जब समस्याले घेरिन्थ्यो तब मात्रृभूमी र परिवारको खुबै याद आउँथ्यो, मन भक्कानिन्थ्यो (कथा परदेशीको)

अजय खत्री
देशमै महिनाको ३०/४० हजार रुपैयाँ कमाइ हुन्थ्यो । त्यो पनि ६ वर्ष अगाडी । युवा उमेरको जोश र धेरै कमाउने लोभ दिनप्रतिदिन बढ्दै थियो । त्यहिबेला कतारको सरकारी एयरवेज कतारी एयरवेजमा जागिरको अवसर आयो । अनि सुरु भयो काठमाण्डौको शंखरापुर नगरपालिका ३ काउलेका रमेश अधिकारीको परदेश यात्रा र भोगाई ।
देशदेखि विदेश
शंखरापुर नगरपालिका ३ काउलेमा ९ जनाको संयुक्त परिवारमा जन्मेका रमेश अधिकारीको १९ वर्षको उमेरमा २०६७ सालमा कल्पना अधिकारी सङग  विवाह भएको थियो ।  उहा २२ वर्षको उमेरमा छोरो डेढ वर्षको हुदा विदेश लाग्नुभएको थियो । विदेश जानुअघि उहाँले फोटो स्टुडियो र स्टेशनरी चलाउनुहुन्थ्यो । त्यो बाहेक फाइनान्समा पार्ट टाइम काम गर्नुहुन्थ्यो । मासिक ३० देखि ४० हजारसम्म कमाई हुन्थ्यो । विवाह भैसकेपछि केहि जिम्मेवारी थपियो । तैपनी परिवार राम्रै चलिरहेको थियो । खुसी नै थियो । तर भविष्यको चिन्ता पनि बढ्न थाल्यो । अहिले भैरहेको कमाईले भविष्यमा पुग्ला, नपुग्ला मनमा कुरा खेल्न थाले । सोचाइले उज्वल भविष्य विदेशकै दुखमा देख्यो । विदेश गएर केहि वर्ष दुख गरेरै भएपनि राम्रो कमाई गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । २०७२ सालमा बैशाखमा भूकम्प गयो, त्यसको १० महिनापछि पुसमा अधिकारी कतार उड्नुभयो ।

सुरुका तीन महिना
कतार एयरवेजमा जागिरको अवसर पाएपछि अधिकारीले अन्र्तवार्ता पास गर्नुभयो । भविष्य र परिवारलाई सुखमा राख्ने सपना बोकेर उहाँ ०७२ पुसमा कतार उड्नुभयो । कतार एयरवेजको क्याट्रिङमा काम गर्ने उहाँको गएको पहिलो तीन महिना कम्पनिले दिने तालिम र आवश्यक कागजातहरु मिलाउने काममा नै बित्यो । त्यतिबेला सम्म उहाँ कम्पनीकै (अकुमुढेसन) कोठामा बस्नुभयो । त्यसपछि कम्पनीकै साथीहरुसँग मिलेर छुट्रटै मिलेर बस्न थाल्नुभयो ।

परिवार सम्झेर खसे आँशु धारा, रुझे सिरानी
नेपालमा पो परिवार, दाजुभाई, छिमेकी, आफन्त सबै आफ्ना हुन्छन् । विदेशमा अरु देशका कामदारसँगै काम गर्नुपर्ने, उनीहरुलाई नै आफन्त बनाउनुपर्ने । अरु देशका मान्छेसँग बोलौ भाषा बुझिदैन । सुरुमा काम गर्न पुगेकै देशमा भाषाको समस्याले पिरल्यो । पहिलो ६ महिना भाषाको समस्या, नयाँ ठाउँ र परिवारको सम्झनामा बित्यो । काखको छोरो छोडेर गएकोले छोरोको यादमा भक्कानिदै धेरै रोय । घरपरिवारदेखि टाढा हुनुको पिडा, परिवार सम्झेर आँशु धारा खस्थे । अझ धेरै त छोरोलाई संम्झ्mिएर सिरानी नभिजेका दिन सायदै कम थिए । दिन बित्दै गएपछि छोरोलाइ भिडियो कलमा हेरेर दिन बिताउने बानी पर्दै गयो । संयूक्त परिवार हुनुको फाइदा विदेशमा बस्दा बुझ्ने मौका पनि पाए । श्रीमतीले मलाइ सम्झ्mेर रुनुपरेन अनि परिवारले त्यो वातावरण बन्न दिनुभएन सायद ।

नेपाली समाचार माध्यमले दिने पिडा
विदेशको काम । न दिन भन्न पाइन्थ्यो न तर रात । परदेशीलाई जत्तिको आफ्नो परिवार र देशको माया देशभित्रै बस्नेलाई कमै लाग्ला । यो मेरो अनुभव र भोगाइ हो । काम सकेपछि देशमा के भैरहेको छ भनेर नेपाली समाचार सुन्ने र हेर्ने गर्थ्यौ । कतिपय समाचारले त यति पिडा दिन्थ्यो कि हेडलाइन पढ्दा नै मनमा पिर पथ्र्यो । श्रीमान खाडीमा पसिना बगाउँदै श्रीमति अरुसँग रमाउँदै, बुढा खाडीमा श्रीमति मोज मस्तीमा जस्ता हेडलाइनले साह्रै पिरोल्थ्यो । मेरो परिवारको साथ सहयोगले गर्दा श्रीमति प्रतिपूर्ण विश्वास थियो । तैपनी मनमा कतै कतै पिडा परि नै रहन्थ्यो । सबैको एउटै नहँुने रहेछ कति साथिहरुले आफ्नो गुनासा सुनाउने गर्थे ।

काम गर्दाका दुखका क्षणहरु
काममा सधै एकनास नहुँने । कहिलेकाहीँ काम बिग्रन्थ्यो । माथिल्लो तहका कर्मचारीले तल्लो तहका कामदारलाई साह्रै गालि गर्थे । जस्तो कि हामी नेपाली खान नै नपाएर गए जस्तो । घरमा बुवाको गालि समेत नखाएको म अरुले गालि गर्दा साह्रै नराम्रो लाग्थ्यो । कम्पनी र काम सहज भएकाले अरु पिडा र व्यथालाई लुकाएर काम गरे ।

विदेशीभूमिमा विरामी हुन कसैलाई नपरोस्
निमोनियाले सारै पिरल्यो । अस्पताल नेपालका जस्ता नहुँने रैछन् । एउटा कोठामा आफु एक्लै समय समयमा डाक्टर आउँथे तर आफ्नो व्यथा कसलाई पोख्ने ? साथिहरु त थिए तर काम नगरी बस्न नपाइने भएकाले सबैले आफ्नो काम गर्नैेपर्ने, भेट्न आउने फुर्सद नमिल्ने । विरामी पर्दा एक्लै बस्नुपर्ने भएकाले मरिन्छ की जस्तै लाग्ने । जब समस्याले घेरिन्थ्यो तब मात्रृभूमी र परिवारको खुबै याद आउँथ्यो, मन भक्कानिन्थ्यो । आफु विदेशमा आएकोमा धिर्कानु सिवाय अरु केहि विकल्प हुन्न । नेपालमा खान पुगेकै थियो, नेपालमा नै परिवारसँगै भएको भए आफ्नो बाबा आमाको काखमा त मर्न पाइन्थ्यो होला । म यहि मरे भने मैले कमाएको पैसाको के अर्थ हुन्थ्यो र ?

कोरोनासँगै सुरु भएका दुखका दिनहरु
एअरलाइन्स कम्पनी भएकाले कोरोनाको जोखिम उच्च थियो । कोरोनाले विश्वव्यापी रुपलिदै गर्दा काम पूर्णरुपमा बन्द त भएको थिएन तर मन बन्द भइसकेको थियो । कम्पनीको अर्का सिफ्टका ३ जना साथिहरुमा कोरोना पोजेटिभ देखिएपछि त अव आफुलाइ पनि लाग्ला कि भन्ने डर बढ्दै गयो । परिवारको यादले सताउन थाल्यो । घरकाले निरन्तर फोन गरेर बोलाउँदा काम छोडेर ज्यान भन्दा ठुलो केहि होइन भनेर नेपाल फर्कन मन लाग्थ्यो । नेपालमा पनि सक्रमण देखिन थालेको समाचार आउन थालेपछि बुवा र श्रीमतिको चिन्ता पर्न थाल्यो । बुवा दुध डेरीमा काम गर्ने र श्रीमति पसलमा काम गर्ने भएकाले संक्रमण हुने हो की भनेर पिरल्थ्यो । एयर कम्पनीमा काम गर्ने भएकाले ४० दिनको प्रतिक्षापछि पहिलो चार्टर्ड जहाज मार्फत् नेपाल आउने मौका मिल्यो ।

नेपालमा क्वरेण्टीनको बसाइँ
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा झरेपछि आर्मिले बसुन्धरा लगेर मेडिकल जाँच गरे । दाइले वडाको सिफारिस लिएर आएकाले त्यहि दिन साँखु सैनिपाटि क्वरेण्टीनमा गएर बसे । सुरुमा राम्रै भएपनि पछि विदेशबाट आउनेको संख्या बढ्न थाल्यो । एउटै रुममा ३÷४ जना बस्नुपर्ने अवस्था आयो । सबैजना घुलमिल भएर बस्नुपर्ने अवस्थाले असुरक्षित हुँदै गयो । पछि त नेपालमा भन्दा कतारमानै सुरक्षित हो की जस्तो लाग्न थाल्यो । तैपनि अहिलेसम्म कति नेपालीहरु अझ्mै पनि नेपाल आउने दिन कुरेर बसेका छन् ।

पीसीआर जाँच गर्न आनाकानी
क्वारेण्टीनमा पीसीआर जाँच गर्न माग गरेपनि आनाकानी भयो । क्वरेण्टीन औपचारिकतामा सिमित छ । तपाईलाइ केहि भएको छैन् भनेर टार्न खोजेका थिए । उनिहरुले आरडीटी मात्र परिक्षण गरेर पठाउन चाहेका थिए । पछि २ जनाको आरडीटी रिपोर्ट पोजेटिभ आएकाले पीसीआर टेष्ट गरेपछि मात्र ढुक्क सँग घर फर्कन पाइयो ।

रेमिट्यान्स आउँदा खुसी, परदेशीलाई साथ सहयोग गर्नुपर्दा दुखी
अझै पनि धेरै नेपाली विदेशमा बसेर नेपाल फर्कने दिनको पर्खाइमा छन् । उनीहरु औला भाँचेर पालो कुरिरहेका छन् । आफ्नो देश फर्कन नपाउँदा पिडा छ । हाम्रा जनप्रतिनिधिहरुले उनीहरुका परिवारसम्म पुगेर गुनासो सुनिदिए पुग्थ्यो, पहल गरे हुन्थ्यो तर देखिदैन । यो रेमिट्रयान्स आउँदा खुसी हुने अनि परदेशीलाई साथ र सहयोग गर्नुपर्दा दुखी हुने अवस्था देखेर साह्रै उदेक लाग्ने रहेछ । नेपालमा परिवारसँग बसेको जस्तो सजिलो छैन परदेशमा । सुखले कोहि परदेश लाग्दैन । दुख गर्न परदेश जानै पर्दैन । बरु देशभित्रै दुख गरौ, रमाऔं ।
कोरोनापछि अरु देशले आफ्ना नागरिकलाइ स्वदेश फर्काए, हाम्रा दाजुभाई दिदीबहिनीलाई पनि सरकार छ भन्ने आभास होस्, फर्कन चाहनेले सहजै फर्कन सक्ने वातावरण बनोस् । देश फर्केपछि आफ्नो जिन्दगी, सुखदुख सबै सहज हुँदै जान्छ ।

[sidebar name="button post"]