भागेर सुटिङ हेर्न अनि लुकेर नाच्दा-नाच्दै जन्मिएका कलाकारः झापाली कान्छा अभिषेक

समिता श्रेष्ठ

स्कुले जीवनमै कलाकारिता सुरु गरेका अभिषेक धमला उमेरले मात्रै ३३ वर्ष पुग्नुभयो । तर उहाँले अहिलेसम्म देशका एक हजार भन्दा धेरै ठाउँमा सडक नाटक र चर्चित टेली–कार्यक्रमहरुमा अभिनय गरिसक्नु भएको छ ।

वि सं २०६१ साल मंसिरमा जिल्ला बिकास समिति झापाको आयोजनामा एचआईभी एड्स सम्बन्धि सडक नाटकबाट कलाकारिता यात्रामा पाइला चालेका अभिषेकले अहिले पनि यसै पेशालाई निरन्तरता दिनुभएको छ । उहाँलाई झापाली कान्छा अभिषेक भनेर चिनिन्छ ।

कलेज अवस्थामा यसरी जोडियो निक नेम

अभिषेक धमला २०४४ सालमा पिता लिलानाथ धमला र माता लिलादेवी धमलाको कोखबाट झापाको तत्कालिन चकचकी गाविस वडा नं ६ मा जन्मनु भएको हो । झापामै जन्मे हुर्केका झापाली कान्छा अहिले श्रीमती सहित झापाको बिर्तामोडमा बस्नुहुन्छ ।

कलेज अवस्थामा जोडिएको नाम झापाली कान्छा बारे उहाँ भन्नुहुन्छ:

यो झापाली कान्छा नाम फुलबारी माध्यमिक विद्यालयबाट २०६०÷६१ सालमा एसएलसी पास गरि सकेपछि शारदा उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्दा राखेको नाम हो । त्यो बेला निक नेम राख्ने गरिन्थ्यो । रेडियोले गाउँबस्ती घन्कन्थ्यो । रेडियो सुन्ने बानी परेको म कल कान्तिपुर कार्यक्रममा पुर्बेली कान्छाले कल गर्नुभएको थियो । त्यहींबाट म पनि झापाको मान्छे भएको कारण मेरो निक नेम झापाली कान्छा भनेर आफैं नामाकरण गरें ।

तर कलेजमा मैले त्यति बेला कमर्स लिएर पढ्न चाहेको थिएँ । त्यो बेला पढ्ने वातावरण मिलेन । घरबाट साइकलमा २० मिनेटको बाटोमा रहेको कलेज पढ्छु भन्दा एड्मिसनमा पाँच सय छुट दिने भएकोले परिवारले ३५ मिनेट टाढाको कलेज भर्ना गरिदिनुभयो । तर त्यहाँ पनि सधैं दिदीलाई साइकलमा लिएर जानुपर्ने अनि ल्याउनुपर्ने भएकोले ६ महिना पछि कलेज नै जान छोडें ।

खाली पेटमा साइकल चलाउनुपर्ने, प्रेसर लो हुन थालेछ । खोक्दा ब्लड निस्कन थाल्यो । त्यसपछी कलेज जान छोडेको हो । तर परिवारले त्यो कुरा बुझ्नु भएन । पछि फेरि पढ्नको लागि दाईहरुसँग पैसा मांगे दिनुभएन । यसरी ५ बर्ष बित्यो । अन्तिममा आर्दश विद्या मन्दिर उच्च माध्यमिक विद्यालयमा नेपाली लिएर कक्षा १२ सम्म अध्ययन गरें ।

परिवारको अवस्था

धमला आफैं भन्नुहुन्छ, मेरो जन्म किसान परिवारमा भएको हो । किसानको छोरो भएकोले बिहानै घाँस काटेर ल्याउनुपर्ने । बुबा खेतमा जाँदा सँगसँगै जानुपर्ने र ९ बजेसम्म खेतको काम गरेर पढ्न स्कुल जानुपर्ने हुन्थ्यो । स्कुलबाट आएर फेरि बाख्रालाई घाँस काट्नुपर्ने बाल्यकालको बाध्यता थियो । सानैदेखि मेरो रुची नृत्य र कलाकारितामा थियो ।

त्यसैकारण गाउँको क्लबबाट म तिहारमा देउसी नाच्थे । तर त्यसरी नाच्न जाँदा लुकेर जानुपर्ने बाध्यता थियो । बुबाले जान नदिने भएकाले लुकेर गयो, खाना बाहिरै साथीहरूको घरमा खायो । यस्तो डर र प्रेसरमा बाल्यकाल बित्यो ।’

भागेर सुटिङ हेर्न

नृत्य र कलाकारितामा रुची राख्ने धमलासँग यहि क्षेत्रमा लाग्नु अघि भागेर सुटिङ हेर्न पुगेको अनुभव छ । उहाँ ७ कक्षा पढ्दै गर्दाको रमाइलो अनुभव अहिले पनि सम्झनुहुन्छ । ‘स्कुल भन्दा अलि पर बाह्र्दशी डाँडो छ । त्यहाँ चमेलीको माया जुन सानो पर्दाको फिल्म हो त्यसको सुटिङ भैरहेको थियो ।

त्यो सुटिङ हेर्न म स्कुलबाट भागेर गएँ । त्यो हेरेपछि लाग्यो ती कलाकारले गरे भन्दा म धेरै राम्रो गर्न सक्छु । त्यस फिल्म हेरेर नै झन् कलाकारितामा रुची बढ्न थाल्यो । आफुले पनि गर्न सक्ने आँट पलायो र झन् झन् मोह बढ्न थाल्यो ।’

कामहरु

अहिले धमलाको आफ्नै अनलाइन टेलिभिजन फुलबारी मिडिया छ । साथै क्षितिज नाट्य समुहमा पनि उहाँ आबद्ध हुनुहुन्छ । अहिलेसम्म नेपालका विभिन्न ठाउँमा एक हजार भन्दा बढी सडक नाटक गरिसकेको उहाँ बताउनुहुन्छ । त्यस्तै अन्तराष्ट्रिय नाटक महोत्सव ‘घर भित्रको अर्को घर, राष्ट्रिय नाटक महोत्सव ‘इजलासको फैसला, थिएटर ड्रामा ‘पर्खाल’ ‘बर्बरिक’लगायतमा अभियन गरिसक्नु भएको छ । चर्चित टेलिभिजन कार्यक्रम मेरीबास्सै, सन्तान, नेपाली फिल्म रातो टीका निधारमा, मृगतृष्णा, क्षेत्रीय फिल्म साहारा–बेसाहारा, वान डे एट अ टाईम, ‘सल्मा’मा पनि काम गरेको उहाँ बताउनुहुन्छ ।

त्यस्तै नेपाली सट मुभिहरु लकडाउनको असर, दृष्टिकोण, वा, मोह, धोका, भुल, डकु ड्रामा आत्महत्या र नाटक नौलो बिहानी, फेरि अर्को मिलन, गरिबको आवाज, सावधान, बेचिएको चेली, आमाको सपनामा लेखन र निर्देशनको काम तथा एउटा म्युजिक भिडियोमा पनि निर्देशन गरेको धमला भन्नुहुन्छ । साथै तीन वटा म्युजिक भिडियोमा मोडलको रुपमा काम गरेको उहाँसँग अनुभव छ ।

धमला भन्नुहुन्छ,‘एउटा म्यूजिक भिडियोमा कोरियोग्राफरको रुपमा काम गरें । त्यस्तै सह निर्देशकको रुपमा पनि ‘क्षितिज पारीको मायालु क्षेत्रीय फिल्ममा काम गरें । त्यस्तै टेलिभिजन सो छमछमीमा टप २० मा र मेची महाकाली गड ट्यालेन्टमा टप १० मा परेको छु ।’तर उहाँलाई सबै भन्दा राम्रो लागेको पर्खाल र बर्बरिक नाटक हो । पर्खालमा आफ्नै घर भित्र भएको घटना मिल्ने भएकोले मन परेको र बर्बरिकमा गणेशमान सिंह जस्तो व्यक्तिको भुमिका गर्न पाउँदा गर्व लाग्ने गरेको छ ।

झापादेखि महाकालीसम्म साइकल यात्रा

धमला ‘बलात्कार मुक्त समाजको परिकल्पनाः शान्ति, सुशासन र समृद्ध नेपाल हाम्रो चाहना’ भन्ने मुल नारा बोकेर झापादेखि महाकाली पुग्नुभयो । त्यो पनि साईकल यात्रा। बलात्कारको घटना बढ्दै गएका समाचारहरु आउंदै गर्दा खबरदारी होस् भने उद्देश्यले यो यात्रा सुरु गरेको उहाँ बताउनुहुन्छ । गएको फागुन २० गते सुरु भई चैत ५ गते महाकालीमा पुर्याएर यात्रा सकिएको छ ।

केही सन्देश मुलक होस् हाम्रो यात्राले जनचेतना फैलाउन सकोस् भन्ने मुख्य उद्देश्य र साथसाथै खबरदारी पनि होस् भनेर बलात्कारको बिषयलाई लिएर साईकल यात्रा गरेको हो ।

यसरी कलाकारिता गर्दै गरेका धमलाका आफ्नै संघर्ष छन् । उहाँ भन्नुहुन्छ,‘आजको यो दिनसम्म आउँदा बिगतका ती दिन सम्झने हो भने नरोएको कुनै रात छैन । किनकी गाउँघरमा नाच्न जाँदा पनि भागेर÷लुकेर जानुपर्ने बाध्यता । गाउँलेहरु भन्थे यो बौलायो। किनकी म घाँस काट्न जाँदा बारीको काम गर्दा पनि नाच्ने गर्थें । अहिले भने म खुसी छु ।

हिजोका दिनमा आफ्नै परिवार पनि आफ्नो साथमा थिएनन् । नाटक गर्दा २ महिनासम्म कोहि नबोल्ने, त्यसबेला एकदमै दुःख लाग्थ्यो । खाना थालमा पस्केर राखिएको हुन्थ्यो, चिसै खायो, थाल माझ्यो अनि कोठा गयो । बोल्ने केहि नहुँदा पिडा हुन्थ्यो ।त्यतिबेला घरबाट कुनै साथ र सहयोग थिएन ।साथीहरु, अरु शुभचिन्तक, मलाई पढाउने/नचाउने सर देवीप्रसाद उप्रेतीको हौसला र माया नै अहिलेसम्मको गोरेटो बनेको छ ।’

तीन विधा

धमला अभिनय, लेखन र निर्देशन यी तिनै वटै विधामा एक साथ अगाडि बढ्दै हुनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘मेरो लागि यो क्षेत्र भनेको कलाको माध्यमबाट समाजको यर्थाथता पस्कने माध्यम हो ।कलाको माध्यमबाट आफ्नो ठाँउ राष्ट्र र आफुलाई संसारसम्म चिनाउन सकिन्छ । कलाको माध्यमबाट कसैको दु:ख पिडा बोल्न सकिन्छ र खबरदारी गर्न सकिन्छ । त्यस्तै समाज परिवर्तन गर्न सकिन्छ।’

पहिला निक्कै संघर्ष गरेपनि अहिले सबैको माया, साथ र हौसला मिल्ने गरेको धमला सुनाउनुहुन्छ । उहाँ कलाकारिता पेशासंगै क्षितिज नाट्य समूहमा केन्द्रिय सदस्य हुनुहुन्छ ।

अभावको रापले खारिंदै जीवन

झट्ट देख्दा ओहो, राम्रो सबैको देखिन्छ । तर समस्याका पहाड आफैंले छिचोल्नुको कुनै विकल्प हुँदैन । पहाड चढेपनि आफ्नै संघर्ष, ओराली झरेपनि आफ्नै खोट । धमलाको जीवन पनि अभावको रापले नै खारिंदै । उहाँ भन्नुहुन्छ,‘मेरो जीवनमा आर्थिक अभाव सधैं खड्कीयो ।बाल्यकाल, स्कुले जीवन मात्रै होइन, काम गर्दा पनि सुरुका दिनमा कुनै पैसा आउँदैनथ्यो ।

कार्यक्रममा जान पैसा हुँदैनथ्यो । बाध्यताले म विदेश पनि पसें । दुवई गएँ, १७ महिना बसे फेरि फर्केर आएपछि यसैमा लागें । फेरि कतार पुगें । अहिले स्वदेशमै छु । तर कसैले साथ नदिएपछिको अभाव र पिडा कहिल्यै भुल्न सक्दिन ।

अहिले भने काममा सन्तुष्ट नै छु । खुसी नै छु । आफ्नो कामलाई दर्शक, श्रोताले मन पराउनु भएको देख्दा सफल नै भएको अनुभव हुन्छ ।

[sidebar name="button post"]