रमिता दंगाल
काभ्रेको अर्खौलेमा वि.सं. २०२५ सालमा जन्मे हुर्कनु भएकी शान्ता थापा उमेरले ५२ पुग्नुभयो । वि.सं २०५४ सालदेखि समाजसेवा गर्न थाल्नु भएकी उहाँले अहिले पनि सामाजिक कार्यलाई छोड्नुभएको छैन । सामान्य खेतिकिसान गर्ने परिवारमा जन्मिनु भएकी थापाको बाल्यकाल भने सुख भन्दा दुःख भोगेरै बित्यो ।
बुवा, आमा र एउटा दाईलाई गुमाएपछि
बाल्यकाल जतिबेला आमा बुवाको माया र साथ चाहिन्थ्यो, त्यतिबेला आमाको काख, बुवाको माया नपाएरै बित्यो । बुवाको अनुहार समेत उहाँलाई याद छैन । आमाको मृत्यु हुँदा पनि थापा मात्रै ४ वर्षकी हुनुहुन्थ्यो । आमाको न्यानो काख र बुवाको माया केवल कल्पनामा रह्यो । दुई दिदी र तीन जना दाई भएकाले परिवारमा कान्छी उहाँ दिदी र दाईहरुको माया र स्याहारमा हुर्किनु भएको हो । दिदी र दाईहरुको माया ममता नै उहाँका लागि बाँच्ने आधार बन्यो । थापाले एउटा दाईलाई समेत गुमाइसक्नुभएको छ ।
जिवनका कतिपय असहज, अप्ठारा र भूल्नै नसक्ने क्षण उहाँ माझ रहेका छन् । तर असहज परिस्थितिलाई पनि सजिलो मानेर अगाडी बढ्दै गरेकी थापा भन्नुहुन्छ,‘जिवन एउटा संघर्षको मैदान हो, आफुले गर्नुपर्ने कर्तव्य, दायित्व र जिम्मेवारीबाट पन्छिन हुँदैन । भाग्न हुँदैन ।’
काभ्रेबाट काठमाण्डौ
लामो समयसम्मको काभ्रेको बसाईपछि उहाँ दाईहरुसँग शहर आउनुभयो । त्यसपछि दाईको बिवाह भयो । दाई भाउजुसँगै बस्नुभयो । स्कुल गएर पढ्नुपर्ने बेलामा उहाँले पढ्न लेख्न अवसर पाउनु भएन । सामान्य लेखपढ नै उहाँका लागि सबथोक भयो ।
बैवाहिक जिवन
२०४२ सालमा काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका गोठाटार वडा नं ९ , दिर्गायुटोलका मदन थापासँग उहाँको बिवाह भयो । उहाँ अहिलेसम्म पनि संयुक्त परिवारमा बस्दै आउनु भएको छ । बैवाहिक जिवन अहिलेसम्म सहज बितेको उहाँ बताउनुहुन्छ । ‘बिवाह गरेर आउँदा सासु हुनुहुन्नथ्यो, ससुरा बुवा हुनुहुन्थ्यो उहाँको निधन भएको १५ वर्ष भयो ।
अहिले परिवारमा उहाँको श्रीमान्, देवर–देउरानी र उहाँ हुनुहुन्छ । एउटी नन्दको पनि बिवाह भैसकेको छ । एक छोरा र दुई छोरी गरी तीन जना सन्तानकै बिवाह भैसकेको थापा बताउनुहुन्छ ।
सामाजिक कार्यमा संलग्न र लगाव
गाउँघरमा जन्मेकी, किसान परिवारकी छोरी उहाँ बिवाहपछि पनि खेति किसानी मै रमाउनुभयो । सँगसँगै सामाजिक कार्यमा संलग्न हुन थालेको २४ वर्ष भैसकेको छ । ‘हाम्रो समाजमा अझै जति छोरा मान्छेलाई सहज छ, त्यति बुहारीहरुलाई छैन । छोरा मान्छेको तुलनामा महिलाहरुको घरप्रति धेरै जिम्मेवारी र दायित्व रहेको हुन्छ । उहाँ भन्नुहुन्छ,‘ सामाजिक कार्य गर्न सहज छैन । तैपनी घरको काम धन्दा सकाएर सामाजिक सेवा र कामहरुमा समय दिने गरेको छु ।’ उहाँले दिनदुखीहरुलाई सहयोग गर्दै आउनुभएको छ ।
वि.सं २०५४ सालमा उहाँ जनप्रतिनिधि हुनुहुन्थ्यो । सरकारले त्यति बेला एउटा वडामा एउटा महिला सदस्य राख्न पाउने नीति लिएको थियो । उहाँ महिला सदस्य भएर काम गर्नुभयो । त्यसपछि निरन्तर सामाजिक कार्यमा लागिरहनु भएको छ ।नगर जागरण गृहणी वैकल्पिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी निर्बाह गर्दै आउनु भएको छ। उहाँ नेकपाको काठमाण्डौ जिल्ला कमिटि सदस्य पनि हुनुहुन्छ ।
उहाँले गर्नुपर्ने, गर्न सक्ने तथा आइपरेका हरेक काम गर्नुहुन्छ । उहाँ कहिल्यै पनि आफ्नो कर्तव्यबाट पन्छिनुभएन । ‘हाम्रो सानो सहयोगले कसैको ओठमा मुस्कान आउँछ भने किन सहयोग नगर्ने ? उहाँ भन्नुहुन्छ,‘दिनदुखीहरुलाई सहयोग गर्दा आत्मसन्तुष्टी मिल्छ ।’
सामाजिक कार्यमा परिवारको साथ
पहिले नेपाली समाजमा छोरी मान्छे घरको काममा मात्र सिमित हुनुपर्ने अवस्था थियो । बाहिर हिँडे, घरधन्दा बाहेकका अरु काम गरेको मन नपराउने चलन थियो तर अहिले समय फेरियो । ‘ससुरा बुवा म सामाजिक काममा हिँडेको पटक्कै मन पराउनुहुन्थ्यो, थापाले भन्नुभयो,‘छोरी मान्छे घरमै बसे राम्रो हुन्थ्यो भन्ने भावना राख्नुहुन्थ्यो ।’
ससुराबुवा हुँदासम्म कठिन नै थियो । त्यति बेला कुनै कार्यक्रम, सभा समारोहमा जानुपर्यो भने लुकेर, छलेर नदेख्ने गरी जानुपर्ने अवस्था थियो । त्यसका लागि श्रीमानको एकदमै साथ र सहयोग थियो । उहाँ बिगत सम्झदै भन्नुहुन्छ,‘ससुरा बुवाको कुरा सुनेर साथ नदिनु भएको भए अहिले म यो पहिचान र ठाउँसम्म आउने थिइन ।’ श्रीमानले जहाँ पनि पुर्याउन र लिन जानेसम्म गर्नुहुन्थ्यो ।
अहिले पनि उहाँले निरन्तर सहयोग गर्नु भएको छ । अहिले सामाजिक क्षेत्रमा आफ्नो परिचय दिन र आवाज उठाउन सक्ने भएको यो श्रेय उहाँ श्रीमान्लाइ दिनुहुन्छ । उहाँका श्रीमान् मदन थापा नेपाल टेलिकमबाट रिटार्यड हुनुहुन्छ । शान्ता थापा जस्तै अहिले महिलाहरु घरधन्दामा मात्रै सिमित छैनन् । घर, समाज देखि सरकारको नेतृत्वसम्म महिलाको पहुँच पुग्न थालेको छ । देशको नेतृत्व नै महिलाले गर्न थालेका छन् । धेरै सहज भैसकेको छ ।
अहिलेको दिनचर्या
उहाँ अहिले अखिल नेपाल महिला संघको जिल्ला सदस्य भएर काम गर्दै आउनुभएको छ । महिला सहकारीमा उपाध्यक्षको भूमिका निर्बाह गर्दै आउनु भएको छ । असक्त, असहाय दिदीबहिनीलाई हरेक कुराको मुद्दा लिएर आउनुहुन्छ । त्यसमा उहाँले सहयोग दिंदै आउनुभएको छ । अहिलेसम्मको समय सामाजिक क्षेत्रमा लागेर नै बितेको छ ।
आगामी दिनहरुमा पनि समय, स्वास्थ्य र विवेकले साथ दिएसम्म सामाजिक क्षेत्रमा नै निरन्तर लागिरहने उहाँले बताउनुभयो । ‘सामाजिक काम कहिलेसम्म गर्ने भन्ने नै हुँदैन, उहाँले भन्नुभयो,‘आफुलाई जे काम गर्दा खुसि मिल्छ, त्यहि काम गर्ने र त्यसरी नै बाँच्नुपर्छ अनि रमाउनुपर्छ ।’












