अनेक पेशा व्यवसाय तर गीतसंगितमा जम्दै गरेका विशाल रसिक राईको जीवन कथा

अनिता धिताल र कविता चापागाई

रित्तो हात, मनमा अनेक सपना तर विशाल लक्ष्य र उदेश्य लिएर घरबाट निस्केको एउटा युवा अहिले सबैको हाइ हाइ छ । जन्मथलो छोडेर कर्मथलोमा निक्कै संघर्ष गरेको त्यो युवाको अझै पाइला थाकेका छैनन्, बरु लम्कदै लम्कदै शिखर चुम्न लालायीत छन् । उदरपुरबाट खाली हात केवल लक्ष्य मात्र लिएर धरान छिरेका विशाल रसिक राई अहिले निर्देशन क्षेत्रमा हुनुहुन्छ ।

घर छोड्दा १७ वर्षे ठिटो

विशाल रसिक राईको जन्म वि.स २०४६ साल असोज २५ गते उदयपुरको चौदण्डी नगरपालिका वडा नम्बर ७ बेलटारमा    भएको थियो । आमा इच्छादेवि र पिता बलीकर्ण वान्तबा राईका २ सन्तानमध्ये जेठो छोरा राईको सानै देखि संगितमा लगाव थियो । रेडियोमा गित बज्दा सँगसँगै गुन्गुनाउनुहुन्थ्यो, नाच्नु हुन्थ्यो, रमाउनुहुन्थ्यो । राई मिलनसार स्वभावका हुनुहुन्थ्यो ।

सामान्य परिवारमा हुर्केका राई सानै देखि ठुलो सपना देख्ने स्वभावका हुनुहुन्थ्यो । घर छोड्दा राईको उमेर १७ वर्षको थियो । शिक्षा, पत्रकारीता, संगित जस्ता क्षेत्रमा पाईला टेक्दै टेक्दै अहिले उहाँ निर्देशन क्षेत्रमा हुनुहुन्छ । राईले स्नातक तह सम्मको पढाई पुरा गर्नुभएको छ ।

संगित र पेशा व्यवसाय सँगसँगै

आफूले देखेको सपना पूरा गर्ने स्वभावकै कारण राई अहिलेको क्षेत्रसम्म आइपुग्नु सफल हुनुभएको हो । उहाँ भन्नुहुन्छ,‘आफूले नै केही गर्नुपर्छ भन्ने सोंचले मैले घर परिवार छाडे, जीवनमा संघर्ष निक्कै गर्नुपरेको छ ।’संगितलाई नै आफ्नो जीवनको महत्वपूर्ण गन्तब्य सम्झेका राई शिक्षा, पत्रकारीता र विभिन्न व्यवसायमा पनि सँगसँगै आवद्ध हुनुहुन्छ ।

२०६१ सालबाट सांगितिक लेखन सुरु गरेका उहाँ २०६३ सालमा धरान छिरेर त्यहि बसेर व्यापार व्यवसाय समेत सञ्चालन गर्नुभएको थियो । धरान छिरेर शिक्षा क्षेत्रमा १० वर्ष बिताउनुभयो । संघर्षको दौरानमा उहाँले शिक्षण पेशा छोडेर केहि समय कन्सल्टेन्सी पनि चलाउनुभयो ।

उहाँले पत्रकारीता पनि गर्नुभयो । रेडियो धरान स्थापना गर्न उहाँ सहितको टिमको महत्वपूर्ण योगदान छ । राई आफैले पनि केहि समय काम गरेर रेडियोबाट बाहिरीनुभयो । त्यहि रेडियो धरानको अनुभवबाटै साप्ताहिक र अनलाइन पत्रिकाको सुरुवात गर्नुभयो । पत्रकारीताको क्षेत्रमा लाग्दै गर्दा उहाँले संचारको क्षेत्रमा धेरै अनुभव बटुल्नुभयो ।

संचार क्षेत्रको अनुभव र केहि समयको पत्रकारिताको यात्रापछि राई फेरी बाल्यकालको सपनातर्फ फर्कनुभयो । अर्थात् कलासंगितको क्षेत्रतर्फ । २०६८ सालदेखि अहिलेसम्म उहाँले म्युजिक भिडियो निर्देशन गर्दै आउनु भएको छ । निर्देशन क्षेत्रमा लाग्दै गर्दा २०७२ सालदेखि सांगितिक क्षेत्रमा पनि कदम चाल्नुभयो ।

सांगितीक यात्रा

सांगितीक क्षेत्रमा लाग्दै गर्दा राईले निकै संघर्ष गर्नु परेको थियो । धेरै कार्यक्रममा सहभागी हुन खोज्ने राई कार्यक्रममा गाउन नपाएर निराश हुनुपरेका क्षण धेरै छन् । सुरुवाती चरणमा घर परिवारबाट मात्र साथ सहयोग मिल्यो, तर पछि साथीहरुले पनि साथ दिएका थिए ।

यस्तै साथ सहयोगले गर्दा उहाँले पहिलो गित २०७२ सालमा ‘तिमी वर म पर आँखा बोले हुन्न र’ बजारमा निकाल्न सफल हुनुभयो । गायक बन्ने सपना सँगाल्दै सांगितीक क्षेत्रमा होमिएका राईले यस अवधिमा झण्डै एक दर्जन भन्दा भन्दा बढि गीत गाउनुभएको छ । यसमध्ये कतिपय गीत लोकप्रिय भए कतिपय चलेनन् ।

पहिलो गीत रेर्कड गर्दाको अनुभव

हरेक क्षेत्रमा अनुभव बटुल्दै आएका राई पहिलो गीत रेर्कड गर्दाको अनुभव सुनाउँदै भन्नुहुन्छ, ‘सुरुवाती अवस्थामा सांगितिक क्षेत्रमा इच्छा भएतापनि सुर ताल नपुग्दा निकै कठिन पथ्र्यो । जसले गर्दा अग्रजहरुको गाली समेत खानु पथ्र्यो । तर पहिलेदेखि रेडियोमा बोल्ने भएकाले स्टुडियो र माइकप्रति बढि घुलमिल हुनाले सहज नै भयो । साथै साथीहरुको सहयोग र हौसलाले म भित्रको डर हराएर गयो ।’

सांगितिक क्षेत्रप्रति गुनासो

नवआगन्तुक कलाकारलाई अग्रज कलाकारहरुले सम्मान नदिएको देख्दा राईको मन कटक्क खान्छ । उहाँ भन्नुहुन्छ,‘एक ठाउँका कलाकारले अर्को ठाउँका कलाकारलाई नराम्रो व्यवहार गर्ने प्रवित्तिले नयाँ आउने कलाकारहरु पछाडि परेका छन् ।’ यस क्षेत्रमा लाग्ने नयाँ कलाकारलाई समान रुपमा हौसला र प्रोत्साहन दिने हो भने अहिलेको भन्दा दोब्बर कलाकार नेपाली सांगितीक क्षेत्रमा भित्रीन्थे ।

काठमाडौका अग्रज कलाकारहरुले अन्य जिल्लाका कलाकारहरुलाई भेदभाव नगर्ने हो भने बाहिरका कलाकारहरु पनि आफ्नो कला देखाएर देशको नाम राख्ने गरी उच्च स्थानमा पुग्न सक्ने र यस्ता भेदभावहरुलाई चांडै अन्त्य गर्नुपर्ने राई बताउनुहुन्छ ।

अबको योजना

देशको कला साहित्यको क्षेत्रमा आफुले सक्दो योगदान पुर्याउने राईको सोंच छ । निर्देशनबाट वा सांगितीक क्षेत्र, जुनैबाट हुन्छ अगाडी बढ्ने योजना छ । स्रोताहरुको माया पाए यस क्षेत्रलाई आफ्नो जीवनको अङ्ग बनाएर अघि बढ्ने र म्युजिक भिडियोको निर्देशनमा पनि अझै गुणस्तर थप्दै जाने राई बताउनुहुन्छ ।

[sidebar name="button post"]