समिता श्रेष्ठ
महामारीको समयमा तिहार पर्व आएको छ । यो तिहारमा भिडभाड नगरी आफ्नो परिवारको सदस्य बिच मात्रै रहेर परम्परा धान्ने सोंच छ । कोरोनाकै बिच यसपालिको दशैं गयो । दोस्रो ठुलो पर्व तिहार पनि नजिकिदैछ । बिगत वर्षहरूमा जस्तो चाडपर्वको रौनक छैन । कोरोनाको महामारीमै तिहार मनाउने धेरैको तयारी छ ।
कालिन्चोकका नवराज प्रसाईं
कालिन्चोक गाउँ पालिका वडा नम्बर ९ दोलखामा बस्नुहुने नवराज प्रसाईं भन्नुहुन्छ, नजिकै आईरहेको तिहार कोरोना महामारीसँग जुधेरै मनाउनुपर्ने बाध्यता छ । कोरोनाले विभिन्न अरू क्षेत्र जस्तै चाडपर्वमा पनि असर पारेको छ । पहिले जस्तो साथीहरू जम्मा हुने, रमाइलो देउसीभैलो खेल्ने, नाचगान गर्ने वातावरण छैन । घरमै बसेर आफ्नो परिवारसँग बसेर आफू सुरक्षित रहेर अरुलाई पनि सुरक्षित राख्ने हिसाबले भिडभाडरहित पर्व र धर्म, संस्कृतिको रुपमा मनाउने हो । कोरोना महामारीको प्रकोप दिनप्रतिदिन बढिरहेको कारण आम्दानी कम छ। ब्यापारलाई पनि असर परेकोले सरल तरिकाले, थोरै खर्चमा मनाउने योजना रहेको छ ।
यो विषम परिस्थितिमा चाडपर्वलाई प्राथमिकता दिने भन्दा पनि स्वास्थ लाई ख्याल गर्ने हो । हाम्रो स्वास्थ राम्रो भएदेखि चाडपर्व भनेको फेरि फेरी आउने गर्छ । यो पटक आफ्नो स्वास्थ्यमा ध्यान दिएर मनायौ भने फेरि अर्को पटक रमाइलोसंग मनाउने वातावरण आउन सक्छ । पहिलो प्राथमिकतामा ब्यक्ती स्वस्थ हुनुपर्यो । त्यसैले दिपावलीमा भिडभाड नगरी, देउसी भैलो कार्यक्रम नगरी सामाजिक दुरि कायम गरि आफू संयमित भएर सरकारको तोकेको मापदण्ड पूरा गरेर मनाउने योजना छ ।
किर्तिपुर बस्ने पुष्पा निरौला 
काठमाडौ किर्तिपुरमा बसोबास गर्नुहुने पुष्पा निरौला भन्नुहुन्छ,तिहार सधैं झैँ हर्ष उल्लासका साथ मनाउने इच्छा भएपनि कोरोना महामारीका कारण अघिल्ला बर्षमा झैँ नमनाउने निर्णय गरेको छु।
चाडबाड मा गरिने विभिन्न किसिमका किनमेल, भेटघाटका कारण कोरोना जोखिम अझ बढ्न सक्ने भएकाले सम्पूर्णको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आफ्नै घरमा तडक भडक नगरी धर्म संस्कृतिको संरक्षण गर्ने हेतुले मात्र यसपालिको तिहार मनाउनुपर्नेछ ।
पहिलाको चाडपर्व मान्ने तरिकालाई केही फरक बनाउनुपर्नेछ । रमाइलो गर्ने इच्छा भन्दा पनि आफ्नो र आफ्नो परिवारको स्वाथ्यलाई ध्यान मा राखेर चाडपर्व मानौ पनि भन्न चाहन्छु ।
भक्तपुरका जोरा बिष्ट
भक्तपुरमा बसोबास गर्दै आउनु भएका जोरा बिष्ट भन्नुहुन्छ,ञ हाल म भक्तपुर बस्दै आए पनि मेरो घर कालिकोटमा छ । यहाँ आएर बसोबास गर्न लागेको लगभग ८र१० बर्ष भयो । बिगतको केही बर्षको तिहारमा पनि गाउँघर नगए पनि काठमाडौमा नै साथीहरूसंग भेटघाट हुन्थ्यो । गाउँ नगए पनि यहि साथीहरूसंगै देउसिभैलो खेल्ने गर्थे । तर यसपाली झन् कोरोनाको कारण गाउँ घर जाने कुरै भएन ।
अनि त्यसमाथी यो कोरोनाको महामारीबाट म स्वयंम पनि अछुतो रहिन । केही दिन अघि मैले संक्रमण जिते । त्यसैले तिहारको खासै केही योजना छैन । कहिले परिस्थिति र कहिले बाध्यताले तिहारमा घर नगए पनि ३र४ बर्ष भैसक्यो। यसपालि झन् कोरोनाले गर्दा जान पनि मन छैन । पहिले र अहिलेमा परिवर्तन यहि हो पहिले घर नगए पनि साथीहरूसंग रमाइलो गरेर मनाउथें भने यसपालि एक्लै घरमा नै बस्छु।
कलङ्की बस्ने मञ्जु बिश्वकर्मा
काठमाडौ कंलकी बस्दै आउनु भएको मन्जु बिश्वकर्मा भन्नुहुन्छ,घर अर्घाखाँची भए पनि हाल काठमाडौ कंलकीमा बस्दै आईरहेको छु । कोरोनाको कारणले चाडपर्वमा पनि घर जान पाएको छैन । परिवारसंग पनि सामाजिक दुरि कायम गरि बस्नु पर्ने स्थिति छ । पहिले गाउँघरमा हुँदा तिहार रमाइलो नै हुन्थ्यो । घरपरिवारबाट टाढा बसोबास गर्दै आउनु भएका आफन्तहरु पनि तिहारमा घर आउने गर्नुहुन्थ्यो । एक जना दाइ हुनुहुन्छ टीका लगाउथ्यौं ।
जे जस्तो भए नि तिहार रमाइलो नै हुने गर्थौ। तर यसपालि कोरोनाको कारण एकदमै गाह्रो भै रहेको छ । सवारी साधन चढेर जान परिस्थिति अप्ठ्यारो छ । आजकल बच्चाहरुले अननलाईन क्लास लिए जस्तै दाजुभाइ दिदिबहिनीको तिहार पनि अननलाईन होला जस्तो छ । उताबाट दाई अनलाईन आउने र यताबाट दिदिबहिनी अनलाईन आउने, यसैगरि सामाजिक दुरि कायम गरेर मनाउने योजना छ ।कोरोनाको कारणले तिहार पहिलेको जस्तो रमाइलो हुदैन खल्लो हुन्छ ।
गोकर्णेश्वर बस्ने प्रकाश अधिकारी
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ अत्तरखेल बसोबास गर्नुहुने प्रकाश अधिकारी भन्नुहुन्छ, पहिले तिहार परिवार साथीहरूसंग एकदमै रमाइलोसंग मनाउने गर्थौ । देउसीभैली कार्यक्रमहरु पनि साथीहरूसंग मिलेर गर्थौ। त्यस्तै लक्ष्मीको पूजाको लागि भिडभाडमा गएर सामानहरु खरिद गरिन्थ्यो । तर यो बर्ष चाडपर्व मात्रै नभएर कोरोना पनि आएको छ । देशमा कोरोनाको प्रकोप एकदमै बढिरहेको छ । हामी जनताहरुमा त्रास उत्पन्न पनि भएको छ । त्यै पनि कोरोनासंग लुकेर बस्न सकिरहेको छैनौं । आफ्नो घर ब्यवहारहरु पनि चलाउनु नै पर्ने हुन्छ ।
हरेकको रोजिरोटिको सवाल पनि हुने गर्दछ । कोरोनाले मार्ने डर भन्दा पनि भोकमरीले मर्ने सम्भावनाबाट मानिसहरू पिरोलिरहेको अवस्था छ । यो महामारीको समयमा तिहार पर्व आएको छ । यो तिहारमा भिडभाड नगरी आफ्नो परिवारको सदस्य बिच मात्रै रहेर परम्परा अनुरुप तिहार मनाउने सोंच छ । साथीहरूसंग भेटघाट रमाइलो देउसी र भैलो यसपालि गर्न सक्ने स्थिति पनि छैन र गर्दैनौ । कोरोनाको कारणले ब्यापार ब्यवसाय ठप्प भएको छ । कुनै पनि खर्च गर्नु भन्दा पहिले ३ चोटि सोच्नु पर्ने अवस्था आएको छ । अत्यावश्यक बाहेक अन्य खर्चहरु गर्न सक्ने स्थिति छैन । यो कोरोनाको महामारी बाट छिटै मुक्त हुन सकौ भने अपेक्षा गर्छौ ।
इमाडोलका सुरेश मानन्धर
ललितपुर इमाडोल बस्ने सुरेश मानन्धर भन्नुहुन्छ, मेरो घर पकरबास रामेछाप हो । हिन्दुहरुको दोश्रो महान पर्व तिहार अर्थात् बत्तिहरुको पर्व दीपावली आफ्नो आमा बाबा दिदीबहिनीसंगै गाउँघरमै गएर मनाउने सोंचमा छु।
वर्षैपिच्छे आउने भएपनि यो सालको तिहार पहिले भन्दा फरक हुनेछ । कोरोनाको महामारीमा स्वस्थ्य र अरु जोखिमको अवस्थालाई ध्यानमा राखेर तिहार पर्व मनाउने सोंच छ ।
बेलबारी बस्ने कविता चापागाईं ।
बेलबारी ८ मोरङमा बस्नुहुने कविता चापागाईंको पनि तिहार मनाउने योजना बनिसकेको छ । तर अघिल्ला वर्षभन्दा फरक । उहाँ भन्नुहुन्छ,हिन्दुहरुको दोस्रो महान चाड दिपावली सबैको घर आँगनमा आईसक्यो । तर बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारणले गर्दा बिगतको बर्षहरु जस्तो हर्सोउल्लासको साथ मनाउने वातावरण छैन। जस्तै दशैंमा पनि कुनै रमझम भएन। गाउँघरतिर पहिले लिंगे पिङ्ग हालेर साथिभाइ, आफन्त भेला भएर रमाइलोको साथ मनाउथ्यौ भने अहिले सुनसान छाएको थियो ।
आफ्नो घरमा मात्र टीका आशिर्वाद थापेर मनाइयो भने अरु सबैले पनि त्यसै गर्नु भएको थियो । अहिले पनि झनझन संक्रमित बढ्दै रहेको कारणले गर्दा दिपावलीमा पनि देउसी भैली, नाचगान विभिन्न कार्यक्रमहरु केही नगरी सबै भन्दा ठुलो सम्पत्ति आफ्नो स्वास्थ हो भन्ने सोचेर आफ्नो परिवारमा मात्रै सिमित भएर आफ्नो साथीहरू, आफन्तहरुसंग सामाजिक दुरि कायम गरि मनाउने योजना छ । जब हामी स्वयं सुरक्षित हुन्छौँ । तब नै आफ्नो घर, परिवार, आफन्त, समाज र राष्ट्रलाई सुरक्षित राख्न सक्छौँ । त्यसैले यसपाली भौतिक दुरि कायम गरि भिडभाड नगरी आफ्नो परिवारसंगै तिहार मनाउने योजना छ।









