समिता श्रेष्ठ
नेपालीपन झल्काउने थुप्रै चिनारीमध्ये नेपाली कपडा पनि एक हो । नेपाली कपडाबाट बनेको पोसाक देशबाहिर पनि जाने गरेको छ । नेपाली भेषभुषाले संसार चिनाएको छ । प्रबोध कसाः नेपाली कपडाकै पसल तीनपुस्ता अगाडीदेखि सञ्चालन गर्दै आउनुभएको छ । कसाः को तीनपुस्ते पसलले लोपउन्मुख नेपाली कपडाको संरक्षणमा टेवा पुर्याएको छ ।
बाजेदेखि नातिसम्मको जिविकोपार्जन
तीनपुस्ते नेपाली कपडा पसल काठमाण्डौको केलटोल चोखापिनेमा छ । प्रबोध कसाः का हजुरबुवादेखिको पसल हो । पसल कहिलेदेखि सुरु भयो पत्तै छैन । तर तीन पुस्ता धानियो । १९९० सालको महाभूकम्पपछि घर बन्यो । त्यहि घरमा दुई तीन वर्षपछि पसल सुरु भएको कसाः बताउनुहुन्छ । बाजेदेखि नातिसम्मको जिविकोपार्जन यहि पसलबाट भएको छ ।
कसाः को कपडा पसलमा दैनिक प्रयोगमा आउने तन्ना, धोति, नेपाली दौरासुरुवाल, बुढापाकाले लगाउने भोटो सुरुवाल, कमिज, चोलो लगाएतका थरीथरीका कपडाहरु छन् । कसाः का अनुसार कपासबाट बनेका अर्गानिक कपडा हुन् । त्यसैकारण स्वास्थको लागि पनि निकै लाभदायक छन् । युवा वर्गले समेत रुचाउने यी कपडा अरु सामान्य कपडा भन्दा केहि महंगो पर्छ ।
हातेतानबाट कपडा
हातेतानबाट बनेका कपडाले कृषि क्षेत्रलाई जोडेको छ । कपासबाट बनेका कपडा, त्यसमाथी हातेतानबाट बनाउनुपर्ने भएकाले ज्याला तिर्नुपर्छ । त्यसैले अलिकति महंगो हुन्छ तर विदेशबाट बनेर आउनेभन्दा सस्तो पर्ने कसाः बताउनुहुन्छ । ‘एउटा कमिजको रेडिमेट किन्यो भने २ हजारसम्म पर्छ होला तर हाम्रो ६/७ सय मै तयारी आउछ । नेपाली कपडा किन्न प्राय नेपालीहरु नै आउँछन् ।
यो कपडा बिदेशीहरुले नि मन पराउँछन् । तर बिदेशीको तुलनामा नेपालीहरु नै बढि आउँने उहाँ बताउनुहुन्छ । ‘अहिलेको परिवेशमा अलि बढी लक्जरियर्स टाईपको नेपाली कपडा मन पराउने हाई प्रोफाईलका ब्यक्तिहरु आउने गर्छन् । अलि बलियो र तातो कपडा लगाउने मान्यता छ, अझ बढी पश्चिम र सुदुरपश्चिम तिर, चिसो ठाँउमा चै तातो लगाउन पर्छ भनेर कटनको अर्गानिक कपडा मन पराउँछन् ।’

उत्पादन र विदेशमा निर्यात्
नेपाली कपडा उत्पादन र विदेशमा निर्यातका विषयमा राखेको चासोबारे कसाः भन्नुहुन्छ,‘पहिले नेपाली कपडा मात्रै उत्पादन गरेर गाउँघरमा तान दिएर बुन्न लगाएर, बुन्ने र बनाउने भएकोले नेपाली कपडा मात्रै राखेको थियौ । यो नेपाली कपडाको बजार राम्रो पनि भएकोले यहि मात्रै राखेको थियौ । पहिले हाम्रो हजुरबुबा र बुबाको पालोमा आफैं उत्पादन गरेर थोरै मात्र बजारमा संकलन गरेर बेच्थ्यौ ।
तर अहिले उत्पादन शैली फरक भएको छ । जस्तै आफ्नै तान भएको मान्छेलाई पसलबाट लगानी गर्दिएर वा उसको सबै उत्पादन आफुले लिने गरेर यसरी काम गरिरहेका छौ । अलिअलि चै संकलन पनि गर्नुपर्छ । सबै एक्लैले गर्छु भन्ने पनि हुँदैन । अनि गर्न पनि सकिँदैन । यसको लागि सबै सँग समन्वय गरेर मिलेर जानुपर्छ । जसले अरुलाई पनि सहयोग हुन्छ र आफुलाई पनि राम्रो हुन्छ । हामी पनि प्रयोग गर्छौ ।
हामी सानो छँदा त यहि कपडा मात्रै लगाउन दिन्नुहुन्थ्यो । हाम्रो ठुलो परिवार थियो । त्यतिबेला हाम्रो बुबाको ५ छोरा दाजुभाइ सबै गर्दा २०/२५ जनाको परिवार थियाँै । अब अहिले छुटिसकेका छौँ । अहिले पनि हामी ७/८ जनाको परिवार पसलबाटै जिवन निर्वाह गर्दैछौ । यो कपडा नेपालमा मात्रै होईन बिदेशतिर पनि निर्यात हुन्छ । तर कसाःको पसलबाट चाहीँ होईन ।’
व्यापार र विचार
कसाः व्यापारबारेको अनुभव सुनाउँदै भन्नुहुन्छ,‘सन्तुष्ट छु । व्यापारको कुनै सिमा हुँदैन । कहिले धैरै त कहिले थोरै हुन्छ । तर अहिले कोरोनाका कारण व्यापार निकै खस्केको छ । जे होस् जिबिकोपार्जनको लागि चलिरहेको छ ।
घर चाहिँ हजुरबुबाको पालादेखि जस्तो थियो त्यस्तै छ । त्यसरी नै बसिरहेका छौँ । त्यो अनुपातमा सम्पत्ति जोड्न भने सकेको छैनन् । त्यै पनि ठिकै छ । हाम्रो पुख्र्यौली बाजेहरुले भनेजस्तै काम गर्दै जाने हो । बाजे भन्नुहुुन्थ्यो‘असल मान्छे भएर समाजमा राम्रो काम गरेर बाँच्नु नै ठुलो कुरा हो ।
नेपालीहरु बुद्ध नेपालमा जन्मेको भनेर रमाउने तर बुद्ध कतै नभेटिने नेपाल, त्यस्तै नहोस् । हाम्रो कपडाको मात्र कुरा होईन कुनै पनि उद्योग सकेसम्म चलाउने र नेपाली उत्पादनमै ध्यान दिनुपर्नेछ । नारा मात्रै फलाक्ने होइन लागू पनि गर्नुपर्छ । अनि मात्र नेपालले समृद्धि पाउँछ । त्यसपछि विश्वमा पहिचान विस्तार हुन्छ ।











