कृष्ण वाग्ले
साउन ३०, काठमाण्डौका धेरैजसो चिल्ला सडकमा चिल्ला गाडी गुड्छन् । ती गाडी मात्रै गुड्ने भने होइनन् । आम सर्वसाधारण नागरिकले पनि आ आफ्नो क्षमता अनुसार गाडी चढेका हुन्छन् । दिनहुँ दौडधुप सबैको छ । धेरैजसोको यो दौडधुप आफ्नो र परिवारको पेट पाल्नका लागि हुने गरेको छ । तर भोको पेट भर्न सडक गल्लीमा निस्केका गाईबस्तुको ब्यथा बुझ्नेहरु भने नगन्य छन् । जो छन् उनीहरु उदाहरणका पात्र छन् । तीनै मध्येका एक हुनुहुन्छ, उत्तम पुडासैनी ।
अनि सुरु भयो अभियान
सडकमा छाडा रुपमा गाईबस्तु छाड्नेहरुलाई चिन्ता छैन । उनीहरुले छाडेर नै ती गाईबस्तु छाडा भए । यसरी छोडिएका गाईबस्तुलाई देख्नेहरु पनि धेरैले वास्ता गर्दैनन् । कतिपयले लाठी र ढुंगाले हिर्काउछन् । सडक बिचमा गाडीको ठक्करले मरेका र घाइते भएका गाईबाच्छा पनि भेटिन्छन् । यो देख्नेहरु भन्छन्, निकम्मा सरकारले गाईबस्तुको पनि व्यवस्थापन गर्न सक्दैन । तर पुडासैनीलाई यसरी गुनासो गर्ने फुर्सद समेत छैन ।
सडकका छाडा गाईबाच्छा देख्दा पुडासैनीको मन रुन्छ । भोकभोकै रहेका गाईबस्तुको चिन्ताले पिरोल्छ । ‘दिनमा चैन छैन, रातमा निद्रा लाग्दैन, उहाँ भन्नुहुन्छ,‘मान्छेको जस्तै पशुको पनि जीवन हुन्छ अनि जीउने अधिकार उनीहरुलाई पनि छ ।’
सडक गल्लीमा अलपत्र परी भेटिएका खानेकुरा र प्लास्टिक खाँदै ज्यान धानेका गाईबस्तु संरक्षणका लागि उहाँले अभियान सुरु गरेको एक वर्ष भैसकेको छ । काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकाका बिभिन्न ठाउँबाट ४, ५ वटा गाईबाच्छाको संरक्षणबाट काम सुरु भएको हो ।
कागेश्वरी मनोहरा नगरपालिका ८ का स्थानीयबासिन्दा पुडासैनीको यो अभियानमा अहिले १ सय बढी गाईबस्तु संरक्षित भएका छन् ।
अहिलेको दैनिकी
सडकमा छाडिएका गाईबस्तुलाई डोहोर्याएर संरक्षणस्थलमा पुर्याउने उहाँको दैनिकी नै बनेको छ । संरक्षणस्थलमा भोका गाईबस्तुले घाँसपात, अन्नपानी र घाउचोट लागेका बिरामी गाईबस्तुले उपचार पाउँछन् । केहि स्याहार, सुसार, खानापान र उपचारपछि तङ्रीन्छन् त्यो बेला शान्ती मिल्छ । तर बुढो उमेरका र रोगले ग्रस्त केहि भने मर्छन् पनी । आफ् नै बालबच्चालाई जस्तै गरी हेरचाह गरेका गाईबस्तु मर्दा पुडासैनीमो मन खिन्न हुन्छ । उहाँ आफैले मरेका गाईबस्तुको अन्तिम व्यवस्थापन गर्नुहुन्छ । यो बेला भने मन भक्कानिएर आउँछ । अनि कुनै बेला पत्तै नपाई तररर आँशु नै चुहिने गरेको उहाँ सुनाउनुहुन्छ ।
मान्छेको व्यवहारले गाईबस्तुलाई सास्ती
मान्छेले आफ्नो मात्रै देख्छ । अरुको देख्नै कमै छन् । त्यहि मान्छेको ब्यवहारले गर्दा गाईबस्तुले सास्ती भोग्नुपरेको छ । बाच्छी भए घरमा राख्ने, बाच्छा भए रातारात सडकमा छोड्ने गरिएको छ । ब्याउन र दुध दिन नसक्ने भएपछि गाईलाई पनि सडकमै छोड्ने गरेको पाइन्छ । ती सडक गल्लीमा पुगेका गाईबाच्छा मान्छेको हेपाई र कुटाई मात्रै होइन कुकुर र जंगली जनावरबाट समेत लुछिने गरेका छन् । राष्ट्रिय जनावर समेत मानिने गाईको अवस्थाबारे कम्तिमा मान्छेले सोच्नुपर्ने बेला आएको पुडासैनी बताउनुहुन्छ । जसरी मान्छेको जिउने अधिकार हुन्छ, त्यसरी नै जनावरको पनि जिउने अधिकार छ भन्ने बुझ्नुपर्ने उहाँको भनाई छ । ‘सेभ द लाइभ्स’ अभियानका साथ जनावरमाथीको अन्याय र क्रुरता अन्त्य हुनुपर्ने आवाज उठ्न थालेको छ ।
गाईबस्तुलाई अन्नपानी र छानो
पुडासैनीको यो अभियानले गाईबस्तुलाई अन्नपानी र छानो मिलेको छ । त्यतिमात्र होइन गाईबस्तुको संरक्षण अभियानले काठमाण्डौको सडक छाडा गाईबाच्छामुक्त बन्न समेत सघाउ पुगेको छ । एयरपोर्टको हवाइ विभागको गौचरणको थोरै ठाउँ र गोठाटारका पशुपतीको थोरै जग्गामा छाप्रोहरु निर्माण गरी १०, १५ जना स्वंयसेवक मार्फत गाइबस्तु संरक्षणको कार्य भइरहेको छ । संरक्षणस्थलमा संरक्षणका लागी कागेश्वरी मनोहरा नगरपालिकाका विभिन्न ठाउँबाट समेत छाडा छाडिएका, असक्त, रोगी बिरामी गाईबस्तु पुर्याउने गरिएको छ । त्यस्तै संरक्षणका लागी साना गाईबस्तु भए मोटरसाइकलमा र ठुला भए गाडीमा आफ्नै लागतमा पनि ल्याइने गरीएको छ ।
गाईबस्तुको हेरचाहमा ३, ४ जना खटिएका छन् । चराउने काममा एक जना, भेटेनरी टेक्नीसियन र स्वंयसेवक गाइबस्तुको हेरचाहका लागि खटिएका अभियन्ता पुडासैनी बताउनुहुन्छ । पुडासैनी यो अभियानलाई राष्ट्रिय स्तरसम्म पुर्याउन चाहेको बताउनुहुन्छ ।
वाग्मती सफाई अभियानमा समेत सक्रिय सामाजिक अभियन्ता पुडासैनी समाजका आर्दश समेत बन्नुभएको छ । बाच्छाबाच्छी संरक्षण अभियानका संयोजक ईश्वर पुडासैनी भन्नुहुन्छ,‘ मैले उहाँलाई अभिभावक नै ठान्ने गरेको छु ।’
संरक्षणमा आर्थिक अभाव
गाईबाच्छा संरक्षणमा आर्थिक अभाव हुने गरेको छ । संरक्षणस्थलमा ल्याइएका गाईबस्तुको उपचार र दानापानीका लागि पैसा जुटाउन हम्मेहम्मे हुने गरेको उहाँको भोगाई छ । अहिलेसम्म स्वंयसेवकबाटै संकलन हुँदै आएको छ । जन्मदीनका अवसरमा दाताले दाना, पिठो र अरु सामग्री दिने गरेका छन् । कहिलेकाहीँ गैरसरकारी संघसंस्थाले पनि दिने गरेका छन् । सरकारको तर्फबाट सहयोगका लागि ध्यानाकर्षण गराउँदै आएको पुडासैनीले बताउनुभयो ।