नेपालकै पहिलो ड्रमर देव राना : जसको आफ्नै प्यासन जीवनभरको पेशा बन्यो

समिता श्रेष्ठ

जन्मेको देश मलेसिया तर कर्मको देश नेपाल । उमेरले झण्डै ७० वर्षका देव राना नेपाली संगीतको शिखरनै मान्न सकिन्छ । नेपालका पहिलो ड्रमर राना नेपाली सांगीतिक आकाशमा सम्मानित व्यक्तित्व हुनुहुन्छ । नेपाली सांगीतिक क्षेत्रलाई आधुनिकीकरण गर्न उहाँको उल्लेखनिय भूमिका छ ।

ड्रमर देव रानाको जन्म सन् १९५२ मा मलेसियामा भएको हो । नेपालमा घर पाल्पामा छ । अहिले उहाँ काठमाण्डौको कालिमाटी सोल्टीमोड बाफलमा बस्नुहुन्छ । उहाँका बुबा ब्रिटिस आर्मी अर्थात् बेलायती गोर्खा सैनिक हुनुहुन्थ्यो । बुबाको कार्यक्षेत्र मलेसिया भएकाले देव रानाको जन्म मलेसियामा भयो । काम र कर्मले बुबा विभिन्न देश पुग्नुपर्ने भएकाले राना पनि मलेसिया तथा सिंगापुर, हङकङ, यूके लगायतका ठाउँहरुमा पुग्नुभयो ।

अध्ययन पनि ब्रिटिस स्कुलमा भयो । तर सन् १९७० मा नेपाल आइसकेपछि रानाले ललितपुरको जाउलाखेलमा रहेको सेन्जेभियरमा अध्ययन गर्नुभयो । उहाँले कक्षा १० सम्म अध्ययन गर्नुभएको छ । उहाँ भन्नुहुन्छ,‘परिवारमा हामी तीन दाजुभाई र दुई बहिनी भएपनि अहिले ४ जना छौँ । म एक्लै बस्दै आएको छु ।

कान्छी बहिनीको २२ वर्षमै निधन भयो । मैंले सन् १९७४ मा बिहे गरें । एक छोरा भयो । तर अहिले श्रीमती तथा छोरालाई गुमाएपछि एक्लो हुन पुगेको छु ।’ पुख्यौली घर पाल्पामा अहिले माईलो भाई तथा काठमाण्डौको धापासीमा कान्छो भाईको बसोबास रहेको राना बताउनुहुन्छ । माइलो भाई कृषिमा तथा कान्छो भाईको ट्रेकिङ्ग अफिस छ ।

संगीत क्षेत्रको पाइला

सन् १९८० तिरबाट संगीत क्षेत्रमा प्रबेश गरेको उहाँ सम्झनुहुन्छ । बाल्यकालमा खेल तथा संगीतमा रुची भएकै कारण रानाले संगीतलाई आफ्नो मुख्य क्षेत्रका रुपमा अंगाल्नुभयो । अहिले उहाँ नेपाली म्यूजिकमा म्यूजिसियनको रुपमा कार्यरत हुनुहुन्छ ।

‘पछिल्लो अवस्थामा फ्रिलाइन्सर म्यूजिसियन भएर काम गर्दैछु । एउटा म्यूजिक ‘रियालिटी सो’ मा जर्जको रुपमा संलग्न भएको छु । उहाँ भन्नुहुन्छ,‘ यो क्षेत्रमा लागेको सम्झिदा जुन मैले लाईफ टाईम अचिभमेन्टको अवार्ड पाएँ । त्यो हेर्दा खेरी ५० वर्ष नै भयो भने पनि मिल्छ होला ।’

राना १६/१७ वर्षको हुँदा काठमाण्डौमा हिप्पीजहरुको उदय भइरहेको थियो । बौद्ध र स्वंयम्भूतिर ‘फूलमून पार्टी’ हुन्थे । जताततै सांगीतिक माहौल हुन्थ्यो । विदेशमा हुर्किएको र सङ्गीतमा रुची भएकाले उहाँ पनि हिप्पीजकै संगतमा लाग्नुभयो ।

‘यो क्षेत्रमा लाग्न मेरो प्रेरणाको स्रोत भनेको यूके आर्टिस्टहरु द बिटल्स ब्यान्डको समूह हो । हाम्रो समयमा यो क्षेत्रमा आउनको लागि बिशेष गरेर काठमाण्डौमा म्यूजिकका लागि आवश्यक सामाग्रीहरु नपाउने भएकोले सामाग्रीहरुको धेरै समस्या हुन्थ्यो ।’

प्यासन अनि पेशा

ड्रमर रानाका लागि आफ्नै प्यासन पेशा बन्यो । अनि खास संघर्षका रुपमा पनि उहाँ लिन चाहनुहुन्न । ‘यो क्षेत्रमा लाग्नका लागि गरेका कामहरूलाई म खासै संघर्षको रुपमा सम्झन चाहन्न । उहाँ भन्नुहुन्छ,‘हाम्रो रमाइलोपनले गर्दा नै यो क्षेत्रमा प्रवेश गरेर यहाँसम्म आएको हो जस्तो लाग्छ ।

यो म्यूजिक प्रोफेसनमा लाग्नुभन्दा अगाडि मैले ९० को सुरुवाती दशकमा अमेरिकी व्यवस्थापन भएको लिंकन स्कूलमा संगीत शिक्षकको रुपमा पार्टटाइम काम पाएँ । यसरी बिस्तारै मेरो प्यासन पेशामा परिणत हुन गयो ।’

राना थप्नुहुन्छ–अहिलेसम्म गरेको काम म्यूजिक नै हो र यसैमा खुशी छु । अबका दिनहरुमा पनि आफुले सक्दासम्म म्यूजिकमा नै लाग्ने बाचा छ । रहर छ । यो बाहेक अरु कुनै पेशा छैन । आफ्नै खुसीले म्यूजिकमा लागेकाले सन्तुष्ट पनि छु ।

जीवनको सार र संदेश

देव रानाको अनुभवमा जीवन अमूल्य छ । उहाँ भन्नुहुन्छ,‘तपाईं एकपटक मात्रै बाँच्नु हुन्छ । यो जीवनको हरेक क्षणलाई महत्व दिनुपर्छ अनि दिन पनि सक्नुपर्छ । विगतलाई परिवर्तन त गर्न सकिँदैन । भोलि के हुन्छ, त्यो पनि थाहा छैन । तर हामीले आफ्नो जीवनलाई स्टाइलिस्, आर्टिष्टिक र क्रिएटिभका रुपमा अघि बढाउनु पर्छ । बाँचुन्जेल अनि सकुन्जेल ।

७० वर्ष पुग्दै गरेका राना नयाँ पुस्तालाई संदेशका रुपमा भन्नुहुन्छ : अलिकति सोंचेर, सम्हालिएर हिँड्नुहोस् तर कहिल्यै विचलित नहुनुहोस्, भगवानको आशीर्वाद सधैं तपाईंसँग रहोस् र आफुले गरेको काममा खुसी हुनुहोस् । त्यो खुसीले एकदिन पक्कै सफलता प्रदान गर्नेछ ।

[sidebar name="button post"]