ भन्नुहुन्छ,‘जुम क्लासको माध्यमबाट पनि सकारात्मक संदेश प्रवाह गर्दै आएका छौँ । त्यतिमात्र होइन घरमै पनि पुग्ने गरेका छौँ ।’
सल्लाह र सुरक्षित हुने उपाय
कोरोना भनेको सामान्य रुघाखोकी हो तर हल्का रुपमा लिनु भने हुँदैन । सतर्कता अपनाउनु र संक्रमण हुन नदिनु नै राम्रो हुन्छ । संक्रमण भैहाले अघिपछि तपाईं ज्वरो आउँदा के गर्नु हुन्छ, त्यहि गर्नुस् । सकारात्मक सोंच बनाउनुस् । डर हटाउनुस् । मनोबल उच्च राख्नुपर्छ । तातो पानी, अदुवा पानी सधैं झै खाने गर्नु । जो कोहि घर छिमेकमा कोरोना पोजेटिभ हुनुहुन्छ भने समस्याबारे सोधेर सहयोग गर्नुस् । पोखरेल भन्नुहुन्छ,‘सुरक्षित रुपमा संक्रमितलाई भेटेर तपाईंलाई अप्ठारो भए भन्नुस् हामी आउँछौ भन्ने एउटा बचन र आत्मबल दिनुस् कोरोना संक्रमणबाट थलिएकै बिरामी भएपनि जुरुक्क उठ्न सक्छ ।’












