नेपाललाई विश्वमा चिनाउने सोनिका मानन्धर : आफ्नै देशमा कृषि र विद्युतीय क्षेत्रमा सक्रिय

समिता श्रेष्ठ

नेपाललाई विश्वमा चिनाउने सोनिका मानन्धर आफ्नै देशमा कृषि र विद्युतीय क्षेत्रमा सक्रिय हुनुहुन्छ । शान्त स्वभाव, लगनशील र सहयोगी सोनिका परिवारमा कान्छी हुनुहुन्छ । उहाँ बुबा शङ्खनारायण र आमा लक्ष्मी मानन्धरको सन्तानका रुपमा २०४६ साल माघ ४ गते काठमाण्डौको गोंगबुमा जन्मिनुभएको हो ।

छोरीको चाहना राख्ने मानन्धर परिवार

बुबा शङ्खनारायणलाई छोरीको चाहना थियो । ‘म गर्भमा छदाँ बाबाले यो पनि छोरा भए अबोर्सन गरौँ भनेर आमालाई भन्नुभएको थियो रे । अनि आमाले छोरी भए घर ल्याउँला र छोरा भए सन्तान नहुनेलाई दिउँला भनेर बुबालाई भनेको उहाँ सुनाउनुहुन्छ । ‘छोरीका रुपमा जन्म भएपछि घरमा सबैजना एकदमै खुसी हुनुभएको आमाले बेला बेला सुनाउनुहुन्छ,‘ उहाँ भन्नुहुन्छ,‘मेरो बाल्यकाल अभिभावकको काखमा नै बित्यो ।’ बाल्यकालदेखि अहिलेसम्मको यात्रालाई हेर्दा उहाँको जीवन कहानी कुनै उत्कृष्ट फिल्मको कथा र उहाँ चै प्रेरणादायी पात्रको रूपमा हुनुहुन्छ ।

काठमाण्डौदेखि अमेरिकासम्म

हुने बिरुवाको चिल्लो पात भनेझैं उहाँ बाल्यकाल देखि नै पढाईमा अब्बल हुनुहुन्थ्यो । उहाँलाई नर्सरीमा पढ्दा नै हरेक पटक टप गर्नु भएको कारण सम्मान पनि गरिएको थियो । सोनिका पेसाले कम्प्युटर इन्जिनियर हुनुहुन्छ । तर उहाँको रुचि गायनमा समेत छ । उहाँले पिपुल्स कलेज पक्नाजोलबाट १२ सम्म विज्ञान बिषय पढ्नु भएको हो भने स्नातक भने कम्प्युटर ईन्जिनियरमा काठमाडौं ईन्जिनियरिङ कलेज कालिमाटीबाट गर्नुभएको हो ।

उहाँले सन् २०११ मा आफ्नो पढाई सक्नुभयो । पढाई नसक्दै आइटी कम्पनीसँग काम गर्नु सुरु गर्नुभयो । ७ बर्ष सोहि कम्पनीमा काम गर्नुभयो । काम गर्ने क्रममै नासासंग सम्बन्धित कार्यक्रमको लागि अमेरिका जाने अफर आयो । सन् २०१७ मा सिलिकन भ्यालीमा सिङ्गुलारिटि युनिभर्सिटीको ग्लोबल सोलुसन कार्यक्रममा सहभागी हुनुभयो ।

यो कार्यक्रमको लागि ४५ हजार अमेरिकी डलर पर्थो । तर उहाँ कार्यक्रममा पूरा छात्रवृत्तिमा छनोट हुनुभएको थियो । यो नेपालबाट पहिलोपटक सहभागीता थियो ।

अन्तरिक्ष सम्बन्धि सिकाइ

अमेरिकामा आठ हप्ताको कार्यक्रममा मानन्धरले आधुनिक प्रविधिको प्रयोग गरेर कसरी जलवायु परिवर्तनलाई रोक्न सकिन्छ भन्ने बिषयमा प्रस्तुति दिनुभयो । अमेरिकाको कार्यक्रमको क्रममा विश्व बैंकमा काम गर्नुहुने बैङ्किङ क्षेत्रका विज्ञ टिफनी टङलाई भेट्ने मौका पाउनु भयो ।

जोसंग उहाँ अहिले नेपालका महिला उद्यमीलाइ समृद्ध बनाउने आफ्नै फिन्टेक सम्बन्धि एलोइ कम्पनिमा पार्टनरसिपमा काम गर्दै हुनुहुन्छ । सन् २०१८ मा कोरिया एरोस्पेस संस्थानमा पनि पूरा छात्रवृत्तिमा जानुभयो । त्यहाँ गएर अन्तरिक्ष सम्बन्धि नयाँ नयाँ कुराहरु सिक्ने मौका पाउनुभयो ।

महिला उद्यमीमा केन्द्रित काम

कोरिया एरोस्पेस अनुसन्धान संस्थानबाट फर्केपछि आफ्नै केही गर्नु पर्छ भन्ने उहाँको मनमा लाग्यो । सन् २०१७ देखि सन् २०१८ को अन्तिमसम्म टिफनीसंग सम्पर्कमै हुनुहुन्थ्यो । टिफनी पनि आफ्नो विश्व बैंकको काम छोडेर बस्नुभएको रहेछ । संगै काम गर्ने सिलसिलामा टिफनी नेपालमा आउनुभयो र दुबै जनाको सल्लाह अनुसार फिन्टेक सम्बन्धि कम्पनी एलोइ निर्माण गर्नुभयो । यो कम्पनी स्थापना गरेको डेढ बर्ष भयो ।

यो कम्पनीले महिला उद्यमी, उहाँहरुको आर्थिक अवस्था कसरी सुधार्ने, विश्वसनीयता कसरी बढाउने भन्ने बारे काम गर्दैछ । अहिलेसम्म काभ्रेमा पहिलो नमुनाका रूपमा एउटा पाईलट पोजेक्ट चलाउनु भयो । त्यो कार्यक्रमबाट राम्रो प्रतिक्रिया र सिक्ने धेरै मौका प्राप्त भएको उहाँ बताउनुहुन्छ । त्यहाँ १८ जना महिला कृषक दिदीबहिनीहरुसंग काम गर्नु भएको थियो । एलोइको सिस्टम डिजिटल लोन दिलाउने हो ।

बैंकले हातमा पैसा दिँदा मनिटर गर्नु गाह्रो र धेरै खर्चिलो हुने गर्दछ । एलोइको टेक्नोलोजीबाट मोबाइलबाटै दिने र खर्च गर्ने यसले गर्दा कहाँ खर्च भैरहेको छ भन्ने थाहा हुन्छ । यसबाट पैसाको सदुपयोगमा मद्धत गरिरहेको छ । अब अर्को बर्ष धेरै महिला उद्यमीहरु लाई सपोर्ट गर्ने योजना छ ।

कृषि र विद्युतिय क्षेत्रमा काम

सोनिका अहिले कृषि र विद्युतिय दुईवटा क्षेत्रमा काम गर्दै हुनुहुन्छ । सफा टेम्पोका महिला चालकहरुका लागि वित्तीय परियोजना सञ्चानल गर्दै आएको छ । महिला चालकहरुलाई थोरै पुँजीमै सवारी साधनको मालिक बनाउने कम्पनीको उद्देश्य हो । अबको बर्षमा लगभग ५० जना नयाँ महिला उद्यमिहरुलाई यो सफा टेम्पोमा ल्याउने प्रक्रियामा हुनुहुन्छ । हालै ९ जना महिला चालकहरुलाई ट्रेनिङ्ग पनि दिनुभएको छ ।

त्यस्तै नुवाकोटको किस्पाङमा कृषि सम्बन्धि काम महिला कृषक दिदीबहिनीसंग जोडिएर काम गर्दै हुनुहुन्छ । यो दुई क्षेत्रमा गरेको राम्रो कामलाई हेरेर राष्ट्रिय तथा थुप्रै अन्तर्राष्ट्रिय संघसंस्थाहरुले उहाँलाई पुरस्कृत गरेका छन् । त्यसमध्ये इमर्जिङ एक्स्पोमा छनोट पनि एक हो । उहाँको अरु भन्दा यो पुरस्कृतमा छनोट भने अलि फरक अनुभव हो ।

यो भन्दा अगाडिको थुप्रै अवार्ड आफैले अप्लाई गरेर पाउनुभएको थियो । तर यो अवार्ड न्ने आफुले अप्लाई नगरी छनोटमा पर्दा सुरुमा विश्वास नै लागेको थिएन । तर छनोट भएका अन्य व्यक्तिसँग सम्पर्क भएपछि विश्वस्त भएँ,’ सोनिकाले भन्नुभयो ।

पछिलो बर्ष सन् २०१९ मा उहाँ संयुक्त राष्ट्र संघको वातावरण कार्यक्रमले आयोजना गर्ने योङ च्याम्पियन अफ द अर्थमा ७ जनामा आफू पर्नु र यस बर्ष नेसनल जिओग्राफिकको अवार्डमा पर्नु गर्वको कुरा हो ।

[sidebar name="button post"]