समाज सेवा गर्न धनसम्पत्ति चाहिँदैन : उदाहरणीय व्यक्तित्व जयराम थापा

कबिता चापागाई

समाज परिवर्तन हुँदै गयो । मानिस आधुनिक बन्दै गए । कतिपय परम्परा बिर्सन थालियो । मानवता समेत हराउन थालेको यो बेला दुखमा परेकाहरुको सेवा र सहयोगमा निरन्तर खट्नुभएको छ, जयराम थापा ।

काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ मा बस्दै आएका थापा सामाजिक अभियन्ताका रुपमा परिचित हुनुहुन्छ । समाजसेवा र समाजिक कार्यमा जीवन समर्पण गरेका उहाँ भन्नुहुन्छ,‘मानवता अझै हराएको छैन, सेवा नै धर्म हो ,सेवा गरे पुण्य कमाइन्छ, अरु धनसम्पत्ति भन्दा पुण्य कर्मले कमाएको धन धेरै मुल्यवान हुन्छ ।’

जयराम थापाको विगत

२०२८ सालमा स्वः पिता हरिबहादुर थापा र स्वः माता सानु थापाको कोखबाट जन्मिएका जयरामका दुई दाजुभाई र एक जना दिदी हुनुहुन्छ । काठमाण्डौमै जन्मिएपनि उहाँको बाल्यअवस्था दुखैदुखमा बित्यो । काठमाण्डौको विकट क्षेत्र र पारिवारीक अवस्था समेत कमजोर भएकाले मिठोमसिनो खान र सुकिलो लगाउन पाउनुभएन ।

बाल्यकाल दुखमा बितेपनि यो वर्तमानमा भने आफू सन्तुष्ट नै रहेको थापा सुनाउनुहुन्छ । उहाँकी श्रीमती रिता थापा सनराईज प्लाष्टिक उद्योगमा कार्यरत हुनुहुन्थ्यो, तर अहिले भने घरायसी काममा नै व्यस्त हुनुहुन्छ । श्रीमती रिता, एउटा छोरा र एउटा छोरी (सृजन र सिवानी ) ले पनि सधै साथ र हौसला दिने गरेका थापा बताउनुहुन्छ ।

पढेर भन्दा पनि परेर सिकिन्छ भन्ने भनाई त छदैछ, थापाले पनि एसएलसी भन्दा अगाडी पढ्न सक्नुभएन । तर आफुले पढन नपाएपनि छोरा छोरीलाई पढाईको लागि भने कुनै किसिमकोे कमि आउन नदिने उहाँको सोच छ ।

जागिरे जीन्दगी र त्यसपछिको सामाजिक काम

थापाले जागिर पनि गर्नुभयो । पहिला घर घरमा बिजुली बत्तिको पैसा उठाउँदै विद्युत प्राधिकरणमा बुझाउने काम गर्नुहुन्थ्यो । कामको अनुभव सुनाउँदै उहाँले भन्नुभयो,‘काम दुखको तर भनेजस्तो तलब नपाइने । अन्य ठाउँमा काम खोज्दा काम नपाउने यो कामले घर परिवार धान्न गाह्रो, तर पनि लामो समय सम्म यसैमा अल्झि नै रहे, पछि विभिन्न माध्यमबाट होटल व्यवस्थापन तथा कार्यक्रममा हाउस किपिङ सम्बन्धि तालिम लिएर मल्ल होटलमा काम गर्ने अवसर मिल्यो ।’

मानिसहरुलाई जुनसुकै काम गर्न पनि अरुबाट प्रेरणा मिल्छ भनिन्छ, तर उहाँले आफुबाटै सिकेर सामाजिक क्षेत्रमा काम गर्न थाल्नुभयो । ‘गरिबिका कारण दिनरात दुख खेप्नुपरेकोे हुनाले आफु जस्तै अरु पनि यस्तै पिर, मर्कामा परिरहेको होलान् भन्ने सोंचेर सुरु गरे तर गर्दै जादा आफ भन्दा पनि कष्टकर जीवन गुजारी रहेका कयौ मानिसहरु भेटे ।

त्यो देख्दा कहिले त मन थाम्न पनि सक्दिन थिए । थापा सुनाउनु हुन्छ,‘मानिसहरुलाई विना पैसा समाजकार्य गर्न सकिदैन भन्ने जुन किसिमको भ्रम छ ।’

हालसम्म गरेका सामाजिक कार्यहरु

निस्वार्थ भावनाले सामाजिक कार्य गर्दै आएका समाजसेवी थापाले आजसम्म धेरैलाई नयाँ जीवन दिइसक्नु भएको छ । आफ्नो गासँ काटेर भएपनि अरुलाई खुवाउँदै आएका थापाले अपाङग, अनाथ, वृद्धवृद्धा सबैलाई समान ढङगले सेवा पु¥याउदै आईरहनु भएको छ ।

‘मेरो एफएम’बाट प्रसारण हुने सहयोगि हातहरु नामक कार्यक्रम मार्फत उहाँले करिब २० जना अनाथ अपाङगहरुलाई लगेर सोही कार्यक्रमबाट सहयोग गर्न आह्वान गर्नुभएको थियो । जसले गर्दा नेपालको विभिन्न ठाउँबाट रकमहरु संकलन गराएर, सोही रकमबाट उहाँहरुको स्वास्थ्य उपचार हुँदै आएको छ । यसरी उपचार गर्दा कोही हिँड्न सफल भएका छन् भने कोहीले रोगलाई जितेका छन् ।

प्युठान घर भई सृजनशिल बाल गृहमा बस्दै आएकी रीमा पुरी र सिन्धुपालचोक जिल्लाको इन्द्रावती नगरपालिकामा बस्नु हुने सुवास जिवाल जसको खुट्रटा ढुङगाले किचेर काट्नु परेको थियो । तर अहिले उपचार भैसकेको छ । उनीहरु ठेलागाडामा तरकारी बेचेर जिविकोर्पाजन गर्दै आएका छन् ।

मेट्रो अस्पतालबाट मानव सेवा आश्रममा स्वास्थ्य शिविर, अल्का अस्पतालबाट बाल गृहहरुमा स्वास्थ्य शिविर चलाउदै आउनुभएको छ । इन्द्रेणी कार्यक्रमबाट कृष्ण कंडेल मार्फत् ६ लाख रुपैयाँ उठाएर रामेछाप गाउँपालिका सेती बस्ने लक्ष्मी बस्नेतको पाठेघर क्यान्सरको उपचार गरिएको थियो ।

धादिङको मेटिङ कोटमा रहेको राममाध्यमिक विद्यालयमा गरिबका छोरा छोरीलाई सहज हुने उद्देश्यले २ वटा कम्प्युटर, १ वटा फोटोकपि मेसिन र कापीकलम वितरण गर्नुभयो । त्यहाँ फोटो कपि गर्नको लागि त्यहाँका बासिन्दाहरुलाई एक दिन पुरै लगाएर धाउनुपर्नै हुन्थ्यो ।

सृजनशिल अपाङग पुर्नस्थापना केन्द्र तथा शिक्षालय, नैकावमा अपाङगहरुको लागि मात्र भनेर राष्ट्रिय अभिभावक संघका पुर्व उपाध्यक्ष्य सुवास भण्डारीले २५ हजार र आफ्नै लगानीमा ४५ हजार रकम जम्मा गरेर थेरापिष्ट मेसिन उपलब्ध गराउनुभयो ।

त्यस्तै सोहि गृहमा हिमालयन डक संस्थाबाट ह्वीलचियरको व्यवस्था, उहाँकै नेतृव्वमा हिमालयन माध्यामिक विद्यालय, खाडी चउरमा एउटा कम्प्युटर र मनोहरा सामुदायिक सिकाई केन्द्रलाई प्रिन्टर मेसिन उपलब्ध गराउनु भएको थियो । आफ्नो कोठाभाडा तिर्न नसकेकाहरुलाई भाडा तिराएर पुर्नस्थापना गराउदै आएका थापाले हरेक क्षेत्रमा सेवा पुर्याउदै आउनु भएको छ ।

आफुले गरेको कामहरुबाट अरुको मुहारमा देखिने खुसीले अहिलेसम्म सामाजिक काममा लाग्न प्रेरित गर्दै आएको थापा बताउनुहुन्छ ।

कोरोना महामारी र अहिलेको दिनचर्या

अहिले कोरोनाभाइरसले गर्दा समाजसेवी थापा पनि स्वास्थ्य मापदण्डहरुको पालना गरी घरमै बस्नुभएको छ । तर सेवाभाव र कर्म भने छुटेका छैनन् । उहाँ विभिन्न बालगृह, वृद्ध आश्रमहरुमा खाद्यान्न सामाग्री उपलब्ध गराउने र समस्यामा परेकाहरुको खोजि गरी समस्या समाधान गर्नेतर्फ लागिरहनु भएको छ ।

सबैको अनुहारमा हाँसो देख्न चाहने थापा अनाथ, अपाङग वृद्धवृद्धाहरुको साथमा रहन पाउँदा आफु खुसि रहेको महशुस गर्नुहुन्छ । समाजकै हितका लागि मन, वचन र कर्मले लागि परेका उहाँले प्रज्ञा प्रतिष्ठान भवन कमलादीमा राष्ट्रिय नागरीक सेवा सम्मान २०७६, राष्ट्रिय संरक्षित मिडिया सेन्टरबाट राष्ट्रिय सेवा सम्मान २०७५ र सृजनशिल अपाङग पुर्नस्थापना केन्द्र तथा शिक्षालयबाट सम्मानित हुदाँ जिन्दगीमा सबै भन्दा धेरै खुसि भएको बताउँनुहुन्छ ।

उहाँसँग मनको दुखको पनि अनुभव छ, करिब ६ वर्ष अगाडी भक्तकुमारी सुनुवार प्यारालाईसेस् भएर बस्नु परेको थियो । उहाँबाट थापाले धेरै कुराहरु सिक्ने अवसर पनि पाउनुभयो तर सुनुवारलाई बचाउन भने सक्नुभएन ।

अबका योजना र लक्ष्य

सर्घषमा जीन्दगी बिताएका जयराम भन्नुहुन्छ,‘सोंच र विचार ठुलो हुनुपर्छ, भावना उच्च हुनुपर्छ, अरुलाई दुख्दा आफूलाई पनि दुख्छ भन्ने विचार राख्नुपर्छ । अनि बल्ल जीवन सार्थक हुन्छ ।’ थापाले असाह्य, दुखी गरिबलाई सहयोग गर्दै आउनुभएको छ ।

आफुलाई सामाजिक कार्यमै सर्मपित गराएका थापाले अबका दिनहरुमा पनि यसलाई नै निरन्तरता दिने बताउनुहुन्छ । गरिब, अपाङग, जेष्ठ नागरीक, इटाँभट्रटाका बालमजदुहरुलाई स्वास्थ्य शिविर चलाउने, दलित परिवारका छोरा छोरीलाई शिक्षाको लागि ज्योती लिएर अघि बढ्ने र समाजमा रहेको हरेक कुरीति कुसंस्कृति जातभात विरुद्ध आवाज बुलन्द गर्ने लक्ष्य र योजनामा रहेका उहाँले बताउनुभयो ।

सामाजिक कार्य गर्दा मन खुलाएर गर्नुपर्दछ । अहिले युवावर्गहरु पनि अग्रसर भएको देखिन्छ । उहाँहरुलाई आफनो एक गास काटेर भएपनि दुखमा परेकाहरुलाई सहयोग गर्न र सहयोग देखावटी नभई भित्रि मनबाट गर्न उहाँको सुझाव छ ।

[sidebar name="button post"]